धरानका ‘जुरेली’ को कर्म


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ कार्तिक १३

धरानः धरानका जुरेली अर्थात् विनोद रसाइली दर्शकलाई हँसाउँदै आएका छन् । उनी हँसाउन भन्दै लागिपरेको धेरै वर्ष भइसक्यो । ‘लसुन केलाएर’ थेगोले उनी दर्शक हँसाउन उद्यत छन् ।
२०६२ सालदेखि सडक नाटकबाट अभिनय यात्रा अगाडि बढाएका उनले अहिले पनि अभिनय यात्रालाई निरन्तरता दिइरहेका छन् । ‘अहिले पनि कलाकारिता क्षेत्रलाई छाडेको छैन’, उनले भने, ‘पहिलो कमेडी एल्वम ‘जुरेलीको मुस्कान’ ल्याएदेखि हालसम्म पनि निरन्तर लागिरहेको छु ।’
२०६५ सालमा सो एल्वम ल्याएका उनले १६ वटा सडक नाटकमा अभिनय गरिसकेको उनी बताउँछन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको झयाइँकुटी झ्याइँमा पनि उनले अभिनय देखाएका थिए । जय होस, डामाडोलै डामाडोल, नरिसान ल, ठूलो पर्दाको इकू ब्याक अगेन भाग २ मा पनि उनले अभिनय गरेका छन् । उनले दलित समुदायको कथामा आधारित ‘तिरस्कार’ नामक छोटो चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।

‘आफ्नै लगानीमा पनि चलचित्र बनाएको छु’, उनी भन्छन्, ‘लकडाउनले रोकिएको थिएँ, अहिले च्यारिटी शो गरिरहेको छु ।’ उनले आफ्नै युटुब च्यानलमार्फत् नयाँ हाँस्य सिरियलमाफत् दर्शक हँसाउन आफू लागिपरेको उनले बताए । कलाकारिता क्षेत्रमा सुरुवातमा काठमाडौंमा भाडा माझ्ने, वेटर, घर बनाउने काम, पेन्टिङ काम, सब्जी बेच्ने काम पनि उनले गरिसकेको बताउँदै भने ‘जीवनमा धेरै दुःख पाएँ तर हरेस नखाइ अघि बढिरहेको छु, बाँचुञ्जेल कलाकारिता क्षेत्र छोड्दिनँ ।’
उनले गरेका छोटा चलचित्रहरुमा उसको डायरी, डामाडोलै डामाडोल, नरिसाउनु ल, मामा–भाञ्जालगायत सार्वजनिक भइसकेका छन् भने ‘तिरस्कार’ नामक छोटो चलचित्र भने रिलिजको तर्खरमा छ ।
धरानका स्थायी बासिन्दा जुरेली अहिले ‘कर्तब्य’ टेलिचलचित्रको प्रमोसन र च्यारिटी शोमा ब्यस्त छन् । धरानको सैनिक भवनमा प्रथम शो गरिसकेका उनले विभिन्न स्थानमा शो गर्दै आएका छन् । उनकाअनुसार सो टेलिचलचित्र वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना जगाउने सन्देश बोकेको छ भने यसमा उनको लगानी र सहनिर्देशन समेत रहेको छ ।
उनले चलचित्र प्रदर्शनबाट उठेको रकमले धरानमा रहेका सडक बालबालिकाहरुलाई एकदिन निःशुल्क खाना खुवाउने योजना रहेको बताए । चलचित्र राकेश राईको निर्माणमा प्रकाश लिम्बूले निर्देशन गरेका छन् ।
कलाकारहरुमा सुजता शेर्पा, सुजन रसाइली, लक्ष्मण खनाल, शारदा शाक्य, प्रकाश लिम्बू, सुवास बर्देवा, मनोज तिवारी, विशाल सुनुवार, सुवास राई, रञ्जित बराइली, रुपा राई, कल्पना खड्का, उमा चाम्लिङ, अस्मिता राई, इन्द्र लिम्बू, खगेन्द्र चौहान र विपिन ओझा रहेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप