दशैंमा मासुः खान नजाने ज्यानै जान सक्छ !


  • केपी लम्साल
  • २०७८ असोज २८

अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैंमा होस् वा तिहार शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भएपनि दशैं, तिहारजस्ता चाडबाडमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।
अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्याधिक खाने प्रचलन नयाँ होइन । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा नेपाली त्यति सचेत छैनन् । मासु खाए पुग्यो भन्नेको बाहुल्य छ । न्युटिसनिस्ट केपी लम्साल सचेत गराउँछन्, ‘गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्छ ।’
चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । ‘रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ,’ न्युटिसनिस्ट लम्साल भन्छन्, ‘मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।’
त्यस्ताले के खाने त ?
‘माछा र सेतो मासु खाने नि,’ सुझाउँछन्, ‘रातो मासु खानै परे थोरैभन्दा
थोरै खाने ।’
बिर्सेर पनि खान नहुने
मुटु, कलेजो, मिर्गौला, आँखा, रगत ।
मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्लेखित अङ्ग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ । न्युटिसनिस्ट लम्सालको बुझाइ छ, ‘हामीले मासुका रूपमा खाने पशु तथा पन्छी रोगी भए उसको अङ्गमा विभिन्न किसिमका विषाक्त रसायन हुन्छन् । रगतमा अझ धेरै हुन्छ । हामीले मासुसँगै विषाक्त रसायन खाइरहेका हुन्छौं ।’ विषाक्त रसायनले मानिसको स्वास्थ्यलाई राम्रो गर्दैन । रोगी मानिसले त्यस्ता रसायन भएको मासु खाँदा रोगीमाथि रोगी हुन्छन् ।
दैनिक माछा र मासु कति खाने ?
रोतो मासु २ देखि ३ टुक्रा, माछा २ देखि ३ टुक्रा, सेतो मासु बढीमा ५ टुक्रा, अन्डा १ देखि २ वटासम्म ।
थप सुझाव
घाम र धुवाँमा सुकाएको मासु नखाने, सामान्य फ्रिजमा राखिएको मासु दुई÷तीनपछि नखाने ।
के के खाने ?
अपवादबाहेक ३६५ दिनमा ३६० दिन एकै किसिमका खानेकुरा खाने नेपाली परम्परा नै हो । त्यसैले चाडबाडमा त हो भनेर पेटले मागिन्जेल खाने नेपालीको बानी पुरानै हो । तर, त्यसरी खाँदा रोगको शिकार भइन्छ भनेर ध्यान दिनुपर्छ । न्युटिसनिस्ट केपी लम्सालको तर्क छ, ‘चाडबाडमा रमाइलो गरेर जीवनभरि पछुताउनु राम्रो होइन । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।’
पछिल्लो समय खाद्यवस्तु दुषित हुने क्रम बढेको छ । तसर्थ, यो वा त्यो खानुहोला भन्दा अर्को अर्थ लाग्ला । तर, प्रत्येक छाकमा चारखालका परिकार पाकेमा सम्बन्धित खानेकुरा खानेलाई फाइदा हुने न्युटिसनिस्ट लम्सालको भनाइ छ । उनका अनुसारः
प्रत्येक छाकमा हुनैपर्ने
अन्न वा कन्दमुल, सागपात वा फलफूल, गेडागुडी, पशुपन्छीजन्य स्रोतका खानेकुरा ।
प्रत्येक छाकमा उल्लिखित खानेकुरा मिलाए सम्बन्धित खानेकुरा खानेको स्वास्थ्य सन्तुलनमा रहन सक्छ । उसलाई पोषक तत्व कमी हुँदैन ।
मदिरा छुनै नहुने
दशैं, तिहार भन्नासाथ मासु र मदिराको चाड हो । मासु र मदिराविनाको चाडबाड खल्लो हुने भुक्तभोगीको भनाइ छ । घरेलुदेखि पाँच लाख रूपैयाँसम्मको मदिरा नेपालमै पाइन्छन् । फ्रान्स, स्कटकल्यान्ड र बेलायतका मदिरा नेपालमै बिक्री गरिन्छ । ‘मदिरा स्वास्थ्यका लागि लाभदायी होइन,’ उनले भने, ‘भन्नेले जे÷जे भने पनि मदिरा एक एमएल खानु पनि राम्रो होइन ।’
बङ्गुरमा सङ्गीनी सुई !
बजारमा हुने सम्पूर्ण खाद्यवस्तु गुणस्तरीय छन् भन्ने छैन । धरानमा बढीजसो खपत हुने बङ्गुरको मासु हो । तर त्यही मासुमा सङ्गीनी सुई प्रयोग गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
महिलाले गर्भान्तरका लागि परिवार नियोजनको अस्थायी साधनका रुपमा यो सुई प्रयोग गर्छन् । पोषणविद् केपी लम्साल भन्छन्, ‘मासु लाग्छ, बढ्छ, पोटिलो हुन्छ भन्ने विश्वासका आधारमा किसानले सुँगुरलाई सङ्गीनी सुई लगाइदिन्छन्, त्यो मासु खान बाध्य छन् धराने ।’ सुई लगाएपछि सुँगुरमा वीर पनि नलाग्ने र सुँगुर मोटाएर पछि बेच्दा दाम पनि बढ्ने लोभले किसानले यस्तो सुई प्रयोग गर्ने गरेको उनको कथन छ । ‘यस्तो मासु खान स्वास्थ्यका लागि स्वतः हानिकारक नै हो’, उनी भन्छन्, ‘तर पनि उपभोक्ताले बाध्यताले यस्तो मासु खानु परिरहेको छ ।’
सुँगुर पाल्नेहरूले मानिसलाई नै लगाउने भनेर यस्तो सुई लैजाने र अन्त्यमा सुँगुरलाई प्रयोग गर्ने चलन बढेको उनको भनाइ छ । ‘मान्छेको गर्भान्तर बढाउन बनाएको सुई लगाएको सुँगुरको मासु मानव स्वास्थ्यको लागि हितकर हुँदैन ।’ साउन महिनामा संसद्मा बोल्दै सांसद् लक्ष्मी परियारले धराने कालो बङ्गुर तथा अन्य मासुमा महिलाले लगाउने ३ महिने सङ्गीनी सु्ई लगाएर फुलाउने गरेको भन्दै आपत्ति जनाएपछि त्यस विषयले चर्चा पाएको थियो । उनले बजारमा बिक्री हुने अधिकांश खाद्य पदार्थमा विषादी मिसाइने गरेको भन्दै विभिन्न रोगको शिकार हुनुपरेको बताएकी थिइन् । (पुनः प्रकाशित)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप