धरानमा दशैं बजारको रौनक

चाडबाडले अब व्यवसाय लयमा फर्किन्छ कि भन्ने केही आशा बढायो : व्यवसायी (३५ तस्वीर र भिडियो रिपोर्ट)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २७

धरानः धरानमा दशैंको बेला चहलपहल बढेपछि व्यवसायी पनि आशावादी बनेको बताएका छन् । अघिल्लो वर्षदेखि कोरोना कारण थलिएको व्यवसाय अब लयमा फर्किनेमा आशावादी रहेको उनीहरु बताउँछन् ।
फूलपातिको अघिल्लो दिनदेखि नै धरान बजारमा चहलपहल रह्यो । ‘चाडबाडमा फेन्सी पसलमा पनि चहलपहल भयो’, धरान रेडिमेड व्यापार संघका सचिव सन्दीप श्रेष्ठले भने, ‘दशैं, तिहार, छैठजस्ता चाडबाडले गर्दा व्यवसायीलाई आशा पलाएको छ, आशा गरौं, व्यवसाय उक्सिएर जानेछ ।’
उनका अनुसार चाडबाड नजिकिएसँगै अहिले धरानका सपिङ मल, कपडा र जुत्ता पसलमा घुइँचो लाग्यो । धरानमा विभिन्न ब्रान्डका लत्ताकपडा खरिद गर्न सकिने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित हुन्छन् ।
धरानस्थित बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्मा दियालीले पनि दशैं, तिहार, छैठजस्ता चाडबाडमा व्यवसायमा केही चहलपहल बढेको बताएका छन् । ‘चाडबाडमा उपभोक्ताको चहलपहलका कारण व्यवसायमा लयमा फर्किने भन्नेमा आशावादी भएका छौं’, उनले भने । उनका अनुसार अहिले सुन खरिद गर्ने, लत्ताकपडा, पेयपदार्थ, खाद्यान्न किन्ने ग्राहकको चहलपहलले केही आशा जगाएको छ ।
दशैं चाड मिठो खाने, राम्रो लगाउने चाड भनिन्छ । यही मेसोमा दशैंमा लत्ताकपडा नफेर्ने कमै होलान् । राम्रा–राम्रा लत्ताकपडा किनेर पनि रमाउनेको कमी नभएको एभरग्रिन कलेक्सन धरान–९ पुतलीलाइनका सञ्चालक पवन शर्मा बताउँछन् । ‘यसपटक धेरै लत्ताकपडा खरिद गर्ने ग्राहक आए’, उनले भने, ‘व्यवसायी उक्सिने भनेकै चाडबाडको समय हो ।’ ब्यापारीहरुले धरानका सर्वसाधारणदेखि हुनेखाने वर्गदेखि हुँदा खानेसम्मलाई सुहाउने कपडा भित्र्याएको र चहलपहल बढेको उनको भनाइ छ । चाडबाडका बेला सबैलाई नयाँ र राम्रो लगाउन मनपर्ने भएकाले नाम चलेका ब्रान्डका जुत्ताहरु अहिले किन्नेहरु धेरै आउने गरेको उनले बताए ।
तन्नेरीदेखि वृद्धसम्म आफ्ना रोजाइका लुगा छान्नमा व्यस्त बनेको २१ सेन्चुरी धरान–९ पुतलीलाइनकी सञ्चालिका सरस्वती राईले बताइन् । धरान–९ पुतलीलाइनस्थित ब्लाकेन ह्वाइटका मनोज श्रेष्ठ र जय श्रेष्ठको धारणा पनि यस्तै छ । कोरोना कहरपछि चाडबाडमा लत्ताकपडा, जुत्ता, पेन्ट, भेष्ट आदिको बिक्री बढेको मनोजले बताए । ‘खासमा यसअघि पसल रुँघेर बस्नुपर्दथ्यो तर चाडबाड भित्रिएपछि व्यापार व्यवसाय बढेको छ ।’ उनले भने । उनले सामाजिक सञ्जालः इन्स्टाग्राम, टिकटकलगायतमा लगाइएका लुगा देखेर किन्न खोज्न आउने ग्राहकहरु बढी रहेको उनी बताउँछन् । ‘दशैंमा फेन्सी किसिमका कपडा बढी रुचाइन्छ,’ उनले भने, ‘यसपटक पाइन्ट, भेष्ट, जाडो सिजन शुरु भएकोले ज्याकेट, जुत्ता आदि बढी बिक्री भएको पाइयो ।’ जेन्ट्समा पनि धेरै चलेका कपडाहरु र जुत्ताहरु नै ग्राहकहरुले खोज्ने गरेको उनी सुनाउँछन् । यसपालीको दसैंका लागि लेदर ज्याकेट, हुडी र प्रिन्टेड सर्टहरुको धेरै माग रहेको उनले जानकारी दिए ।
‘लेदर, भुवा भएको र हाफ ज्याकेट केटाहरुले खोज्छन्,’ उनले भने, ‘जाडो पनि सुरु हुने समय भयो, त्यसैले हुडी, जम्पर, ब्लेजर पनि धेरैले किन्ने गरेका छन् ।’
यससँगै सबैभन्दा बढी प्रिन्टेडमा हाफ र पूरा बाहुला भएको सर्ट १८ देखि ३० वर्ष उमेर समूहकाले रुचाउने गरेका छन् । ‘यी कपडाहरुको रंगमा कालो र निलो केटाहरुको छनोटमा पर्छ,’ धरान–९ पुतलीलाइनस्थित ब्राण्डेड स्टोरका सञ्चालक धनबहादुर राउतले भने, ‘जिन्स र कटनका पेन्ट, ट्राउजर र जगर्स सधैंको फेसन नै हो ।’
दशैंको बेला कपडा र जुत्ताहरुमा दिइने छुटका अफरहरुले गर्दा पनि उपभोक्ताहरुको चहलपहल बढाएको व्यवसायी बताउँछन् । दशैंको समयमा मात्र करिब ७० प्रतिशत कारोबार हुने व्यवसायी बताउँछन् ।
यस्तै, दुई पाङ्ग्रे सवारी साधनमा पनि धरानमा आकर्षण देखिएको छ । धरानस्थित होण्डा शोरुमका सञ्चालक देवेन्द्र कुँवरले यसवर्ष एक्सचेञ्ज अफर ल्याएको र अहिलेसम्मकै बढी स्कुटी, मोटरसाइकल बिक्री भएको सुनाए । यस्तै, अर्विन एण्ड ब्रदर्श अटोका सञ्चालक अर्विन तामाङले एक्सचेञ्ज अफरमा उत्साहजनक सहभागिता जनाएको जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप