रमाइलो चाडबाडमा किन बढ्छ दुर्घटना ?


  • भीमज्वाला राई
  • २०७८ असोज २७

दशैं उत्सवमा रमाई रहँदा मुगुमा मङ्गलबार अर्थात् फूलपातीको दिन भएको बस दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सवारी दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । यसअघि सोमबार कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जपि दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाले ज्यान गुमाए ।
दशैं लगभग आएर सकिन लागेको छ । नेपालीहरुको अर्को महान चाड तिहार हाम्रो घरआँगनमा आइसकेको छ । जब जब चाडपर्व आउँछ, सवारी दुर्घटनाको त्रासले सबैलाई सताउने गर्दछ । किन बढ्छ रमाइलो गर्ने चाडपर्वकै समयमा यस्ता हृदयविदारक सवारी दुर्घटना ?
यात्रुको थामिनसक्नुको चाप
चाडका समयमा सामान्य अवस्थामा जस्तै यात्रुहरुको चापलाई सवारी साधनहरुले धान्न सक्दैन । ट्राफिक प्रहरी महाशाखाकै भनाइलाई मान्ने हो भने पनि उपत्यकाबाट बाहिरिने यात्रुहरुको भारबहन क्षमतालाई थेग्न सक्ने उपत्यका बाहिरिने सार्वजनिक सवारीको साधनहरु हामीसँग छैन । देशभरीको यात्रु चापलाई धान्न सक्ने सवारीका साधनसमेत हामीसँग छैन । करिब २ करोड ६४ लाख नेपाली सबैलाई एकसाथ चाड लाग्दा ती नेपालीलाई सहज यात्रा सुविधा दिने सवारी साधन हामीसँग देखिँदैन । आम जनताको सहज आवागमनका लागि सार्वजनिक सवारीका साधन पर्याप्त हुन सक्दैन त्यसको एउटै मात्र विकल्प झुण्डिएर, कोचिएर, छतमा बसेर यात्रा जुन दुर्घटनाको कारण बन्ने गरेको छ । डोटीको दुर्घटनालाई अध्ययन गर्ने हो भने पनि बसको क्षमता भन्दा तीन गुणा अर्थात ३५ सिट क्षमताको बसमा करिब सय जनाले यात्रा गरेको कारण दुर्घटना भएको देखाएको छ ।
सडकको अवस्था
सवारी दुर्घटना हुनुमा सडकको अवस्था पनि मुख्य कारणमध्ये एक हो । सडक विस्तारमा देखिएको सुस्तता र सवारी आयातमा पाइएको तिव्रता नेपालमा बढ्दै गइरहेको दुर्घटनाको यो पनि एउटा कारण हो । त्यसमाथि अझ पूर्व–पश्चिम सडकलाई हाइवे भनिएको छ, तर हाइवेको मापदण्डका सडक छैनन् । खुल्ला चौपाया, सडकमै हाटबजार, पसल, सडक मिचेर घर बनाउने, बिस्कुन सुकाउने, सडक प्रयोगकर्ताहरुमा चेतनाको अभाव, रोकेर साइड दिनुपर्ने साँघुरा पुल, भत्किएर जीर्ण सवारी दुर्घटनाका थप कारणहरु हुन् ।
चाडका समय भएका केही वर्षदेखिको दुर्घटनाको श्रृङ्खला पहाडी सडकहरुमा हुने गरेको छ । पछिल्लो उदाहरण डोटीको दुर्घटनालाई लिन सकिन्छ । गाउँले आफै मिलेर खनेको नाम मात्रको सडकमा जवरजस्ती सवारी सञ्चालन गर्नु, वर्षायाममा पानी बगेको, भत्किएको तथा हिलाम्मे मौसमी सडकमा सवारी सञ्चालन गर्ने, मर्मत सम्भार नगरी सवारी सञ्चालन तथा भर्खर ट्रयाक खोलिएको सवारी सञ्चालनका लागि अनुपयुक्त सडकमा सवारी सञ्चालन दुर्घटनामा मूल कारण बनेका छन् ।
यान्त्रिक खराबी
चाडबाड यातायात व्यवसायीहरुका लागि मौकामा चौका हान्ने अबसर हो । व्यवसायीहरुका लागि चाडको समय वर्षभरीको घाटा पुरा गर्ने एउटा सुनौलो मौका हुने गर्दछ । बैंकको किस्ता अथवा अन्य बाँकी बक्यौता चाडको कमाइले पूरा ध्याउन्नमा सवारीमा देखिएका प्राविधिक गडबडीलाई समेत चाडपछि मर्मत गरौंला, कमाउने बेलामा कमाउनुपर्छ भन्दै यात्रु ओसार पसारमा बढीभन्दा बढी कुदाइरहने गर्दछन् । सवारीमा देखिएको यान्त्रिक गडबडी र मर्मत सम्भारको अभावमा दुर्घटना निम्तिने गरेका छन् ।
तनाव र थकानयुक्त चालक
चाड यातायात मजदुरहरुका लागि पनि हो नियमित काम पूरा गरिसकेपछि चाड मान्ने तयारीमा रहेका मजदुरलाई जसरीपनि कमाउनै पर्ने ध्याउन्नमा रहेका गाडी धनीको हठले चाड मान्न दिँदैन । सवारीमा काम गर्नै पर्ने दबाव, अरु सवारीले ल्याएको रकम भन्दा कम आम्दानी हुन नहुने उर्दीका कारण तनावमा रहेका चालकमा तनाव मात्र होइन, विना आरामको यात्रु ओसार पसारले थकान पनि हुन्छ ।
निरीह मजदुर
हुन त गाडीधनीको दबाव र आदेश नमान्दा यातायात मजदुरहरुको जागिर गएका थुप्रै उदाहरणहरु छन् । यात्रु तानेर सवारीमा नहुलेका कारण पनि कतिपय मजदुरहरुले कामबाट हात धुनु परेका छन् । तर, जीबन बच्यो भने मात्रै जागिर गर्न पाइन्छ भन्ने विषय यातायात मजदुरहरुले बुझ्न सकेको देखिएको छ्रैन । गाडीमा खाँदी खाँदी यात्रु हुलेर जति धेरै कलेक्सन (पैसा) दिए पनि गाडी धनीले अहिलेसम्म यातायात मजदुरहरुलाई पुरस्कृत गरेको कतै सुनिएको छैन । मालिकका लागि जति दुःख गरे पनि मालिकको नजरमा मजदुरलाई चोरै देख्छन् भन्ने यातायात मजदुरहरुले बुझ्न नसक्नुले दुर्घटनाका लागि वातावरण बन्ने गरेको छ ।
त्यस्तै यान्त्रिक खराबी हुँदा म गाडी चलाउँदिन भन्ने हिम्मत चालकले गर्न नसक्नु, तोकिएको समयभन्दा बढी गाडी चलाउँदिन भन्ने आँट गर्न नसक्नु, भारवहन क्षमताभन्दा बढी यात्रु चढ्न खोजे अर्कै सवारीमा आउनुस् भन्ने इमान्दारिता देखाउन नसक्नु र ट्राफिक नियमभित्र रहन नसक्नु पनि दुर्घटनाको कारण बनेको छ ।
सचेत यात्रुको भूमिकाको कमी
सवारीको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेका कारण अधिकांश दुर्घटनाहरु भएका छन् । सुरक्षित यात्राको विकल्प हुन सक्छ । तर, दुर्घटनाको विकल्प हुँदैन भन्ने नबुझेका कारण खचाखच भरिएको सवारीमा झुण्डिएर, छतमा बसेर, चेपिएर, खाँदिएर यात्रा गर्ने यात्रुको कमजोरीका कारण दुर्घटना हुने गरेको हो ।
ट्राफिक प्रहरी
कानुनी अधिकारलाई सिरानी लगाएर गरिने जरिवाना अथवा पैसा असुलको सेरोफेरोमा मात्र घुम्ने गरेका छन् ट्राफिक प्रहरी । ट्राफिकको काम सडक तथा यातायात व्यवस्थापन तथा दुर्घटना न्युनीकरणका लागि भूमिका निर्माण, नीतिगत सुधारका लागि सरोकारवालाहरुसँग सहकार्यमा भन्दा पनि कारवाहीका नाममा रकम असुलीतर्फ लागेको स्पष्ट देखिएको छ ।
ट्राफिक प्रहरीले अब गौंडा ढुकेर कारवाहीको नाममा जबरजस्ती रकम असुल गर्ने तौर तरिकालाई छाडेर चालक, सडक प्रयोगकर्ता सर्वसाधारण, यात्रु तथा सरोकारवालाहरुका माझमा ट्राफिक प्रहरीले अभियान सञ्चालन नगरेकै कारण पनि दुर्घटनामा वृद्धि भएको हो ।
यातायात व्यवस्था विभाग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत सार्वजनिक सेवासँग सम्बन्धित रहेर यातायात व्यवस्थापन गर्न छुट्टै यातायात व्यवस्था विभाग रहेको छ । विभागका धेरै कामहरु मध्ये देशमा रहेका सर्वसाधारणको सेवाका लागि कति सवारीका साधनहरु आवश्यक छन् । ती सार्वजनिक यातायातका साधनहरुको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयको व्यवस्थापन यसको कामको क्षेत्र हो ।
देशभरिको त कुरा छाडौं काठमाण्डौंमा कार्यालय रहेको विभागले उपत्यकामा कति सार्वजनिक सवारी चढ्ने सर्वसाधाराण जनता छन्, तिनका लागि कति र कस्ताखालका सवारी साधन चाहिन्छन् र त्यसको सञ्चालन व्यवस्थापन र परिचालन कसरी गर्न सकिन्छ भन्नेसम्म पनि हेक्का राख्न सकेको देखिँदैन ।
अहिले विभागको काम भने नेपाल भित्रयाइएका र दर्ता गर्न आएका सवारी धनीबाट तोकिएको रकम लिएर जति आउँछन् त्यति सबैलाई दर्ता गरिदिने कामबाहेक अरु केही पनि गर्न सकेको छैन । जिम्मेवार व्यक्तित्वहरुले सडकको अवस्था, सवारी साधनको अवस्था, चेतना, जनसख्यां, नीतिगत समस्या तथा देशको भूराजनीतिको असरका बारेमा बोल्दै नवोली निरीहमाथि दोष थुपारिदिने काम ठीक हुन सक्दैन । जो होचो, उसैको मुखमा घोचो गर्नु उचित हुँदैन ।
अब के गर्नु पर्ला ?
सवारी दुर्घटनामा कुनै एक पक्ष मात्र होइन, सबै दोषी छौं भन्ने विषय सबैभन्दा पहिले बुझ्न आवश्यक छ । तात्कालिक तथा दीर्घकालीन योजना बनाउन आवश्यक छ ।
तात्कालिक योजना
सडक र सवारी साधनको मापदण्ड तोक्दै हाइ वेलाई मापदण्ड अनुसार विस्तार र व्यवस्थापन गर्ने, सहरका सडकलाई फराकिलो बनाउने, ग्रामीण सडकका सन्दर्भमा इन्जिनियरिङ्ग परीक्षणपछि मात्र प्रयोग गर्ने नीतिलाई कडाइ गर्ने, साना, मझौला सवारीका स्थानमा ठूला सवारी प्रतिस्थापन गर्ने, सवारी आयात र सडक निर्माणको गतिलाई मिलाउँदै सडक र यात्रुको चापका आधारलाई सन्तुलन मिलाएर मात्र सवारी आयातलाई व्यवस्थित गरिनु पर्दछ । समयसारिणि अनुसार यातायातका साधनहरुलाई व्यवस्थापन गरी अनावश्यक उछिन पाछिन गर्ने प्रवृत्तिको अन्त्य गर्ने ।
दीर्घकालीन योजना
आम सर्वसाधारणलाई गुणस्तरीय सार्वजनिक यातायात सेवा राज्यबाहेक अरु कसैले दिनै सक्दैन । त्यसकारण यातायात सञ्चालनको स्वामित्व राज्यको हुनु अनिवार्य छ ।
नेपालको सन्दर्भमा यातायात सेवाको क्षेत्र निजी क्षेत्रको स्वामित्वमा रहेकाले गुणस्तरीय सेवाभन्दा पनि जसरी पनि नाफा कमाउने निजी क्षेत्रको प्रयत्न केन्द्रित हुने हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने र व्यवस्थापनमा हारालुछ हुने भएकैले दुर्घटनाको संख्या बढिरहेको छ ।
त्यसकारण सेवालाई जनउत्तरदायी बनाउन तथा लोभका कारण हुने प्रतिस्पर्धा र निम्त्याउने दुर्घटनालाई न्युनीकरण गर्न राज्यले स्वामित्व ग्रहण गर्न जरुरी छ ।
अन्त्यमा
सवारी दुर्घटना कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषय सरोकारवालाहरुको साझा गन्थनको विषय अहिलेसम्म कहिल्यै हुन सकेको छैन । आ–आफ्नो संघ, संगठन तथा संस्थाको पक्षधरता तथा स्वार्थका आधारमा सबैले आ–आफ्नै डम्फु बजाएर हिँडिरहेको पाइएको छ । जसले जसलाई आरोप प्रत्यारोप गरे पनि दोष सबैको छ । तर्कले जितेर अरुलाई प्रत्यारोप लगाएर आफू पानीमाथिको ओभानो हुने दुस्प्रयास कसैले नगरे हुन्छ । (पुरानो पोष्टबाट सम्पादित)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप