धरानमा हर्षु राईको ‘मेरो देश नेपाल’ सार्वजनिक

(भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २६

धरानः गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ‘मेरो देश नेपाल’ को भिडियो सार्वजनिक गरिएको छ ।
सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटम थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको हो ।
भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाइने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए ।
कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफूलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गर्दै सबैलाई भिडियो हेरेर शेयर गरेर सहयोग गर्न अनुरोध गरिन् । कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र आफ्नो पुरानो गीत ‘चेलीको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिइन् । २०४३–०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षु राईले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीतमार्फत् खबरदारी गर्ने गर्थिन् । २०४७ सालताका पूर्वका गाउँ–गाउँमा ‘चेलीको सिउँदो पुछियो…’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’, ‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन् ।
पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनी पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । २०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्वम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्वम ‘प्रीति’ बजारमा ल्याइसकेकी छिन् । लामो समय धरान उप–महानगरपालिकाको जागिरे जीवनबाट केही वर्षअघि मात्र अवकाश लिएकी गायिका हर्षुले लामो अन्तरालमा नयाँ गीत ‘मेरो देश नेपाल’ राष्ट्रिय भावनामा समर्पित रहेर म्यजिक भिडियोसहित ल्याएकी हुन् । ‘मेरो देश नेपाल’ गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो सार्वजनिक कार्यक्रममा गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गायक, संगीतकार नवराम राईलगायत विभिन्न संगीतकर्मीहरु बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन इक्सा मादेनले गरेकी थिइन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप