भारतीय ‘ग्याङ’ द्वारा मोरङमा सिटिजन्स बैंक लुट्ने प्रयास

तीनजना समातिए, लुटेरा समूहका एकजनालाई लाग्यो गोली


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २५

विराटनगरः मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’ को हात रहेको खुलेको छ ।
भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको गाउँपालिकाका अध्यक्ष हरिलाल सिहंले बताए । घटनामा ५ जनाको संलग्नता रहेकोमा ३ जनालाई पक्राउ गरिएको र लुटेरा समूहका १ जना पनि गोली लागेर घाइते भएको उनले जानकारी दिए । लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका–२ का शितल कुँवर घाइते छन् । उनको विराटनगरकै न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
बैंक शाखामा सुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीनजनामध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा भएको जनाइएको छ । ४–५ जनाको समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा रोक्ने क्रममा सुरक्षा गार्डलाई गोली प्रहार भएको जनाइएको छ । उनको गर्धनमा गोली लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कुँवर लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरेको हो भन्नेबारेमा अहिलेसम्म केही खुलिनसकेको जानकारी दिए ।
गोली चलेपछि स्थानीय प्रहरी बैंकमा पुगेको थियो । प्रहरी पुगेपछि लुटेराहरु गोली चलाउँदै भागेका थिए । भाग्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ । स्थानीयले भने पाँच जनाको समूहमा आएर लुटपाट गरेको बताएका छन् ।  चाडपर्वको पूर्वसन्ध्यामा गोली चलेपछि स्थानीय त्रासित बनेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप