धरानमा दशैं मान्न घर फिर्नेको लर्को

गाउँमै दशैं रमाइलो हुने भन्दै उत्साहित हुँदै घर फर्किए, गाडी नपाउँदा हैरान बनेको र गाडीभाडा दोब्बर समेत तिर्नुपरेको गुनासो (६० तस्वीर र भिडियो रिपोर्ट)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २५

धरानः धरानमा दशैं मनाउन घर फिर्नेको लर्को देखिएको छ । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं मनाउन हिँडेकाहरुको लर्को देखिएको छ ।
धरानमा पहाडी क्षेत्रमा चढ्ने यात्रु र धरानबाट बाहिरिनेको संख्या बढेको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको छ ।
विशेषतः दशैं लागेदेखि नै भीडभाड शुरु भएपनि फूलपातीको अघिल्लो दिन, फूलपाती साथै नवमीसम्म नै धरानमा भीडभाड हुने गरेको यातायात व्यवसायी बताउँछन् । फूलपातीको अघिल्लो दिन भानुचोकमा थामिनसक्नु भीड बढेको छ । अघिल्लो वर्ष कोरोना त्रासका कारण सहजरुपमा दशैं मनाउन नफर्किएकाहरु पनि यसपटक गृहजिल्ला फर्किएका छन् । यसपटक अधिकांश यात्रु पनि सचेत रहेको देखिएको छ । कोरोना संक्रमणको घटिरहेको कारण यसपटक दशैं मनाउन पाइएको संखुवासभा हिँडेका यात्रु नविन खत्रीले बताए । यसपटक अधिकांश यात्रु आफैं सचेत बन्दै मास्क लगाएको समेत पाइएको छ ।
काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, विदेशबाट घर फिर्नेले चाप बढेको पहाडी काउन्टरका श्याम कटुवाल बताउँछन् । ‘हप्तादिन अघिसम्म बस खाली खाली नै जाने गरेको थियो तर केहीदिन चाप बढेको छ, बिहान चार बजेदेखि कुनैपनि बस खाली गएकै छैनन् ।’ उनले भने ।
सञ्चारकर्मी, मोडल एवम् आरजे मेरिना तुम्सा लिम्बू पनि धनकुटाको राजारानीस्थित बोधे गाउँमा दशैं मनाउन फर्किइन् । उनले दशैं पहाड अर्थात् गाउँमै रमाइलो हुने धारणा राखिन् । ‘तिहारचाहिँ सहरतिर नै रमाइलो हुन्छ तर दशैं गाउँमै रमाइलो हुन्छ, त्यही भएर दशैं मनाउन लागियो ।’
यस्तै, धरान–१६ निवासी मिस लिम्बू २०१७ की फस्ट रनरअप बनेकी सन्ध्या तुम्वाहाम्फे पनि पुख्र्यौली थलो तेह्रथुम, मोराहाङमा दशैं मनाउन हिँडेको बताइन् । ‘खासमा घर धरान–१६ हो तर पुख्र्यौली थलो अर्थात् गाउँमै दशैं रमाइलो हुन्छ, त्यही भएर गाउँतिर लागियो ।’ उनी बुबा, आमालगायत अन्यसहित दशैं मनाउन पुख्र्यौली थलो हिँडेकी हुन् ।
काठमाडौंदेखि संखुवासभाको खाँदबारी नगरपालिकामा दशैं मनाउन फर्किएका अर्जुन राई, दीपेन्द्र राई, युवराज राई र युवराज मगरले पनि दशैं गाउँमै रमाइलो हुने हुनाले घर फर्किएको बताए ।
अघिल्लो सालभन्दा यसपटक दशैंमा घर मनाउन फर्किनेहरु बढेको पूर्वेली यातायात व्यवसायी प्रालिका शाखा इन्चार्ज रनबहादुर थेबेले जानकारी दिए । ‘पोहोरभन्दा यसपटक जनतामा चाडपर्व मनाउने उत्साह छाएको छ’, उनले भने, ‘चाडबाडको बेला गाडीमा चाप स्वभाविकरुपमा हुन्छ तर पनि गाडीहरु थपेर भएपछि यात्रुलाई सहज हुने तरिकाले कुदाइरहेका छौं ।’
यात्रुको गुनासो गाडी पाइँदैन, पाइए पनि भाडा महङ्गो
यात्रुहरुले पहिलो कुरा त गाडी सहजरुपमा नपाएको गुनासो गरेका छन् । धरान–१६ का योगेन्द्रबहादुर लिम्बूले अघिल्लै दिन एउटा गाडी १९ जनाका लागि भन्दै बुक गराए । गाडी मालिकले हुन्छ पनि भन्दिए । उनीहरु ढुक्क भए । बिहानै छाताचोक पुगेका उनीहरु झसङ्ग भए । गाडीले भानुचोकदेखि नै गाडीभरी यात्रु बोकेर आयो । उनीहरु भएको ठाउँमा रोक्यो पनि । तर सिट थिएन । चालकले उभिएर बस्नु भन्न थाले । उनीहरुले आक्रोशित हुँदै गाडी रोके र चाबी खोसेर राखे ।
‘खासमा अघिल्लै दिन बुक नै गराएका थियौं तर बसको हेलचेक्रयाइँले तीनघण्टा दुःख पाइयो ।’ उनले भने । उनका अनुसार चालकले अर्कै गाडी झिकाइदिएपछि उनीहरु ढिलै भएपनि घर फिरेको बताए ।
‘हामीले जसरी पनि हामीलाई अर्को गाडीमा चढाउनुपर्छ भनेर अडान लियौं’, उनले फोन सम्पर्कमा भने, ‘तीनघण्टापछि बल्ल अर्को गाडी झिकाइयो र हामीलाई पठाइयो, चाडबाडमा कसैले पनि दुःख नपाउन् भनेर सचेतनाका लागि भएपनि अडान लिएका हौं, अहिले हाम्रो माग पूरा भएको छ ।’ तीनघण्टापछि धरान ट्राफिक प्रहरीको समन्वयमा उनीहरु घरतर्फ हिँडेका थिए । विशेषतः तेह्रथुम जानका लागि यात्रुहरुलाई समस्या भएको व्यवसायी नै बताउँछन् । उनीहरुका अनुसार यसअघि तेह्रथुममा टयाक्सीमात्रै चल्थ्यो, गाडी खासै चल्दैन थियो, त्यही कारण समस्या भएको उनीहरुको भनाइ छ ।
संखुवासभाका अर्जुन राईले गाडी नपाएरै दुईघण्टा बढी भानुचोकमा बिताएको बताए । ‘खासमा गाडी सबै प्याक छ भन्छन्, दुईघण्टाअघिदेखि गाडी कुर्दाकुर्दा हैरान भइसक्यौं ।’ उनले भने ।
यात्रुहरुले गाडीभाडा महङ्गो भएको बताएका छन् । यसअघि संखुवासभाको खाँदबारी पुग्दा ७ सय तिरेका यात्रुले यसपटक १५ सयभन्दा नछोडेको दुखेसो गरेका छन् । ‘यसअघि ७ सयमा पुग्ने ठाउँमा दोब्बर भाडा तिर्नुपरिरहेको छ’, संखुवासभाका दीपेन्द्र राई भन्छन्, ‘धेरै यात्रु जसरीपनि चाडबाड मनाउन घर पुग्नुपर्छ भन्दै जतिपनि तिरेर चढ्छन् तर हामीजस्ता विद्यार्थी मारमा परेका छौं ।’ उता यातायात व्यवसायीले भने चाडबाडमा वर्षौदेखि दोब्बर नै हुने तर्क गर्छन् । ‘खासमा गाउँतिर यात्रु पुरयाएर फर्किँदा रित्तै फर्किनुपर्ने हुन्छ’, एक व्यवसायी भन्छन्, ‘साथै तेलको मूल्य पनि बढेको छ, त्यही भएर पनि भाडा दोब्बर भएको हो ।’
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप