धरानको सुनाखरी एकेडेमीको कलेज पढ्ने विद्यार्थीलाई शेयर मार्केटको ज्ञान (१२ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २२

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कलेज पढ्ने विद्यार्थीलाई शेयर मार्केटसम्बन्धी ज्ञान दिइएको छ ।
स्कुल लेवलदेखि नै विद्यार्थीलाई शेयरसम्बन्धी ज्ञान दिने उद्देश्यले र विद्यार्थीले पनि यसैलाई ‘फलो’ गर्दै पढाइसँगै आम्दानी पनि गर्न सकुन् भन्ने हेतुले यस्तो कार्यक्रम राखिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
उनले ब्रोसरमा पनि आफूहरुले शेयर मार्केटसम्बन्धी शिक्षा दिने भनेर लेखिएको र त्यसलाई अक्षरस पालना गर्ने हिसाबले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । सुनाखरीले अनावश्यक सपना बाँड्नुभन्दा पनि गुणस्तरीय शिक्षा दिन इमान्दारितापूर्वक लागेको उनको धारणा थियो । ‘हामीले अनावश्यक सपना बाँड्नुभन्दा पनि सही तरिकाले जे कुरामा फोकस छ, त्यही कुरामा जोड दिनुपर्छ भनेर लागेका हौं ।’
उनले भने । उनले सुनाखरीका विद्यार्थीले प्रगति गरेको र त्यो प्रमाणसहित देखाउन चाहेको पनि बताए । सुनाखरीले पहिलो प्रयासस्वरुप कक्षा–११ र १२ मा म्यानेजमेण्ट सङ्काय भित्रयाएको उनले बताए ।
कार्यक्रममा शेयर मार्केटको फाइनान्स इन्भेष्टर र ट्रेनर दीपा लिम्बूले तालिमको सहजीकरण गरेकी थिइन् । उनी सुनाखरीबाट २०६८ सालमा एसएलसी पास गरेकी विद्यार्थी हुन् । उनले शेयर बजारमा लगानी गर्ने तरिका आदिबारे जानकारी दिएकी थिइन् । उनले शेयर बजार यस्तो क्षेत्र हो जहाँ सजिलै पैसा कमाउन सकिने र सजिलै गुमाउने पनि भएकोले यस्तो ज्ञान आवश्यक भएको बताइन् । ‘जति नै पढेपनि जति नै विज्ञता हासिल गरेपनि शेयर बजारमा अनुभवको ठूलो महत्व हुन्छ’, उनले थपिन्, ‘हाम्रो पालामा त यस्तो शिक्षा लिएनौं नै, शेयर बजारमा प्रवेश गर्न राम्रो समय भनेको विद्यार्थी जीवनमा नै हो । त्यही भएर विद्यार्थी जीवनदेखि नै यसको अनुभव बटुल्दा धेरै राम्रो हुन्छ, अनुभवले नै पैसा कमाइने हो ।’
विद्यार्थी जीवनमा त्यति धेरै पैसा नहुने र विद्यार्थी जीवनमा भएको थोरै थोरै पैसाले दोस्रो बजारमा लगानी गर्न सकेमा शेयर बजारको चालको बारेमा अनुभव लिन सकिने उनको भनाइ थियो । ‘विद्यार्थी जीवनमा गरिएको थोरै लगानीमा नोक्सानी आउँदा त्यति ठूलो असर पर्दैन तर पछि लगानी गरेर ठूलो पैसामा नोक्सानी हुँदा आफूलाई धेरै ठूलो असर पर्छ । त्यसैले शेयर बजारको मिठो अनुभव लिने र भविष्यमा ठूलो पुँजी लगानी गर्नुपरेमा विद्यार्थी जिवनमै शेयर बजारमा लगानी गरेको अनुभवले सिकाउँछ ।’ उनले भनिन् ।
कार्यक्रममा अध्यापक आनन सुब्बाले पनि खाता कसरी खोल्ने आदिबारे जानकारी गराएका थिए । विद्यार्थी जीवनमा भने पर्याप्त समयसँगै सिक्न खोज्ने इच्छाशक्ति पनि धेरै हुने हुनाले यसको ज्ञान लिँदा धेरै फाइदा हुने उनको भनाइ थियो ।
कार्यक्रममा डाइरेक्टर प्रदीप राईले विद्यार्थीको जीवनमा उपयोगी सीपसाथै शिक्षामा पनि जोड दिँदै जाने बताए । कार्यक्रममा कलेजका कोअर्डिटर टपकुमार राईलगायत अधिकांश अध्यापकहरुको उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप