हेलीबाट धरान चियाउँदा…

धरानदेखि हेलिकोप्टर चढेर दशैं, तिहारमा पाथिभरा मन्दिर दर्शन गर्न पाइने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २०

धरानः धरान होलिडेज प्रालि र सिम्रिक एयरलायन्सको संयुक्त आयोजनामा पर्यटकीय सहर धरानदेखि ताप्लेजुङको पाथीभरा दर्शन गराइने भएको छ ।
धरान–१६ स्थित रंगशालादेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म हवाइ सेवा सञ्चालन हुने भएको हो । दशैं, तिहारको अवसरमा प्रालिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सिम्रिक एयरको हेलिकोप्टरबाट यात्रा गराउन लागेको हो । भोलि अर्थात् घटनास्थापनादेखि हेलिकोप्टर यात्रा शुरुवात गरिने जनाइएको छ । धरान–पाथिभरा हवाई सेवा सञ्चालन हुने भएपछि पाथिभरा मन्दिर दर्शन गर्न जाने तिर्थालुहरुले हप्ता दिनसम्मको टिकट बुकिङ गरिसकेको जनाइएको छ ।
पाथिभरा दर्शनका लागि प्रतिव्यक्ति आउजाउका लागि ३२ हजार शुल्कमा हवाइयात्रा गराइने धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए । ताप्लेजुङ जिल्लाको रमणीय हिमश्रृङ्खलालगायत अन्य जिल्लाको समेत दृश्यावलोकन गर्दै पाथिभरा पुग्न सकिने उनले जानकारी दिए । हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ ।
पाथिभरा मन्दिरको दर्शनका लागि क्याप्टेन राजेन्द्र दुवालसहितको प्राविधिक टोली तयारीका साथ धरान आएको सिम्रिक एयरलाइन्सका अप्रेसन म्यानेजर रमेशमान बज्राचार्यले जानकारी दिए । उनले मौसमले साथ दिएको खण्डमा दैनिक ७ देखि १० वटा फ्लाइट धरान–पाथिभरा उडान भर्ने जानकारी दिए ।
पाथिभरासँगै अन्य टुर पनि राखिएको र धरानको दृश्यावलोकनका लागि प्रति व्यक्ति ५ हजार रुपैयाँ तिरेर दृश्यावलोकन गर्न सकिने उनले जानकारी दिए । यस्तै, ‘मेडिकल रेस्क्यु’ पनि गर्ने योजनाका साथ हेलिकोप्टर ल्याइएको उनले जानकारी दिए । ‘धरानलगायत प्रदेश १ का बिरामी सर्वसाधारणका लागि समेत हवाइ एम्बुलेन्सका रुपमा समेत सेवा उपलब्ध गराइनेछ’, उनले भने ।
धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले धरान होलिडेजले २०७६ देखि यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा टेवा पुरयाउँदै आएको र यसपटक हेलिकोप्टरबाट प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउन लागेको जानकारी दिए । यसले प्रसिद्ध धार्मिकस्थल र प्रदेश–१ का पर्यटकीयस्थलहरूको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास लिइएको पनि जानकारी दिए । फाइनान्स डाइरेक्टर अजय खनालले प्रदेश १ को पर्यटन प्रवद्र्धनमा थप टेवा पुरयाउने उद्देश्यले हेलिकोप्टरबाट धार्मिकस्थलको भ्रमण प्याकेज ल्याइएको जानकारी दिए ।
बुधबार धरानका केही पत्रकारहरुले धरानको दृश्यावलोकन समेत गरेका छन् । धरानका पत्रकार रोहित राई, भोजराज श्रेष्ठ, सन्तोष काफ्लेलगायतका पत्रकारले धरानको दृश्यवलोकन गर्दै क्यामेरा र भिडियो कैद गर्न भ्याएका थिए ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप