संखुवासभा हत्याकाण्डमा सफल अनुसन्धान गर्ने प्रहरीलाई १ लाखको पराक्रम पुरस्कार

पुरस्कार स्थापना गर्ने धरानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ पनि सम्मानित


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २०

विराटनगरः यस वर्षको १ लाख धनराशीको आठौं साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खडकालाई प्रदान गरिएको छ ।
प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई ६६ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको हो ।
२०७८ भदौ २१ गते जिल्ला संखुवासभा, मादी नगरपालिका १ खोलागाउँका एकै परिवारका ६ जना सदस्यहरुको हत्या भएको घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीहरुलाई पुरस्कृत गरेको हो ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरुमध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौताअनुरुप प्रहरीद्वय खतिवडा र खड्कालाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।
प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेवी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्व. माता साधनादेवी श्रेष्ठको नाममा वार्षिकरुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक–अरुणकुमार बिसीले हार्दिक धन्यववाद दिए । उनले सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिएका छन् ।
पुरस्कृत हुने प्रहरीद्वय खतिवडा र खड्काले आफूबाट सम्पादित कार्यहरुको मूल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफूलाई छनौट गरिएबाट संगठनले आफूलाई ठूलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
स्व. माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक श्रेष्ठले आफूलगायत आफ्नो परिवार खुसी भएको बताएका छन् ।
प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई प्रमुख अतिथी मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोसल्ला ओढाइ सम्मान समेत गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप