धरानमा आधुनिक बसपार्कले गति लियो

यातायात व्यवसायी र चालकले भने- अति खुशी छौं, जनताको पहिलो प्रश्नको उत्तर दियौंः जनप्रतिनिधि (२० तस्वीर र भिडियो रिपोर्ट)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १८

धरानः भानुचोक धरानको मुख्यचोक भएपनि त्यहाँ यातायातका साधनका कारण अस्तव्यस्त बन्दा यातायात व्यवसायी र यात्रुले निकै सास्ती र हैरानी खेप्नुपरेको थियो । व्यवस्थित बसपार्क बन्ने हल्ला पहिलादेखिकै हो । तर काम हुनसकेको थिएन ।
तर अहिले अहिले काम नै अघि बढिसकेको छ । धेरै वर्षपछि धरानमा ‘स्मार्ट बसपार्क’ बनाइने भएको छ । बसपार्क बनाउने योजना २० वर्षअघि नै शुरु भएको थियो । वि.सं. २०५८ सालमा धरान–८ तीनकुनेस्थित तीनकुने सुन्दर बस्तीमा एकीकृत जग्गा विकास आयोजना सञ्चालन गरी जग्गा अधिग्रहण गर्ने काम थालनी भएपनि त्यतिबेला स्थानीयले बाटो निर्माणलगायतका काममै अवरोध गरेका थिए । त्यतिबेला आफ्नो जग्गा बाटोले धेरै काटेको, जग्गा बिग्रिएको आदि कुरामा विवाद थियो । त्यही विवादले बसपार्क निर्माणको कार्य अघि बढ्न सकेको थिएन ।
धरानमा जनप्रतिनिधि आएसँगै पहिलो बैठकबाटै बसपार्क निर्माण गर्न पहल भएको र अहिले कामको पनि थालनी भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राई बताउँछन् । जनप्रतिनिधि आएसँगै उपप्रमुख मण्जु भण्डारी सुवेदीको नेतृत्वमा बसपार्कको द्वन्द्व समाधानका लागि पहल भएको थियो । २०७२ सालमा खगेन्द्रप्रसाद खतिवडालाई उपमहानगरपालिकाले आयोजना प्रमुखको जिम्मेवारी दिइयो ।
धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भई बसपार्कको काम अघि बढिसकेको छ । अहिले ‘साइड क्लियरेन्स’ काम लगभग सकिएको छ । साढे १३ बिगाहा जग्गालाई एकीकृत गरेर आधुनिक बसपार्क बनाउने उपमहानगरको योजना छ । बहुउद्देश्यीय योजनाका साथ काम अघि बढेको आयोजनाको साढे १ बिगाहामा बसपापार्क बन्ने छ भने बसपार्क तीनतलाको बनाइएको आयोजना प्रमुख खतिवडाले जानकारी दिए ।
पहिलो तलामा सवारी साधन पार्किङ गर्ने ठाउँ (जुन जमीनमुनि रहन्छ) दोस्रो तलामा यात्रुहरुका लागि टिकट र यातायातका लागि टर्मिनल (जहाँ यात्रु आउने, टिकट काट्ने आदि) साथै तेस्रो तल्ला व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने (जहाँ व्यवसायिक सटर, पसल सञ्चालनका लागि कोठा, लजको व्यवस्था, कार्यालय, सार्वजनिक शौचालय, प्रहरी, एटिएम कार्डको सुविधा) उनले जानकारी दिए । ठेकेदार कम्पनी ब्राइट बुलले ६ करोड रुपैयाँको लागतमा सडक, ढल निर्माण थालेको उनले जानकारी दिए । यस्तै, उनका अनुसार गीताञ्जली बी कोई जेभीले १९ करोड रुपैयाँको लागतमा टर्मिनल भवनसहितको बसपार्क निर्माण गर्नेछ ।
धरानको भानुचोकस्थित बसपार्क अस्तव्यस्त बनेपछि उपमहानगरपालिकाले यसतर्फ ध्यान दिएको मेयर राई बताउँछन् । ‘यो योजना पहिलाकै हो तर अहिले मात्रै काम थालिएको छ’, उनले भने, ‘अब कसैले पनि किन बसपार्क बनेन भनेर प्रश्न ठाउँ सकिएको छ ।’ उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि जनताले जहिल्यै बसपार्क किन बनेन भनेर जनताले प्रश्न गर्दै आएको र अहिले त्यसको उत्तर दिइसकेको बताइन् । ‘बसपार्क बन्न थालिसकेको छ, त्यसैले अब जनताको प्रश्नको उत्तर दिइसकेका छौं जस्तो लाग्छ ।’ उनले भनिन् ।
आयोजनाका प्रमुख खतिवडाका अनुसार २५ करोड बजेटमध्ये संघीय सरकारले ५० प्रतिशत अर्थात् साढे १२ करोड रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी ५० प्रतिशत साढे अर्थात् १२ करोड रुपैयाँ उपमहानगरले बसपार्क निर्माणमा ३ वर्षमा व्यहोर्नुपर्ने हुन्छ । उनका अनुसार बसपार्कमा पूर्वभर चल्ने ३७ वटा बढी पार्किङ हुनसक्ने बनाइनेछ । त्यहाँ इलेक्ट्रीक सवारी साधनको लागि चार्जिङ स्टेशन पनि राखिने भएको छ ।
टेम्पो व्यवसायी विकास राईले बसपार्क बन्ने सुन्दा खुशी लागेको बताए । उनले भानुचोकमा बस, टेम्पो आदिको चापले थेग्न नसकेको बताउँदै भने, ‘बसपार्क बन्ने सुन्दाचाहिँ खुशी नै लागेको छ हेरौं अब के हुन्छ ।’
यातायात व्यवसायी बिटु गुरुङ पनि बसपार्क सर्दा खुशी छन् । ‘यहाँ अति नै साँघुरो थियो, कहिलेकाहीँ त दुर्घटना समेत हुने गरेको थियो’, उनले भने, ‘बसपार्क बन्नु खुशीको कुरा हो ।’
चालक हेमराज ओझाले भानुचोक साँघुरिँदा अस्तव्यस्त हुँदा कहिल्यै सहज तरिकाले गाडी चलाउन नपाएको बताए । ‘साँघुरो ठाउँ छ, गाडीहरु धेरै अट्दैन, बसपार्क बने भानुचोकको जस्तो भीडभाड हुँदैन थियो, सहजै गाडी चलाउन पाइन्थ्यो ।’ व्यवसायी मेखबहादुर कटुवालले धरानमा आधुनिक बसपार्क बन्नु सबैका लागि खुशकिो कुरा भएको बताए । चालक मणिकुमार राईले साँघुरो बसपार्कबाट कहिले निस्किने भन्ने चिन्ताले आफूहरुलाई सताउने गरेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप