दशैं आयोः धरानमा खसी-बोका किन्नेको भीड

बिचौलिया रमाए, धरानमा अब ज्यूँदो खसी-बोका छामेर र हेरेकै भरमा हुण्डीमुण्डी दाममा किनबेच गर्न नपाइने, एकैदिन २० करोड बढीको कारोबार (३१ तस्वीर र भिडियो रिपोर्ट)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १५

धरानः नेपालीहरुको महान चाड दशैं नजिँकिदै गर्दा धरानको कृषि बजारमा खसी–बोकाको बिक्री पनि बढेको छ । धरान–१३ अमरहाटमा रहेको कृषि बजारमा दशैं नजिकिँदै गएपछि खसी–बोकाको बिक्री वितरण ह्वात्तै बढेको हो ।
कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरानस्थित कृषि उपज बजार स्थलको पशु बजार केही समयअघिबाट खुल्ला गरिएको थियो । संक्रमणको जोखिम कायमै रहेपनि दशैं–तिहार, छैठजस्ता महत्वपूर्ण चाड नजिकिएकोले छलफलबाटै अघिल्लो हप्ताबाट कृषि बजारको पशु बजार खुल्ला गर्ने निर्णय भएको थियो ।
खुल्ला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार बढेको व्यवसायीले बताएका छन् । ‘कारोबार बढिरहेको छ’, धरानस्थित कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘यसपटक त शुक्रबार लाग्नुपर्ने बजार बिहीबारदेखि नै पो लाग्यो, अघिल्लो हप्ताभन्दा यो हप्ता कारोबार पनि बढेको छ ।’ उनका अनुसार अघिल्लो हप्ता १५ सय खसीबोका बिक्री भएको र औसत मूल्य ५ सयदेखि ६ सयसम्म कायम गर्दा १६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो ।
यस्तै, शुक्रबार अर्थात यो हप्ता करिब २ हजार थान खसीबोका बिक्री हुँदा २० करोड बढीको कारोबार हुने देखिएको उनले जानकारी दिए । कोरोना कहरले बजार खस्किएको र किसानले पनि राहत महसुस नगरिरहेको अवस्थामा यस वर्षदेखि केही राहत महसुस गर्न थालेको उनले बताए । ‘यसपटक किसानले आफूले पालेका खसीबोका बेचेर दशैं मनाउन पाएका छन् जस्तो लाग्छ’, उनले भने । अरुबखत मासिक ६ करोड बढीको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित भई कृषि बजारमा ५० प्रतिशत कारोबारमा ह्रास आएको बताए ।
पशु बजारस्थित काउन्टरका मिलन लिम्बूले दशैंको अन्तिम हप्ता अझै बाँकी रहेकोले खसीबोकाको बिक्री बढ्ने बताए । दशैंको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाएलगत्तै कोशी पहाडी जिल्लाबाट खसीबोका बिक्रीका लागि समेत ल्याएका थिए । बजारमा भारतीय व्यापारी, सप्तरी, सिरहाको लहान बजार हुँदै काठमाडौंसम्मका पनि व्यापारी आइपुगेको उनले जानकारी दिए ।
पूर्वी पहाडी जिल्ला, धरान, सुनसरी, मोरङका कृषकहरुले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । दशैंका लागि भनेर पालिएका खसीबोका लिएर आइपुगेका धनकुटाका कृषक पूर्ण सुवेदीले चाडबाड मनाउन नपाइएला कि भन्ने त्रास हुँदाहुँदै बजार खुलेपछि खसीबोका लिएर झरेको बताए । ‘यही खसीबोका बेचेर आफूपनि दशैं मनाउला भन्ने थियो, अब बिक्री अवश्य हुनेछ, दशैं मनाउने सपना पूरा हुन्छ ।’ उनले भने ।
यता व्यापारी पनि दशैंको मुखमा आएर खसीबोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । धरान विष्णुपादुकाका भक्त राईले खसीबोका किन्दै बेच्दै गरेरै जीविको चलाउने गरेको बताउँदै भने, ‘अब खसी बजारमा खसीबोका बेच्न ल्याउन थालियो, अब कारोबार बढ्ला जस्तो छ, कारोबार बढेपछि नाफा त भइहाल्छ नि, यसपटकको दशैं धुमधामसाथ मनाइन्छ ।’
फाइदा बिचौलियालाई
खसीबोकाको कारोबार बढेसँगै अहिले सबैभन्दा बढी फाइदा बिचौलियालाई भएको छ । ‘के कुरा गर्नुहुन्छ, यही तत्कालै किन्ने, फेरि यही तत्कालै बढी दाममा बेच्ने गिरोह पनि सक्रिय छ’, वडाध्यक्ष नेत्रप्रसाद काफ्ले भन्छन्, ‘यसले किसान बढी मारमा छन् ।’
कृषकले सोझै उपभोक्तासँग सम्पर्क गर्न नसक्दा बिचौलियाले बढी मुनाफा कमाउँदा कृषक र उपभोक्ता ठगिएको उनको भनाइ छ । बिचौलियाले कृषकलाई जिउँदो खसी बोका ५ सय देखि ५ सय ५० सम्म प्रतिकेजी ज्यूँदो खसीको मूल्य लगाउने गरेका छन् भने त्यहीँ उनीहरुले ६ साढे ६ सयसम्ममा पनि बिक्री गर्ने गरेका छन् । ‘खासमा धरानमा ल्याएर बेच्दा घाटा भयो, हामी किसान मारमा परयौं’, तेह्रथुमका एक कृषकले भने । उता खरिदकर्ताले घरमा लगेर काटेर मासु बेच्दा १ हजारसम्म लिने गरेका छन् ।
फाइदा बढी भएकै कारण बिचौलियाहरुले आफ्नो पेशा नै यही बनाएका छन् । अझ बजारमा बिक्रीका लागि ल्याइएका खसी बोका तौल गरेर भन्दा पनि अन्दाजको भरमा बिचौलियाले खरिद गर्ने गरेका कारण पनि कृषक बढी ठगिने गरेका छन् । खसी तौल नै नगरी हुण्डीमुण्डीमा खरिद गर्ने गरेको कृषक बताउँछन् । ‘कसै कसैले त पैसा गोजीमा हालिदिएर खसी डोहोरयाएर पनि हिँडिदिन्छन्, झगडा गर्नुपर्ने अवस्था आउँछ, यो त भएन नि ।’ एक कृषकले गुनासो पोखे ।
यसले गर्दा खसीबोकाका मूल्य अचाक्ली बढेको र दशैं मनाउन पनि नपाएको उपभोक्ताको भनाइ छ । धरान–११ का दिलकुमार पौडेलले ३० हजारमा खसी खरिद गरेको बताउँदै भने, ‘दामअनुसारको मासु पुग्छ कि पुग्दैन थाहा छैन तर पनि खरिद गरियो ।’
कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बिचौलिया नियन्त्रणमा कृषि बजार लागेपनि यसको नियन्त्रण गर्न नसकिएको बताउँछन् ।
धरानमा अब ज्युँदो खसी-बोका छामेर र हेरेकै भरमा किन्न नपाइने
धरानमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिने भएको छ । धेरै वर्षदेखि यसको मारमा कृषक पर्दै आएका थिए । उपभोक्ता र किसान दुवै नमर्ने गरेर रेट निर्धारण गरिने वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।
‘किसानहरुको माग के छ भने ‘फिक्स रेट’ तोकिदिएर बजार निर्धारण भइदिए राम्रो हुन्थ्यो भन्ने छ’, उनले भने, ‘अब धरानमा ज्यूँदो खसीबोका छामेर र हेरेकै भरमा यति दिन्छु उति दिन्छु भनेर पैसा फालिदिने दिन गए, अब फिक्स रेट निर्धारण हुन्छ ।’
उनले काँटाहरुको व्यवस्थापन गरेर दशैं, तिहारपछि यो काम अघि बढाइने बताए । ‘अब जोखेर मात्रै खशीबोका किनबेच हुने वातावरण अघि बढाइनेछ’, उनले भने ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप