ताप्लेजुङका भरतमणिले जिते कमेडी च्याम्पियन सिजन २ को उपाधि

पाए कार र नगद २५ लाख


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज ३

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। यस सिजनको उपाधि भिडन्तमा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल थिए ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।

यस बर्षको ‘कमेडी च्याम्पियन’ले गतबर्षको भन्दा कम चर्चा पाएको थियो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको ‘क्यारिकेचर’ले भने ‘शो’को चर्चालाई बढाएको थियो ।

ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई,पूर्वसंचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, नेता राजेन्द्र महत्तो लगायतको ‘क्यारिकेचर’ गरेर दर्शकको मन जितेका छन्  ।

सिक्किमका विक्की अग्रवाल भने कमेडीमा नयाँ शैली/प्रयोगमा माहिर छन् । उनी कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल  भएका छन् । विक्कीले आफ्नो कमेडीमा नयाँ खुराक पस्किरहेका छन् ।विक्कीले कमेडीलाई नयाँ ढंगले परिभाषित गर्ने कोशिश गरेको धेरैको वुझाई छ ।

गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मध्येका अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको छैन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको ‘फ्यूजन’को रुपमा सन्तोषलाई लिन्छन् ।

उपाधि भिडन्तमा रहेका गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ थियो। ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका विक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ थियो । विक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए ।

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् भने उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप