धरानमा अन्ततः करोडौंको सर्दु करिडोर बन्ने

मुख्यमन्त्री आचार्यद्वारा शिलान्यास र उद्घाटन, दुईवर्षभित्र निर्माण सकिहाल्ने, विस्थापितलाई घर बनाउन मात्रै ५ लाख दिने घोषणा (२५ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज २

धरानः अन्ततः धरानमा सर्दु करिडोर बन्ने भएको छ । यसको निर्माण कार्य दुई वर्षभित्र सक्ने लक्ष्यका साथ उद्घाटन भएकै दिनदेखि काम शुरुवात जनाइएको छ ।
शनिबार करिडोरको उद्घाटन र शिलान्यास प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले गरेका छन् । धरान–१७ स्थित धरान–चतरा तर्ने पुलनजिक सो परियोजनाको शिलान्यास भएको हो ।
कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, सांसद उमिता विश्वकर्मा, सावित्री श्रेष्ठ, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, जलस्रोत तथा सिंचाइ विकास कार्यालय सुनसरी डिभिजनका प्रमुख चुडाराज ढकाललगायतको उपस्थितिमा सो करिडोरको शिलान्यास भएको छ ।
सर्दु करिडोर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भइसकेको छ । कोरोनाका कारण अघिल्लो वर्ष नै थालिने भनिएको यो परियोजना शनिबार शिलान्यास भएको हो । २५ करोड ४० लाखको लागत इस्टिमेट, १० करोड ६२ लाख ६१ हजार ४४ रुपैयाँको ठेक्का सम्झौतामा यो परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । परियोजना बने ७ सय घरधुरीका करिब १४०० घरधुरी लाभान्वित हुने जनाइएको छ । कार्यक्रममा उपस्थित मुख्यमन्त्री आचार्यले परियोजनाको उद्घाटन गरिसकेपछि परियोजनाबारे बोर्डमा लेखिएको कुराहरु अंग्रेजीमा भएकाले ‘जनताले नबुझ्ने पो हुन् कि’ भन्दै सभामुखसँग चिन्ता समेत व्यक्त गरेका थिए । तर उनले कार्यक्रमस्थलमा सुकुम्बासीलाई बेघरबार नबनाइने दावी गरे । ‘जनताको उठीबास गराएर हामी केहीपनि गर्दैनौं । तपाईहरुले केही चिन्ता नलिए हुन्छ, कसैलाई बेघरबार बनाइँदैन, यो भन्दा सुरक्षित ठाउँमा, खोला बढ्यो भने कतिखेर लान्छ भन्ने चिन्ता नपरोस्, अलिकति वरपर सारेर घर बनाउने प्रबन्ध हामी गर्छौं ।
कस्तो हुनेछ करिडोर ?
यो बाँध बाँध्ने मात्रै होइन । भविष्यमा असाध्यै आकर्षक, भव्य पर्यटकीयस्थल, भव्य पर्यटकीयस्थलहरु भएको, सडक भएको, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जाने र रमाइलो गर्ने र फर्किनेस्थलको रुपमा विकास गर्ने परिकल्पना अन्तर्गतको शुरुवात भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
प्रदेश सरकार सरकारले बहुवर्षीय योजनाअन्तर्गत ठेक्का स्वीकृत गरेको र सो अनुसार १० करोड ६२ लाखमा प्यासिफिक जलजला कम्पनीसँग गएको २५ गते सम्झौता गरेर निर्माण कार्य थालिएको जलस्रोत तथा सिंचाइ विकास कार्यालय सुनसरी डिभिजनका प्रमुख ढकालले जानकारी दिए । यसमा संघीय सरकार र धरान उपमहानगरपालिकाले साझेदारी गर्नेगरी बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए । परियोजनाको दुईवर्षभित्र सक्नेगरी ठेक्का लगाइएको छ । ८७ मिटर खोलाको चौडाइ हुने गरी डिपिआर स्वीकृत भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार परियोजनाको शिलान्यास भएको स्थानदेखि पाँच किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने, जाली, ढुंगासहितको रिमेटमिनवाल लगाइने, १७ सय मिटरमा कंक्रिटको ढलाइ र ढुंगा भरिने, १६ सय ७५ मिटरमा पक्का आरसिसीको रड राखिने भएको छ । सर्दुखोला गहिरिएर नजाओस् भनेर ठाउँठाउँमा क्रस वाल, ५ किलोमिटरमा ड्रेन, धरान–१७ मा सडक ३० मिटरको हुन्छ भने ११, १३ र १६ मा अलि फरक पर्न आउने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ‘गेम चेन्जर प्रोजेक्ट’ रहेको बताउँदै यहाँ भव्य करिडोर बन्ने बताए । उनले अन्य खहरेलाई नियन्त्रण गर्दै सेउतीमा पनि करिडोरको निर्माण गरिने जानकारी दिए । उनले सुकुम्बासीले चिन्ता गर्नुनपर्ने पनि बताए । ‘सरकारले जमीनको सट्टा सुरक्षित ठाउँमा जमीन उपलब्ध गराउने र घर निर्माणका लागि प्रति घर ५ लाख सहयोग गर्नेछ ।’ उनले भने ।
उनले धरानमा तीन महिनाभित्र खेलग्राम निर्माणमा ध्यान दिने बताए । ‘धरानमा भव्यरुपमा खेल खेल्न सक्ने खेलग्रामको निर्माणमा पनि हामी ध्यान दिन्छौं’, उनले भने । उनले धरान–भेडेटारमा केवलकारको कन्सेप्टलाई मूर्तरुप दिन पनि लागिपरेको बताए ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले यहाँका सुकुम्बासी विस्थापित हुने पो हो कि भन्ने चिन्ता नलिन आग्रह गरे । उनले सर्दुका जनतालाई बचाउँदै बायो मेडिकल इन्जिनियरिङद्वारा पहिरो रोकथाम गर्न पनि लाग्ने बताए ।
कार्यक्रममा बोल्दै उपमेयर मञ्जु भण्डारी सुवेदीले सुकुम्बासीका जनतालाई जबर्जस्ती नउठाउने बताइन् । ‘हाम्रो योजना यहाँका जनतालाई जबर्जस्ती उठाउने भन्ने छैन नै’, उनले थपिन्, ‘उचित व्यवस्थापनका साथ उपमहानगरपालिका लाग्छ ।’ उनले स्थानीयसँगको सहकार्यमै काम गरिरहने बताइन् । ‘विस्थापितलाई स्थापित गर्ने जिम्मा हाम्रो भयो । उनले भनिन् ।
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले यो आयोजना कसैलाई विस्थापित बनाउने नभई स्थापित गर्ने खालको भएको धारणा राखे । ‘यो आयोजना विस्थापित होइन, स्थापित गर्ने हो’, उनले भने, ‘यति कुरा बुझिदिन विनम्र आग्रह गर्दछु ।’
बहुवर्षे आयोजना सर्दु करिडोरको जेठ ८ गते बोलपत्र आह्वान भएको थियो । मापदण्डअनुसार निर्माण हुँदा करिब १८ सयको हाराहारीमा सुकुम्बासी विस्थापित हुने डिभिजन प्रमुख ढकाल बताउँछन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप