धरानमा स्कुल नखोल्ने निर्णयमा पुनर्विचार गर्न माग

उपमेयरलाई बुझाइयो ध्यानाकर्षणपत्र, प्याब्सन, एनप्याब्सनका पदाधिकारीको प्रतिक्रियाः ‘ल्याङल्याङ’ र ल्याङगरिङ बढी भोः प्याब्सन


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ असोज १

धरानः धरानमा असोज ४ गतेदेखि स्कुल लगाउने तम्तयारी गर्दै धरान उपमहानगरपालिकाले निर्णयसमेत गर्न लागेको थियो । तर भदौ ३१ गते निर्णय गरिदियो– स्कुल चाडबाडपछि मात्रै लगाउने ।
यसपछि सामाजिक सञ्जालमा अहिले तर्क वितर्क भइरहेको छ । धरानका लक्ष्मण भट्टराईले फेसबुकमा पोष्टयाए– धरान नगर सरकारको स्वागतयोग्य निर्णय । दशैं–तिहारपछि मात्र अवस्था हेरी स्कुलहरु खोल्ने निर्णय । नानी बाबुहरुको चिन्ता बुबाआमालाई हुन्छ न कि अन्यलाई ।
धरानका किशोर भण्डारीको तर्क छ– दशैं–तिहारपछिचाहिँ विद्यालय खोल्ने अहिले नखोल्ने निर्णय भयो रे । कोरोनाको ‘एग्रिमेन्ट’ सकिने हो र दशैं–तिहारपछि ? सन्दर्भः आफै बुझ्न अनुरोध । पत्रकार तिर्थ कार्कीले लेखे– धरानको अभिभावक सङ्घ स्कुलमा कोरोना देखेर दशैंपछि स्कुल लगाउन दबाव दिने अनि आफ्ना छोराछोरीलाई चाहिँ पार्क र सुपरमार्केटमा टिकटक बनाउन पठाउने हो ? होइन भने सुपरमार्केट, पार्क र बजार पनि बन्द गराउन नगरपालिकालाई दबाव दिने हिम्मत गर्नुहोला ।
धरानको सुनाखरी एकेडेमीका डाइरेक्टर प्रदीप राईको पोष्ट थियो– यहाँका प्रायः सबै स्कुलहरू अभिभावकसँग सल्लाह गरेरै स्कुल खोल्न लागेको भन्थे अनि यो नगरपालिकामा स्कुल खोल्नु हुँदैन भनेर दबाव दिने अभिभावक चाहिँ कहाँका रहेछन् । जस्को कुरा नगरपालिकाले पनि खुरुक्क मानिहाल्दोरहेछ । यस्तो शक्ति कहाँबाट ल्याउने होला ?
शिक्षक एके भाटी प्रश्न गर्दै लेख्छन्– के निजी विद्यालयका शिक्षक का बालबच्चा छैन ? के हामी निजी शिक्षक यो देश को जनता होइन ? किन कोरोनाको बहाना बनाएर हामी निजी शिक्षकको परीक्षा लिन्छौं ? प्रश्न छ, अभिभावकसँग र उपनगरपालिकालाई मेरो ? नक्कली अभिभावक संघ मुर्दावाद ।
धरानको सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले लेख्छन्- एक आपसमा तुच्छ आरोपप्रत्यारोप लगाउनुभन्दा पनि अब सधैंको लागि विद्यालय बन्द गरेर पटमूर्खहरू उत्पादन गर्ने मुर्खालय खोलौं । वर्षभित्रै देशमा आमूल परिवर्तन आउँछ ।
यी माथिका लेखाइ उपमहानगरपालिकाले चाडबाड अर्थात् दशैं–तिहारपछि मात्रै विद्यालय खोल्ने निर्णयपछि आएका टिकाटिप्पणी हुन् । अहिले टिकाटिप्पणी मात्रै होइन विद्यालय सञ्चालकहरुले यस निर्णयप्रति असहमति जनाएका छन् ।
बुझाइयो ध्यानाकर्षणपत्र
शुक्रबार धरानमा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) साथै हिसानको धरानमा संयुक्त भेला थियो । भेलाले निर्णयमा बढी ‘ल्याङल्याङ’ र ‘ल्याङ्गरिङ’ भएको भन्दै उपमहानगरपालिकाको निर्णयलाई पुनर्विचार गर्न माग गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकालाई स्कुल नखोल्ने निर्णयबारे पुनर्विचार गरियोस् भनी ध्यानाकर्षणपत्र बुझाइएको एनप्याब्सन धरान नगरका अध्यक्ष भगत लिम्बूले जानकारी दिए । उनले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई भेटेर ध्यानाकर्षणपत्र दिइएको जानकारी दिए । उपमहानगरपालिकाकी उपमेयर भण्डारीले सकारात्मक प्रतिक्रिया दिएको उनले जानकारी दिए ।
‘खासमा मेरो स्कुलसँग सम्बन्धित सबै अभिभावकले स्कुल खोल्न दबाव दिइरहनुभएको छ, यस्तै, अन्य स्कुलका पनि कुरा सुन्छु, अभिभावकहरुले नै दबाव दिइरहनु भएको छ तर कसरी यस्तो निर्णय हुनपुग्यो, त्यही भएर पुनर्विचारका लागि उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाइएको हो ।’
भेलामा उपमहानगरपालिकाले गरेको निर्णयले आफूहरु अचम्मित बनेको नजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नगर अध्यक्ष राजकुमार लिम्बूले भने । ‘उपमहानगरपालिकाले मौखिकरुपमा अब विद्यालय पनि सञ्चालन गर्नुपर्छ तयारी गर्नुहोस् भनेको थियो, हामी तयारी अवस्थामै थियौं, अभिभावकहरुले समेत विद्यालय सञ्चालन गरिनुपर्छ भनिरहेको समयमा यस्तो निर्णय आउँदा हामी आश्चार्यमा परेका छौं’, निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नगर अध्यक्ष राजकुमार लिम्बूले भने, ‘त्यही भएर हामी यस्तो निर्णय मान्दैनौं भनेर लागिरहेका छौं ।’
यसअघि उपमहानगरपालिकालाई बुझाइएको सुझावपत्र र शुक्रबार बुझाइएको ध्यानाकर्षणपत्रमा एक बेन्चमा दुईजनासम्म विद्यार्थी राखेर, स्वास्थ्यको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिनुपर्ने भनिएको छ । ‘हामीले हेलचेक्रयाइँ गर्न खोजेकै होइन’, उनले भने, ‘दुईजनासम्म विद्यार्थी राखेर, धेरै विद्यार्थी हुने विद्यालयले सिफ्टवाइज पनि चलाउन सक्छौं ।’ उनले घरमा बालबालिका रहँदा आँखा बिग्रिसके, चाँडो स्कुल खोल्नुपर्छ भनेर दबाव दिएकैले आफूहरुले विद्यालय सञ्चालन हुनुपर्छ भनेर माग राख्दै आएको बताए ।
स्कुलमा मात्रै कोरोना सर्छ भनेर ‘डिक्लियर’ नभई निर्णय आउनु गलत रहेको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन बताउँछन् । ‘सबै खुलिसक्यो, हामीले आफ्नो मर्जीले स्कुल खोल्न लागेका होइनौं’, उनले भने, ‘अभिभावककै दबावले स्कुल खोल्न लागेका हौं ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप