सन्दर्भः आज राष्ट्रिय बाल दिवस

महामारीले खोसेको बाल अधिकार


  • अम्विका थापा
  • २०७८ भदौ २९

आजका कोपिला भोलिका फुल हुन् । बालबालिका माटोको भाडालाई हामी जस्तो आकृति दिन्छौं, त्यो त्यस्तै बन्दछ । त्यसरी नै बालबालिकाहलाई हामी जस्तो बनाउन खोज्दछौं त्यस्तै बन्छन् ।
सामाजिक परिवेश र राजनैतिक अबस्थाले पनि बालबालिकालाइ कता तिर धकेल्ने भन्नै निर्णय गर्दछ । नेपालमा बाल दिवस मनाउन २०३१ भदौ ४ देखि थालिएको हो तर गणतन्त्र स्थापनासँगै दिन पनि फेरियो । अचेल भदौ २९ मा यो दिवस मनाउने गरिन्छ ।
२०४७ भदौ २९ मै नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरेको थियो । बालअधिकार का सम्बन्धमा राज्य, नागरिक संघसंगठनले बालबालिकाको क्षेत्रका कार्यलाई निरन्तरता दिने सम्बन्धमा बालक्लबहरुको निर्माण र अभिमुखीकरण, बालश्रम शोषण, बालविवाह, बालबालिका माथि हुने हिंसा र बालबालिकालाई दिइने सजाय विरुद्ध तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्नेलगायतका अभियानहरु पनि विगतका दिनहरुमा सञ्चालन गरिँदै नआएका हैनन ।
बालमैत्री स्थानीय शासन प्रर्वद्धन हुँदै गइरहेको छ । प्रदेश सरकार र स्थानीय तहले बालबालिका सम्बन्धी ऐन निति नियमहरु बनाउन थालेका छन । तीनै तहका सरकारको नीति कार्यक्रम र बजेटमा बालबालिकाहरुको विषयहरुले महत्व पाउन थालेका छन् । नेपालको संविधान २०७२ ले पनि बालबालिकाका अधिकारहरुलाइ विशेष महत्व दिएको छ ।
यस वर्ष कोभिड १९ को महामारीले बालबालिकाको बाल मस्तिस्कमा ठूलो चोट पुरयाएको छ । विगत ८ महिनादेखि बालबालिकाहरु विद्यालयको ढोकामा पुग्न सकेका छैनन्, आफ्ना साथीभाइ शिक्षकहरुको नजिक पुग्न सकेको अवस्था छैन । इन्टरनेटको पहुँच र शिक्षित समुदायका बालबालिकाहरु बिदाको सदुपयोग गरिरहेका होलान् । उनीहरु विद्यालयले सञ्चालन गरेका अनलाइन क्लासमा सामेल होलान्, विश्वलाई नियाल्दै होलाना असल बानी व्यहोरा घरका कामहरु आम्दानी कसरी हुँदो रहेछ भन्नै कुरा सिक्दै छन् तर अशिक्षित समुदाय जहाँ बिहान बेलुका काम गरेर दिउँसो विद्यालयमा हाजिर हुने बालबालिका छन् ती बालबालिकाहरु आज इन्टरनेटसम्मको पहुँचमा छैनन् ।
आफ्ना दिनचर्या अनलाइन क्लास मार्फत् होइन उनीहरु आफ्ना समुदायका संस्कारहरु सिक्दैछन् । हिजो दिनभरी आमाबाबाले मजदुरी गरेर पढाइ लेखाइ र घरचलाएका देखेका थिए । आज बाबाआमाको मजदुरी टुटेको छ दिनभर घरमा बस्दा अनि आम्दानी नहुँदा घर खर्च टार्न हम्य परेको छ ।
यसरी आम्दानी नहुँदा दिनहुँ घर परिवारमा कलह समेत सिर्जना भएको छ । आज यस्ता अभावहरु र कलहसँग बालबालिकाहरु पनि साथि बनेर जुध्दैछन् । भविष्यका कर्णदार र वर्तमानका हिस्सेदार भनिने यी बालबालिकाको भविष्य महामारीले चुँडेको छ । अहिले महामारीले बालबालिकाको अधिकार खोसेको छ । खुल्लारुपमा पढ्न त नपाएका हुन् नै साथै नाच्न, गाउन अन्य अतिरिक्त क्रियाकलापमार्फत् आफ्ना प्रतिभा प्रष्फुटन गर्न पाएका छैनन् । अब बेलेमा ध्यान दिन सकिएन भने भावी दिनहरुमा राज्यले ठूलो चुनौती खेप्नु पर्दछ । यस वर्ष मनाइने बाल दिवस अरु वर्षको भन्दा भिन्न छ ।
भूकम्पको प्रभावदेखि आज कोभिड–१९ को महामारीसम्म आइपुग्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, कम उमेरमा मागेर, भागेर वा सामाजिक सञ्जालबाट सिर्जित हुने बालविवाह, श्रमका क्षेत्रमा लागेका बालबालिका, वैदेशिक रोजगारमा गएका अभिभावकका बालबालिकाको अवस्था, मनोरञ्जनका क्षेत्रमा कामगर्ने बालबालिका, विपद र द्वन्द्वका कारण बाबु आमा गुमाएका बालबालिका, अपाङ्गता भएर शिक्षा, स्वास्थ्यबाट वञ्चित, जेलमा अभिभावक सहित रहेका बालबालिका, यात्रामा रहेका बालबालिका, हाम्रो संस्कार र सस्कृति जोगाउने नाममा छाउपडी, महिनावारीबाट पीडित बालबालिका, बालगृह र सडकमा रहेका बालबालिकाहरुलाई राज्य, अभिभावक, विद्यालयले समयमा ध्यान नपुरयाएका कारण आत्म हत्या गर्न बाध्य बालबालिकाको संरक्षणमा हामीले कहाँनेर सुधार गरी लैजाने हो आजको यस महामारीको विषम परिस्थितिमा ध्यान दिनु अत्यन्तै जरुरी छ ।
बालबालिका र नागरिको अभिभावक राज्य हो, न्याय दिने दायित्व राज्यको हो भने अधिकार माग्ने नागिकको । विगतका दिनमा भएका प्रयासहरु उपलव्धिहरुलाइ समीक्षा गर्दै हामीले प्राप्त गरेको उपलब्धि, चुनौती, कमजोरीहरू अबको बालअधिकार संरक्षण प्रवद्र्धनका लागि गर्ने कार्यको विषयमा यथार्थगत रुपमा समीक्षा गरी योजनाबद्ध ढंगबाट संघीय, प्रदेश र स्थानीय सरकार र नागरिक संघसंगठन, बालक्लब, अभिभावक, शिक्षक, बुद्धिजीवी बालक्लबका पूर्व सदस्य, आमा समूह, युवाक्लब, किशोरी सञ्जालहरू सबैले एक आपसमा हातमा हात र साथमा साथ दिई अघि बढ्न सकियो भने आजको यस कोभिड–१९ को महामारीले बालमनस्थितिमा ल्याउने घटनाहरुबाट हामी उम्कन सक्दछौ । ‘विपत्तमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको बाल दिवस २०७८ को शुभकामना ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप