सन्दर्भः राष्ट्रिय बाल दिवस

अनलाइन कक्षा र विद्यार्थीका आँखा

धेरै समय स्क्रिन चलाउँदा आँखामा कस्तो प्रभाव पार्छ ?


  • डा. सिर्जना अधिकारी
  • २०७८ भदौ २९

बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु हुन् । जसरी बालबालिकालाई हुर्काउन संयमता अपनाउनुपर्छ, बालबालिकाको आँखालाई पनि ख्याल गरिनुपर्छ ।
पछिल्लो समय बालबालिकाको आँखा सानै उमेरबाट डिजिटल स्क्रिनसँग परिचित छन् । कोरोना भाइरस महामारीले उनीहरुलाई शिक्षा आर्जनको लागि अनिवार्य स्क्रिन प्रयोगकर्ता बनाएको छ । लामो समय स्क्रिन चलाउँदा बालबालिकाको आँखा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ होला ? बालबालिकाको आँखा जोगाउन अभिभावक र विद्यालयको भूमिका के हुन्छ ? आदिबारे हामीले सोचेका छौं ?
बालबालिकालाई पछिल्लो समय अनलाइन कक्षा पढाइन्छ, पढाइको लागि बालबालिका अनिवार्य ४ देखि ५ घण्टा स्क्रिनमा हेरिरहेका हुन्छन् । आँखा स्वास्थ्यको दृष्टिकोणले पक्कै पनि राम्रो वस्तु होइन । तर महामारीले हामीलाई बाध्य बनाइदिएको छ । यसको विकल्प पनि अहिले छैन । किनकी कक्षा अगाडि बढाउनैपर्छ । त्यसैले हामीले हाम्रो आँखालाई हानी नगर्ने गरी कसरी उपयोग गर्न सकिन्छ भनेर अभिभावक, शिक्षक र बालबालिका आफैले पनि थाहा पाउनुपर्छ ।
एउटा गाइडलाइन बनाइएको छ । ‘अमेरिकन एशोसियन अफ पिडियाट्रिक एप्थाल्मोलोजी’ ले पहिला बनाएको गाइड लाइनहरुलाई महामारीपछि संशोधन गरेको छ । किनकी कोरोना भाइरस महामारी अब विश्वव्यापी समस्याका रुपमा देखा परेको छ ।
यस अनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई स्क्रिनसँग परिचित नै गराउन नहुने भनिएको छ । ५ वर्षसम्मका बालबालिकालाई स्क्रिनसँग परिचय गराउनुपर्छ । अनलाइन कक्षा पढ्ने बालबालिकालाई धेरैमा दिनको २ देखि ४ घण्टा मात्र स्क्रिनमा पढाउनु पर्छ । यसमा ६ देखि ९ वर्षसम्मका बालबालिका पर्छन् । त्यो भन्दा माथि उमेरका बालबालिकाको लागि ४ घण्टा सम्म स्क्रिन हेर्नु ठीक हो । कक्षा १०, १२ पढ्ने बालबालिका र किशोर किशोरी छन् भने उनीहरुको लागि ५ घण्टा स्क्रिन समय ठीक हो भनेर सुझाव दिइन्छ ।
देखाउनै परयो भने दिनमा ४५ मिनेटदेखि १ घण्टा भन्दा धेरै स्क्रिन देखाउनु हुँदैन । स्क्रिनले आँखामा विभिन्न प्रकारले असर गरिराखेको हुन्छ । अहिले त अनलाइन कक्षा निश्चित कोठाभित्र मात्र पढिन्छ । त्यसले गर्दा आँखामात्र हैन बालकालिकाको मानसिक स्वास्थ्यमा पनि असर पारिरहको छ ।
धेरै समयसम्म स्क्रिनमा हेरिरहँदा यसले हाम्रो आँखाको झिम्काउने संख्यालाई कम गरिदिन्छ, त्यसले आँखालाई सुख्खा बनाइदिन्छ । यसपछि आँखा चिलाउने, पोल्ने, रातो हुने हुन्छ। बन्द कोठामा लामो समय बसिराख्दा टाउँको धेरै दुख्छ ।
अर्को समस्या भनेको नजिकबाट हेरेर काम गर्नुपर्ने, मोबाइल तथा टेलिभिजन हेर्ने केटाकेटीको आँखाको पावर बढ्दै जान्छ। पहिला कुनै पावर चश्मा लगाएको छैन भने पनि माइनस (–) पावर बढ्दै जान्छ । पहिला नै चश्मा लगाइएको छ भने त्यो झन् बढ्दै बढ्दै जान्छ ।
आँखामा पावर बढेको छ भने घटेर जाने भन्ने हुँदैन । बालबालिकाको उमेर बढ्दै जाँदा माइनस पावरको चश्मा बढ्दै जान्छ । धेरै अध्ययनले के देखाएको छ भने जो बालबालिका घाममा खेल्छन्, बाहिर चौरमा धेरै समय बिताउँछन् उनीहरुको आँखाको पावर धेरै बढेको हुँदैन । अनि जो घरको कोठामा एक सुरले स्क्रिन हेरिरहेका हुन्छन्, उनीहरुको आँखाको पावरलाई बढाउँछ ।
यसमा सबैभन्दा ठूलो भूमिका अभिभावक र शिक्षकहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । अहिले विद्यालय शिक्षाको लागि स्क्रिन अनिवार्य भएकोले विद्यार्थीहरुलाई सकेसम्म कम स्क्रिन समयमा कम्प्युटर अथवा डिजिटल डिभाइसमा काम गर्नुपर्ने होमवर्क सक्काउनु पर्छ। कम्प्युटरमा दिने होमवर्क कम गर्ने ।
अभिभावकले पनि अनलाइन कक्षा बाहेक अरु समयमा मोबाइल भन्दा टाढा राख्नुपर्छ । अनलाइन कक्षा नहुने दिन केही समय चलाउन दिनु ठीक हो तर अनलाइन कक्षा भएको दिन बच्चाको आँखालाई भार परिसकेको हुन्छ ।
बेलाबेलामा ब्रेक लिनुपर्छ । हामी २०–२०–२० भन्छौँ । यो बालबालिकादेखि वृद्ध सबैमा लागु हुन्छ । यसको अर्थ २० मिनेट स्क्रिनमा बसेपछि २० सेकेन्ड आँखालाई चिम्म गर्ने अथवा आँखाले २० मिटर टाढा हेर्ने गर्नुपर्छ यसले आँखालाई आराम दिलाउँछ । नजिकबाट हेरेर काम गरिरहेको आँखाले जब टाढा हेर्छ, तब आँखाले फोकस गर्दैन। आँखाले फोकस नगरेको बेलामा आराम पाउँछ ।
अनि बालबालिकालाई स्क्रिनबाट टाढा राख्न घर बाहिर नै जानुपर्छ भन्ने होइन । घरको बार्दली, छत हुन्छ । त्यहाँ लैजाने अनि केही काम गर्न लगाउने। जसरी संभव हुन्छ त्यसरी स्क्रिनबाट टाढा लैजाने गर्नुपर्छ ।
शिक्षक तथा विद्यालयले कसरी करिकुलम बनाउने त्यो मैले भन्दा पनि विशेषज्ञले भन्ने कुरा हो। तर विद्यालयले परिवारका सदस्यहरुसँग कुराकानी गरेर, छलफल गरेर केही जान्ने पत्ता लगाउने काम दिन जरुरी छ । स्क्रिनको समयलाई कम गर्ने खालको क्रियाकलापहरु दिनुपर्छ। स्क्रिनमा नै दिए पनि सातामा एक पल्ट मात्रै दिनुपर्छ ।
धेरै अभिभावकहरुले मेरो बच्चाले साग खाइरहेको छ, कसरी आँखामा चश्मा लगाउन परयो भन्नुहुन्छ । आँखाको पावरमा समस्या आउनु भनेको आँखाको आकार र प्रकारमा पनि निर्धारित हुन्छ ।
गाँजर, सागपात, आँपजस्ता पहेलो फलफूल र हरियो सागपात खाँदा आँखामा रतन्धो हुँदैन । नेपालमा पछिल्लो वर्ष ‘भिटामिन ए’ कार्यक्रम प्रभावकारी भएकोकारण अहिले रतन्धो धेरै कम भईसकेको छ । तर यो खानेकुरा आँखाको स्वास्थ्यका साथसाथै शरीरलाई नै स्वस्थ बनाउँछ तर गाँजर नै खाएर आँखामा चश्मा लगाउन पर्दैन भन्ने हुँदैन ।
कम्तीमा ३० देखि ४० सेन्टिमिटरको दूरी राखेको हुनुपर्छ । म व्यक्तिगत रुपमा अनलाइन कक्षाका लागि सम्भव भएसम्म मोबाइल भन्दा पनि डेक्सटप अथवा ल्यापटप प्रयोग गर्नु राम्रो हुन्छ भन्छु । मोबाइलमा अक्षर धेरै सानो हुन्छ, त्यसलाई हेर्न धेरै बल गर्नुपर्ने हुन्छ ।
के गर्दा हुन्छ ?
– स्क्रिन टाइमलाई कसरी कम गर्न सकिन्छ भन्नेमा जोड दिनुपर्छ,
– बच्चालाई दिनभर स्क्रिनमा पढाउँदा बिच बिचमा ब्रेक दिने,
– बच्चालाई प्रोजेक्ट वर्कहरु कम्प्यूटर बेसमा भन्दा पनि बाहिरको वातावरण सम्बन्धित गर्न लगाउने,
– स्क्रिनमा बसेर गर्नुपर्ने होमवर्क कम दिने,
– अभिभावकहरुले बच्चाहरुको आँखा बेला बेलामा जाँच गराइराख्नुपर्छ, किनकी थाहै नपाई आँखाको पावर धेरै पुगिसक्छ, अर्को बच्चाको आँखा अल्छि भईसकेको हुनुपर्छ। उपचारमा ढिलो हुन सक्छ। त्यसैले मिलेको समयमा नजिकको आँखा केन्द्रमा गएर आँखाको जाँच गराउनुपर्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप