‘हत्या गरिसकेपछि चिर्पट जलाइसकेका रहेछन्’

प्रहरीद्वारा घटना घट्नुको थप कारणसहितको फेहरिस्त सार्वजनिक


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २७

धरानः संखुवासभाको मादी नगरपालिका–१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संग्लग्न स्थानीय २५ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् ।
गत २१ गते सोमबार बिहान करिब साढे ६ बजेको समयमा कार्की परिवारको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका कार्की वैदेशिक रोजगारीको सिलसिलामा पटक पटक विदेश गएतापनि स्वास्थ्यमा समस्या आई घर फर्की बसिरहेको र आफू विदेशमा रहँदा केही कमाउन नसकेकोप्रति हिनताबोध भई समय समयमा विक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोश आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
अभियुक्तका काका समेत रहेका मृतक तेजबहादुर कार्कीले समय समयमा सम्झाइबुझाई गर्दै आइरहेकोमा घटना भएको दिन बिहान मृतक तेजबहादुर कार्की अभियुक्तको घरमा खेताला भन्न गई फर्कने क्रममा अभियुक्तले विगतमा आफूलाई सम्झाइबुझाइ गरेको शब्दहरुलाई गालीगलौजको रुपमा लिई तत्काल आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडि प्रहार गरी हत्या गरेको प्रहरी जनाएको छ ।

आफूलाई चिर्पटले प्रहार भए पश्चात हारगुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेकोमा निजहरुलाई समेत प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
घर नजिक बाटोको डिलमा रहेका दुईजना नाबालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरी घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोक्काई हत्या गरी घटनामा प्रयोग भएको दाउराको चिर्पट घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुल्न आएको छ । ‘सबैको हत्या गरेपछि लोकबहादुर घरमा गएर घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेर जलाएको पाइएको प्रहरीले जनाएको छ । प्रमाण नष्ट गर्ने उद्देश्यले उनले चिर्पट नष्ट गरेको प्रहरीले जनाएको छ ।
शुरुमा तेजबहादुरको हत्या गरेका लोकबहादुरले तेजबहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
कार्कीले भाद्र २१ गते छिमेकी ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय वीपीन भनिने दीपेन कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए । उनलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुखसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप