धरान कांग्रेसमा श्याम पोख्रेलको उम्मेदवारी

पोख्रेलको टिमबाट जनप्रतिनिधिसहितको उम्मेदवारी, हामी साग, फर्सी, काँक्राजस्ता ताजा र फ्रेस छौं, हामीलाई बफ्याइरहनुपर्दैन, फ्रिजमा हालिराख्नुपर्दैन, माहौल हाम्रोतिर छः पोख्रेल (१४ तस्वीर र भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २६

धरानः धरानमा नेपाली कांग्रेसको सभापतिमा श्याम पोख्रेलको टिमले उम्मेद्वारी घोषणा गरेको छ ।
पोख्रेलको टिमको उपाध्यक्षमा वडा नं. १८ का वडाध्यक्ष प्रविन राई (नगेन्द्र), वडा नं. ५ का वडाध्यक्ष सन्तोष लिम्बू, सचिवमा जितेन्द्र राई, हिमाल श्रेष्ठ, सहसचिवमा शिला बज्राचार्य, युनेष राना मगर उम्मेद्वार रहेका छन् । यस्तै, निर्वाचित कमिटीले मनोनित गर्ने कोषाध्यक्षको रूपमा पञ्चकला राईलाई अघि सारिएको छ । यस्तै, निर्वाचित कमिटीले मनोनित गर्ने कोषाध्यक्षमा पञ्चकला राईलाई छानिएको छ ।
कांग्रेसका सचिवसमेत रहेका पोख्रेलले आफूहरु ताजा र फ्रेस उम्मेद्वार रहेको बताए । ‘हामी फ्रेस र ताजा उम्मेदवारहरु हौं, कि हामी हिजो बासी भएर फ्रिजमा राखेको सामान तावामा तताएर ताजा बनाएर ल्याएका होइनौं हामी छप्प काटेको, तात्तातो र फ्रेस तत्कालै टिपेको, सागको र फर्सीको मुन्टा र काँक्राजस्ता उम्मेद्वार हौं । कि ओइलाइसकेको र फेरिचाहिँ फ्रिजबाट निकालेको फेरि सुकाएर र तताएर आलोजस्तो देखिने खाँदाखेरी गन्हाउने उम्मेदवार होइनौं हामी ।’ उनले थपे, ‘त्यसैले धरानमा उठेका ७ जना उम्मेद्वार ताजा र फ्रेस छौं, हामीलाई बफ्याइरहनुपर्दैन, फ्रिजमा हालिराख्नुपर्दैन, सुकाउनु र तताएर झुक्याइरहनुपर्दैन ।’
यसो भनिरहँदै धेरै नेता, कार्यकर्तामा हाँसोको फोहोरा पनि छुटेको थियो । उनले वडा, नगर, जिल्ला, तमाम भातृ संगठनहरुले यो नेतृत्व योग्य छ भनेर छानेकोले र धरानको माहौल पनि आफूतिर नै रहेको बताए । ‘अहिले कांग्रेसको माहौल नै हामीतिर छ, वडादेखि जिल्ला तहका नेतृत्वले हामीलाई नै रुचाएको छ, त्यसैले हामीले जित्छौं ।’ उनले भने ।
कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले कांग्रेसलाई अघि बढाउन संस्थापन पक्ष जहिल्यै दर्बिलो रहेको धारणा राखे । कार्यक्रममा बोल्दै जिल्ला सचिव सुजेन्द्र तामाङले कांग्रेसमा छलकपट नभएको टिम आएकोले जिताउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै मेयर तिलक राईले संस्थापनइतरले नै अहिलेसम्म धरानमा जित्दै आएको र सत्तापक्ष पनि संस्थापनइतरकै रहेकोले जिताउन आग्रह गरे । ‘कांग्रेस पार्टी बनाउने र धरान जिताउने पनि संस्थापनइतरकै हो, त्यसैले यतातिर पनि ध्यान दिन कांग्रेसजनमा आग्रह गर्दछु ।’

‘मलाई धरानको १२ वडाबाटै लखेट्न खोजियो’
सभापतिमा उम्मेदवारी घोषणा गरेका श्याम पोख्रेलले आफूलाई १२ नं. वडाबाटै लखेट्न खोजिएको बताएका छन् ।
उनले उम्मेद्वारी घोषणा कार्यक्रममा क्षेत्रीय प्रतिनिधिको चुनावमा आफूलाई त्यहाँबाटै लखेट्न खोजिएको बताए । ‘म पार्टीका नेताहरुकै अगाडि बोलिरहेको छु, २१ गतेको क्षेत्रीय प्रतिनिधिको चुनावमा मलाई १२ नं. वडाबाट जुन तरिकाले लखेट्न खोजियो, त्यो पीडा म जीवन्त पीडाको महसुस गरिरहनेछु ।’ उनले थपे, ‘त्यो पीडा सारा नेपाली कांग्रेसले महसुस गरिरहेको छ र बल्लतल्ल विजयी भएँ ।’ तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप