आदिवासी जनजाति र जनगणना


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ भदौ २६

सरसर्ती रुपमा विसं २०४८, २०५८ र २०६८ मा भएको फरक(फरक तीनवटा जनगणनाबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ । हुन त मसिनो गरी केलाएर सबै कोणबाट लेख्दा धेरै लामो हुने भएकोले उल्लेखित तीनवटै जनगणनामा नेपालका विभिन्न आदिवासी जनजातिको बढ्दै गएको जातिगत संख्या एवम् ती जातिहरुको घट्दै गएको वा घटेको जनसंख्याका बारेमा मात्रै लेख्ने जमर्को गरिएको छ । त्यसैले सर्वप्रथम विसं २०४८ को राष्ट्रिय जनगणनामा उल्लेख भएका नेपालका आदिवासी जनजाति र ती जातिहरुको जनसंख्यालाई उल्लेख गरिएको छ ।
(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार ७३१, भोटे १२ हजार ४६३, शेर्पा १ लाख १० हजार ३५८ । विसं २०४८ को जनगणनामा हिमाली आदिवासी जनजातिको संख्या तीन र जम्मा जनसंख्याः १ लाख ३६ हजार ५५३ रहेको थियो ।
(ख) पहाडी आदिवासी जनजातिः गुरुङ ४ लाख ४९ हजार १८९, चेपाङ ३६ हजार ६५६, जिरेल ४ हजार ८८९, तामाङ १० लाख १८ हजार २५२, थामी १९ हजार १०३, नेवार १० लाख ४१ हजार ९०, मगर १३ लाख ३९ हजार ३०८, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी, पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) ५ लाख २५ हजार ५५१, लिम्बू २ लाख ९७ हजार १८६, लाप्चा ४ हजार ८२६, सुनुवार ४० हजार ९३४, अन्य १ लाख ८४ हजार २१६ । पहाडी आदिवासी जनजातिको जातिगत संख्या ११ रहेको थियो भने जम्मा जनसंख्याः ४७ लाख ७६ हजार ९९३ रहेको थियो ।
(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ७६ हजार ६३५, दनुवार ५० हजार ७५४, दरै १० हजार ७५९, बोटे ६ हजार ७१८, माझी ५५ हजार ५०, राउटे २ हजार ८७८, राजी ३ हजार २७४ गरी भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या ७ रहेको थियो भने जम्मा जनसंख्याः २ लाख ६ हजार ६८ रहेको थियो ।
(घ) मधेसी आदिवासी जनजातिः गनगाई २२५२ …, थारु ११ लाख ९४हजार २२४, धिमाल १६ हजार ७८१, राजवंशी ८ हजार २१७ अन्यः १ लाख २९ हजार ७७७ । मधेसी आदिवासी जनजातिको जातिगत संख्या ४ र अन्य … गरी जम्मा जनसंख्याः १ लाख २९ हजार ७७७ रहेको थियो । तथ्यांक स्रोतः डोरबहादुर विष्टको ‘सबै जातकोे पूmलबारी’ किताब ।
त्यस्तै, विसं २०५८ को जनगणनामा उल्लेख भएका नेपालका समग्र आदिवासी जनजातिको जनसंख्या र थप भएका नयाँ आदिवासी जनजातिको जातिगत संख्या र तथ्यांक पनि तल उल्लेख गरिएको छ ।
(क) हिमाली आदिवासी जनजातिः थकाली १२ हजार ९७३, भोटे १२ हजार ४६३, शेर्पा १ लाख ५४ हजार ६२२, ब्यासी २ हजार १०३, वालुङ १ हजार १४८ गरी हिमाली आदिवासी जनजातिको जातिगत संख्या ५ र जम्मा जनसंख्याः १ लाख ९२ हजार ९ रहेको थियो । यसरी हेर्दा विसं २०५८ को राष्ट्रिय जनगणनामा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएको देखिन्छ ।
(ख) पहाडी आदिवासी जनजातिः मगर १६ लाख २२ हजार ४२१, तामाङ १२ लाख ८२ हजार ३०४, नेवार १२ लाख ४५ हजार २३२, राई (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी, पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) ६ लाख ३५ हजार १५१, गुरुङ ५ लाख ४३ हजार ५७१, लिम्बू ३ लाख ५९ हजार ३७९, घर्ती, भुजेल १ लाख १७ हजार ५६८, सुनुवार ९५ हजार २५४, चेपाङ, प्रजा ५२ हजार २३७, थामी २२ हजार ९९९, याक्खा १७ हजार ३, पहरी ११ हजार ५०५, छन्त्याल ९ हजार ८१४, बराम ७ हजार ३८३, जिरेल ५ हजार ३१६, दुरा ५ हजार १६९, लाप्चा ३ हजार ६६०, हायु, १ हजार ८२१, ह्योल्मो ५७९, कुसुन्डा १६४ ।
यसरी विसं २०५८ को राष्ट्रिय जनगणगनामा पहाडी आदिवासी जनजातिमा घर्ती, भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा नयाँ जाति थपिएको देखिन्छ । त्यस्तै, पहाडी आदिवासी जनजातिको जातिगत संख्या २० रहेको थियो । जनसंख्या पनि ५४ लाख ६६ हजार ४६३ पुगेको थियो ।
(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ९९ हजार ३८९, माझी ७२ हजार ६१४, दनुवार ५३ हजार २२९, दरै १४ हजार ८५९, बोटे ७ हजार ९६९, राजी २ हजार ३९९, राउटे ६५८ । विसं २०५८ को जनगणनामा भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या बढेको देखिँदैन भने जनसंख्या २ लाख ५१ हजार १४९ रहेको थियो ।
(घ) मधेसी आदिवासी जनजातिः थारु १५ लाख ३३ हजार ८७९, राजवंशी ९५ हजार ८१२, सन्थाल, सतार ४२ हजार ६९८, गनगाई ३१ हजार ३१८, धिमाल १९ हजार ५३७, ताजपुरिया १३ हजार २५०, मेचे ३ हजार ७६३, किसान २ हजार ८७६, कोचे १ हजार ४२९, मुन्डा ६६० । २०४८ को जनगणनामा मधेसमा थारु, धिमाल र राजवंशी मात्रै आदिवासी जनजातिको रुपमा रहेका थिए भने, २०५८ को जनगणनामा सन्थाल, सतार, गनगाई, ताजपुरिया, मेचे, किसान, कोचे र मुन्डा गरी सात वटा नयाँ जातिहरु तथ्यांकमा आए । उनीहरुको जनसंख्या १७ लाख ४५ हजार २२४ रहेको थियो ।
यस्तै यहाँ विसं २०६८ को राष्ट्रिय जनगणनामा आएको आदिवासी जनजातिको जातिगत संख्या र उनीहरुको जनसंख्याको पनि तल वर्णन गएिको छ ।
(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार २१५, भोटे १३ हजार ३९७, शेर्पा १ लाख १२ हजार ९४६, डोल्पो ४ हजार १०७, ल्होपा २ हजार ६२४, ब्यासी, सौका ३ हजार ८९५, तोप्केगोला १ हजार ५२३, वालुङ १ हजार २४९, ल्होमी १ हजार ६१४ । यसरी हेर्दा २०५८ मा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति मात्रै थपिएका थिए भने, २०६८ को जनगणनामा डोल्पो, तोप्केगोला, ल्होमी र ल्होपा गरी अरु ४ वटा हिमाली आदिवासी जनजाति नयाँ जातिको रुपमा थपिए । उनीहरुको जम्मा जनसंख्या १ लाख ५४ हजार ५७४ रहेको थियो ।
(ख) पहाडी आदिवासी जनजातिः मगर १८ लाख ८७ हजार ७३३, तामाङ १५ लाख ३९ हजार ८३०, नेवार १३ लाख २१ हजार ९३३, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी, पगरी मात्रै भएकोले ‘!’ चिन्ह राखिएको हो ।) लाख २० हजार ४, गुरुङ ५ लाख २२ हजार ६४१, लिम्बु ३ लाख ८७ हजार ३००, घर्ती, भुजेल १ लाख १८ हजार ६५०, सुनुवार ५५ हजार ७१२, चेपाङ, प्रजा ६८ हजार ३९९, थामी २८ हजार ६७१, याक्खा २४ हजार ३३६, पहरी १३ हजार ६१५, छन्त्याल ११ हजार ८१०, बराम ८ हजार १४०, जिरेल ५ हजार ७७४, दुरा ५ हजार ३९४, लाप्चा ३ हजार ४४५, हायु, २ हजार ९२५, ह्योल्मो १० हजार ७५२, कुसुन्डा २७३, कुलुङ २८ हजार ६१३, घले २२ हजार ८८१, खवास १८ हजार ५१३, नाछिरिङ ७ हजार १५४, याम्फु ६ हजार ९३३, चाम्लिङ ६ हजार ६६८, आठपहरिया ५ हजार ९७७, बान्तावा ४ हजार ६०४, थुलुङ ३ हजार ५३५, मेवाहाङ ३ हजार १००, बाहिङ ३ हजार ९६, साम्पाङ १ हजार ६८१, खालिङ १ हजार ५७१, लोहोरुङ १ हजार १५३ । यसरी हरेक १०(१० वर्षको जनगणनाको तथ्यांक हेर्दा २०५८ को जनगणनामा पहाडी आदिवासी जनजातिमा घर्ती, भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा जाति थपिएका थिए भने, २०६८ को ११ औं जनणनामा पहिले–पहिलेको जनगणनामा ‘राई !’ जातिमा गाभिने गरेको कुलुङ लगायत १२ वटा किराती जातिहरुका साथै घले र खवास गरी १४ वटा नयाँ जातिहरु थपिए । यसरी पहाडी आदिवासी जनजातिहरु विसं २०६८ को जनगणनामा ३४ वटा भए भने विसं २०६८ को जनगणनामा पहाडी आदिवासी जनजातिको जम्मा जनसंख्या ६७ लाख ५२ हजार ८१९ पुग्यो ।
(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल १ लाख २१ हजार १९६, माझी ८३ हजार ७२७, दनुवार ८४ हजार ११५, दरै १६ हजार ७८९, बोटे १० हजार ३९७, राजी ४ हजार २३५, राउटे ६१८ । भित्री मधेसी आदिवासी जनजातिको जनसंख्या ३ लाख २१ हजार १७६ रहेको छ भने, तीनवटै जनगणनामा भित्री मधेसका जातिगत संख्या बढेन ।
(घ) मधेसी आदिवासी जनजातिः थारु १७ लाख ३७ हजार ४७०, राजवंशी १ लाख ५२ हजार २४२, सन्थाल, सतार ५१ हजार ७३५, गनगाई ३६ हजार ९८८, धिमाल २६ हजार २९८, ताजपुरिया १९ हजार २१३, मेचे ४ हजार ८६७, किसान १ हजार ७३९, कोचे १ हजार ६३५, मुन्डा २ हजार ३५० । २०६८ को जनगणनामा भने मधेसी आदिवासी जनजातिको संख्या थपघट भएको देखिँदैन । मधेसी आदिवासी जनजातिको जनसंख्या भने २० लाख ३४ हजार ६९५ पुगेको छ । यसरी हेर्दा विसं २०६८ मा नेपालमा समग्र आदिवासी जनजातिहरुको जनसंख्या ९२ लाख ६३ हजार २६९ पुगेको छ ।
विसं २०४८ को जनगणनाको तथ्यांकलाई आधार मानेर हेर्दा त्यो वेला हिमाली आदिवासी जनजाति ३ वटा, पहाडी आदिवासी जनजाति ११, भित्री मधेसी आदिवासी जनजाति ७ वटा र मधेसी आदिवासी जनजाति ४ वटा गरी २५ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो भने, विसं २०५८ मा नेपालको आदिवासी जनजातिहरुको जातिगत संख्या पनि बढेर हिमाली आदिवासी जनजाति ५, पहाडी आदिवासी जनजाति २०, भित्री मधेसी आदिवासी जनजाति ७ र मधेसी आदिवासी जनजाति १० गरी गरी ४२ वटा आदिवासी जनजातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको अवस्था थियो । तर, विसं २०६८ को जनगणनामा भने नेपालमा आदिवासी जनजातिहरुको जातिगत संख्या ह्वात्तै बढेर ६० पुगेको छ ।
यसरी हेर्दा विसं २०४८ को जनगणनादेखि नै जनसंख्याको सवालमा लगभग स्थिर रहेको जातीय जनसंख्या भनेको थकालीको मात्रै रहेको देखिन्छ । किनभने, थकालीको जनसंख्या क्रमशः विसं २०४८ मा १३ हजार ७३१, विसं २०५८ मा १२ हजार ९७३ (विसं २०४८ भन्दा केही घटेको) र विसं २०६८ मा १३ हजार २१५ (विसं २०४८ भन्दा ५०० कमै) रहेको देखिन्छ । जे भएतापनि जनगणनामा एकै जातिका रुपमा लैख्दै, भन्दै आएका थकाली जाति विसं २०५४ मा बनेको तत्कालीन श्री ५ को सरकार, स्थानय विकास मन्त्रालय मातहत रहेको ‘जनजाति समिति’ अन्तर्गत ६ वटा अलग–अलग जातिमा सूचीकृत भएका थिए । जस्तै थकाली, मार्फाली थकाली, चिमतन, छैरोतन, ठिनतन, स्याङतान ।
पछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बनेपछि (विसं २०५८ मा) थकाली, मार्फाली थकाली, (चिमतन, ठिनतन, स्याङतानलाई गाभेर) तीनगाउँले थकाली र छैरोतन गरी ४ खाले थकाली भएर सूचीकृत भएका थिए, छन् । तर, उनीहरुको जनसंख्या भने, विसं २०५८ र विसं २०६८ को जनगणनामा एकै जाति थकालीमै अद्यावधिक गरिएको, रहेको छ । जबकि सूचीकृत भएअनुसार अलग–अलग जातिका रुपमा आउनुपर्ने होइन र ?
यसरी हेर्दा १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको जातिगत संख्या बढ्ने क्रममा सबैभन्दा धेरै विसं २०६८ को जनगणनामा आदिवासी जनजातिहरुको जातिगत संख्या बढेर ६० वटा भएको छ भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा घट्ने बढ्ने के हुने हो ? अहिले नै किटानी साथ भन्न सकिने अवस्था छैन । हुन त विसं २०६८ को जनगाणनाको तथ्यांकमा अलग्गै जातिका रुपमा उल्लेख भएका जातजाति र भाषाभाषीहरुलमाई केन्द्रीय तथ्यांक विभागले विसं २०७८ को जनगणनामा पनि अलग्गै जातिगत कोड र भाषागत कोड पाएको हुनाले आदिवासी जनजातिहरुको जातिगत संख्या घट्ने सम्भावना भने देखिँदैन । तर, उनीहरुभित्रको जनसंख्या भने धेरै जातिहरुको घट्न सक्ने सम्भावना देखिन्छ ।
जस्तो कि, विसं २०५८ को १० राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राईको जनसंख्या विसं २०६८ को ११ जनगणनामा घटेर ६ लाख २० हजार ४ मा झरेको थियो । त्यस्तै, विसं २०५८ को राष्ट्रिय जनगणनामा गुरुङको जनसंख्या ५ लाख ४३ हजार ५७१ रहेकोमा विसं २०६८ को जनगणनामा ५ लाख २२ हजार ६४१ मा झरेको छ । त्यस्तै, शेर्पाको जनसंख्या पनि विसं २०५८ को राष्ट्रिय जनगणनामा १ लाख ५४ हजार ६२२ रहेको थियो । तर, विसं २०६८ को जनगणनामा भने शेर्पाको जनसंख्या घटेर १ लाख १२ हजार ९४६ मा झरेको छ ।
यसरी विभिन्न समयमा भएका जनगणनाहरुका सन्दर्भमा भन्नु पर्दा सबैभन्दा अचम्मको कुरो के छ भने, विसं २०४८ को ९ औं राष्ट्रिय जनगणनामा सुनुवार जातिको जनसंख्या केवल ४० हजार ९४३ मात्रै आएपछि सुनुवार सेवा समाज (सुसेस) ले केन्द्रीय तथ्यांक विभाग (केतवि) लाई आग्रह गरेर जनगणनामा जातको महलमा ‘मुखिया’ ले लेख्ने जत्ति सबैलाई विसं २०५८ को जनगणनामाचाहिँ ‘सुनुवार’ जातिमा राखी दिन आग्रह गरेको थियो । सो कुरो मलाई सुनुवार भाषाका सर्जक, लेखक, साहित्यकार तथा कलाकार (चित्रकार) उत्तम सुनुवार (कोइँचबु कातिचा) ले बताएका हुन् । नभन्दै विसं २०५८ को १० औं जनगणनामा सुनुवार जातिको जनसंख्या डबलभन्दा पनि बढीले बढेर ९५ हजार २५४ पुग्यो । किनकि, विसं २०५८ मा ‘मुखिया’हरु मधेसका जिल्लाहरु जस्तै सुनसरी, मोरङ, धनुषा, सप्तरी, सर्लाही, सिरहा, महोत्तरी आदिमा पनि प्रशस्तै रहेको देखियो । त्यसपछि सुनुवार जातिको आधिकारिक सामाजिक संस्था ‘सुनुवार सेवा समाज (सुसेस)’ का कार्य समितिका सदस्यहरु ती जिल्लाहरुमा ‘दंगदास हुँदै, पर्दै’ सुनुवार सेवा समाज (सुसेस) को प्रारम्भिक कमिटीहरु गठन गर्न र प्रशिक्षण दिन भनी गए । तर, मधेसका ती ‘मुखिया’ लेख्नेहरु किराती सुनुवार अर्थात् ‘कोईँच,मुखिया’ नभएर बिन, मल्लाह, बडही, गडेरी आदि ‘मुखिया’ रहेछन् ! त्यसो त ‘मुखिया’ भनेको पनि कुनै जातिवोधक शब्द नभएर कुलुङ लगायत खम्बुका सन्तानहरुले पाएको ‘राई’, लिम्बु र लाप्चाले पाएको ‘सुब्बा’, थारुले पाएको ‘चौधरी, चौधराई’ ‘पटवारी’ आदि पद वा पगरी जस्तै सुनुवारले पाएको ‘मुखिया’ पद वा पगरी मात्रै थियो, हो ।
खासमा नेपालमा किन र कसरी जातजाति, भाषाभाषी र धार्मिक समूह वा वर्गहरु बढी रहेका वा घटी रहेका छन् ? भन्नेबारेमा ‘नेपालका मै हँु’ भनी फुईँ लाउने इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, भाषाशास्त्री वा भाषाविज्ञ तथा विद्धान एवम् विज्ञ भनिनेहरु नै तैँ चुप, मै चुप छन् । कताकति नेपालको भाषाभाषीका सम्बन्धमा लेख्ने, बोल्ने र भाषाविद वा भाषाविज्ञ हौं भन्ने र भनिने एकाध विद्घानहरु छन् र, जो आप्mनो नामको पछाडि प्रा. डा. वा प्रा. पनि डा. पनि लेख्छन् उनीहरुले समेत ‘एक जाति राईको २८ वटा भाषा हुन्छ भनेर सुगा रटाई’ गरेरै दिन कटनी गरी रहेका छन् । अर्थात् ‘गोपीकृष्ण पट्टु कहो’ पाराले लेखहरु लेखिरहेका छन्, अन्तर्वार्ताहरु दिइरहेका छन् ।
त्यसैले हरेक जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग आदिले रहेक पटकको जनगणनामा आफ्नै जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिंग, क्षेत्र आदिका अगुवाहरुलाई नै जनगणनासम्बन्धी तालिम दिएर जनगणनामा खटाउन सके केन्द्रीय तथ्यांक विभाग गर्ने गरेको राष्ट्रिय जनगणना र त्यसमा आएको तथ्यतथ्यांङको उपयोगिता बढ्ने थियो, सार्थकता पाउने थियो कि ? किनभने हुलाकी, प्राथमिक तहका स्कूलका शिक्षिका तथा शिक्षक वा वडा सचिवहरुलाई जनगणक बनाइनु हँुदैन भनेर लामो समयदेखि आदिवासी जनजातिका अगुवाहरुले माग राख्दै आएको हो । जुन माग यसपटकको जनगणनामा पूरा भएको पनि छ ।
विगतमा खटिएका जनगणकहरुको सन्दर्भमा यहाँ एउटा प्रसंग राखेर यो लेखको बिट मारौं । जस्तो यो पंक्तिकारको घर तेह्रथुम जिल्ला हो । त्यहाँ ‘मोराहाङ’ भन्ने गाउँ विकास समिति थियो, अहिले ‘मेन्छ्यायेम’ गाउँपालिकामा पर्छ । सो गाउँमा विसं २०६८ मा बादी जातको पनि केही संख्या उल्लेख गरिएकाmे देखाइएको छ । जबकि त्यहाँ बादी जातका एकजना पनि मान्छे छैनन् । त्यसो त तत्कालीन मोराहाङ गाउँ विकास समितिमा मात्रै होइन, सम्भवतः पूरै तेह्रथुम जिल्लाभरि नै बादी जातका मान्छे छैनन् अब तपाईँहरु नै भन्नोस् त यस्तो तथ्य–तथ्यांकलाई के भन्ने ?
स्मरणीय छ, विसं २०६८ को जनगणनाको तथ्यांक्मा आएको कुलुङ जातिको जातिगत तथ्यांक र भाषागत तथ्यांकअनुसार नै केन्द्रीय तथ्यांक विभागले गत जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने भनिएको तर, कोरोनामा महामारीको दोस्रो लहरका कारण त्यो वेला स्थगित भएको १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र अलग्गै भाषागत कोड–३३ उपलब्ध गराएको छ । यसरी कोरोना महामारीका कारण अचानक स्थगित गर्नुपरेको १२ औं राष्ट्रिय जनगणना यही कात्तिक महिनाको २५ गतेदेखि मंसिर महिनाको ८ गतेसम्म गर्ने भन्ने केन्द्रीय तथ्यांक विभागको कार्य तालिकालाई नेपाल सरकारले सदर गरेको छ ।
अर्को जनगणना १० वर्षपछि मात्रै हुने भएकोले हामी कुलुङ जातिका अगुवाहरु, बुद्धिजीवीहरु, शिक्षकहरु, शिक्षिकाहरु, जेढाबुढाहरु, जान्ने सुन्नेहरु, विद्यार्थीहरु सबैसबैले एकपटक दिलो ज्यानले खटौं । हामी कुलुङहरुले पनि ‘कोही कुलङहरु नछुटौं, कोही कुलुङहरु नदोहोरियौं’ भनेर सरकारले यसपटक तय गरेको ‘मेरो गणना मेरो सहभागिता’, ‘कोही नछुटौं, कोही नदोहोरियौं’ भन्ने नारालाई सार्थक बनाउनका लागि डटेर परौं ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप