धरानमा कला समूहको मेयरलाई राय

यसपटकचाहिँ देउसी-भैलो खेल्न पाउनुपर्नेदेखि नाट्य, नृत्य, सङ्गीत कक्षा सञ्चालन हुनुपर्ने


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २५

धरानः धरानमा संयुक्त कला समूहले राय, सुझाव पेश गरेको छ ।
केहीदिनअघि धराने कलाकार विस्थापित बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउन पुगेका नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूलाई मेयर राईले राय, सुझाव अनि विकल्पसहितको माग लिएर आउनु भनेपछि उनीहरुले यस्तो राय, सुझाव पेशेका हुन् ।
मेयर राईलाई यस्तो राय, सुझाव दिएको पत्र दिएर फर्किएको कलाकारले जानकारी दिएका छन् । नृत्य, रङ्गकर्मी, चलचित्र, सङ्गीतकर्मी तथा मोडलिङ क्षेत्रमा आवद्ध कलाकारहरुले यसपटकचाहिँ स्वास्थ्य मापदण्ड अपनाई देउसी–भैलो समेत खेल्न पाउनुपर्ने माग गर्दै राय, सुझाव पेशेको कलाकार नगेन्द्र राईले जानकारी दिए ।
‘कोरोना संक्रमणपछि देउसीभैलो खेल्न बन्देज छ, संस्कृति र परम्परा धान्ने एवं थोरबहुत आयको माध्यम समेत रहेको देउसीभैलाको चलन अबको सन्दर्भमा घरबाटै देउसीभैलो नियाल्न सहज पर्ने गरी स्थान निर्धारण गरिनुका साथै पत्रमार्फत् अवगत गराइनेछ, यदि कार्यक्रमस्थलमै उपस्थित हुने इच्छा भएमा सामाजिक, दुरी, मास्क, सेनिटाइजर सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गराइनेछ र साङ्गीतिक देउसीभैलो कार्यक्रम साँझको ५ बजेदेखि रातको १० बजेसम्म ७ दिनसम्म आयोजना गर्न दिइनुपर्नेछ ।’ मेयर राईलाई पेसिएको रायमा भनिएको छ ।
यस्तै, नाट्य, नृत्य, सङ्गीत कक्षा सञ्चालन तथा प्रशिक्षण गर्दा संक्रमणको लक्षण नभएको पूर्व निश्चय गरी तोकेको मापदण्डअनुसार सामाजिक दुरी कायम गरी ५ जनासम्मलाई सहभागी गराउन पाउनुपर्ने माग राखिएको राय पेशिएको छ ।
यस्तै, होटल व्यवसायमा आवद्ध कलाकार पनि रहेकोले १० बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने, ५० प्रतिशत ग्राहकलाई प्रवेश दिइनुपर्नेलगायतका माग पनि राय, सुझावमा समेटिएको छ ।
मेयरलाई राय सुझाव पेस्नेक्रममा संगीतकार तथा एरेन्जर मचेन लिम्बू, चलचित्रकर्मी, नाटयकर्मी विजय सुब्बा, नगेन्द्र राई, गायक भक्तिराज राई, सुन्दर साउण्ड सर्भिस सञ्चालक सुगम श्रेष्ठ, प्राविधिक अभिषेक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर कलाका गतिविधि पनि निरन्तर अघि बढ्न पाउनुपर्ने बागिना कला केन्द्रका अध्यक्ष भक्तिराज राईले बताए । इन्डियन आइडल, भ्वाइस अफ नेपालजस्ता थुप्रै कार्यक्रम भइरहेपनि यहाँ भने रोक लगाइनु दुःखद् रहेको उनको भनाइ छ । ‘हामीले पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रम गर्न पाउनुपर्छ’, उनले भने, ‘त्यही माग राय, सुझावसहितको माग लिएर उपमहानगरपालिका पुगेका हौं ।’
यसअघि उनीहरुले राजनीतिक दलले हजारौंको संख्यामा रयाली, जुलुस गरिरहँदा मौन हुने सरकार कलाकारहरुलाई भने कार्यक्रम गर्न नदिएको गुनासो पोख्दै उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप