धरानको बीपीका डाक्टर, नर्स नाचे, प्रहरी, कर्मचारी रमिते !


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २४

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले आन्दोलनस्थलमै नाचगान गरेका छन् ।
बिहीबार तीजको पनि दिन भएको र आन्दोलनरत चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) लगायतको मनोबल उच्च राख्न नाचगानको कार्यक्रम राखिएको प्रतिष्ठान शुद्धिकरणको माग गर्दै आएको संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए । ‘अहिले पनि आन्दोलन जारी छ । प्रतिष्ठान शुद्धिकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिले विगत तीन महिनादेखि आन्दोलन गर्दै आएपनि समस्याको समाधान हुन सकेको छैन, उनीहरुको मनोबल बढाउन यस्तो कार्यक्रम राखिएको हो ।’
प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं बीपी जयन्ति मनाउन प्रतिष्ठानका पदाधिकारीहरुले तयार रहेको र प्रहरी एवं सुरक्षाकर्मी परिचालन गरेको थियो । आन्दोलनमा सरिक भएभरका चिकित्सक, कर्मचारी, विद्यार्थी भेला भएपछि सो कार्यक्रमपनि रोकिएको उनले जानकारी दिए । ‘आन्दोलनकारीहरुको ठूलो संख्यामा उपस्थिति थियो’, उनले भने, ‘प्रहरी हस्तक्षेप बढी हुन लागेको ‘टेन्सन’ को स्थितिलाई मत्थर बनाउन पनि नाचगान गरेपछि उनीहरु समेत रमिते बने ।’
आन्दोलनरत पक्षको अवरोधपछि प्रतिष्ठानको यवस्थापन पक्षले बिहान राखेको झन्डोत्तोलन कार्यक्रम र बीपी कोइरालाको सालिकमा माल्यार्पण कार्यक्रम रोकिएको थियो । काठमाडौंमा रहेका प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी आउने भएपछि उनलाई कार्यक्रम गर्न नदिइएको संयोजक डा. एसपी रिमालले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयले नै तलबभत्ताबाहेकका अन्य गतिविधि नगर्नु भनेको अवस्था छ तर पनि उनी विभिन्न कार्यक्रमलगायत अन्य क्रियाकलाप गरिरहेको पाइएको छ’, उनले भने, ‘त्यही भएर यस्ता गतिविधिमा पनि रोक लगाएका हौं ।’ संघर्ष समिति आफैले भने झण्डोत्तोलन कार्यक्रम गरेको उनले जानकारी दिए ।
संघर्ष समितिले प्रतिष्ठानको ऐनको दफा ११ (घ) अनुसार सिनेट फेस नगरी उपकुलपतिलाई कार्यालय प्रवेश गर्न निषेध गरिएको जनाएको छ । उनीहरुले उपकुलपतिविरुद्ध नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप