धरानमा तीजको रहर आयो बरिलै…

पिण्डेश्वरमा यसपटक आइरहे ब्रतालु महिला, नाचेनन्, पूजा आजागरी फर्किए (५७ तस्वीरसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ २४

धरानः धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजन आएका छन् ।
आज हरितालिका तीज परेकोले ब्रतालु महिलाहरु मन्दिर दर्शन र पूजाआजाका लागि आएका हुन् । अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिर खुलेन । यस्तै, यस वर्ष बोलबममा पनि मन्दिर खुल्ला गरिएन तर कोरोना संक्रमणको दर कम हुँदै गएकोले यसवर्ष केहीदिनदेखि धरानका अधिकांश मन्दिर खुल्ला छन् ।
‘अघिल्लोवर्ष पिटिक्कै खोलिएन’, पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार वनेपालीले भने, ‘केहीदिनदेखि धरानका अधिकांश मन्दिर खुलेका छन्, तीजको अवसर पारेर ब्रतालु महिलाहरु आए ।’ उनका अनुसार यस वर्ष नाचगानको कार्यक्रम भने रहेन । यसपटक पनि महिला साडी र चोलोमा चिटिक्क सजिएर हिँड्न पाएनन् । अघिल्लो वर्षपनि घरमै तीज मनाएका महिलाले यसपटक पनि खुलेर नाच्न पाएका छैनन् । नाच्न नपाएपनि महिलाले तीजको रहर भने देखाएका छन् । कतिपय महिला साडीचोलोमा चिटिक्क सजिएका देखिन्थे ।
‘कोरोना कहरअघिको तीजमा त मन्दिर परिसरमा थामिनसक्नु भीड हुन्थ्यो, नाचगान गर्ने महिलाहरुले यतिबेला खलखली पसिना निकालिसकेका हुन्थे’, उनले भने, ‘भीडभाड हुन्छ होला भनेर यसपटक कसैलाई पनि सूचना दिएका थिएनौं तर जति जनाले थाहा पाए, आइरहेका छन्, भीडभाड छैन ।’
मन्दिर पस्नुअघि मास्क नहुनेलाई मास्क समेत वितरण थियो भने सेनिटाइजर लगाएर मात्रै मन्दिर प्रवेश गर्न दिइएको थियो । स्थानीय भक्तजनले मन्दिरमा पूजाआजा गरेर फर्किएको बाबाधाम समितिका सदस्य रोहिणी खनालले जानकारी दिए । ‘जति आइरहनुभएको छ र आउनेक्रम पनि जारी छ, सबै स्थानीय ब्रतालु महिलाहरु रहेको पाइएको छ ।’ उनले भने ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा ब्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रीहरुले बताउँदै आएका छन् ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप