मुख्यमन्त्री भीम आचार्य धरानमा

धरान आएर भने- विश्वासको मत पाउँछु, दिन्छन् पनि (भिडियोसहित)


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ १९

धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट आफूले विश्वास मत पाउने दावी गरेका छन् ।
धरान-८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले सो दावी गरेका हुन् ।
एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा जान १० जना प्रदेश सांसदले निर्वाचन आयोगमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । तर उनले नयाँ बन्ने राजनीतिक समीकरणले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरे ।
‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु, यो सरकार सत्ता लिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकोले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’ उनले भने ।
उनले प्रदेश १ को टिकाउन दलहरूबीच कुराकानी भइरहेको समेत बताए । ‘राजनीतिमा जे पनि हुन्छ’, उनले भने, ‘नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ ।’
आचार्यले विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति-सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि दावी गरे । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले पनि सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन भने अझै बाँकी छ । उनले विश्वासको मत लिनुअघि नै बहुमत गुमाइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत जुटाउन ४७ सांसद चाहिन्छ । यसअघि एमालेसँग ५१ सांसद थिए । एमालेका ५१ सांसदमध्ये १० जनाले नयाँ पार्टीमा सनाखत गरिसकेपछि अब मुख्यमन्त्री आचार्यको पक्षमा एमालेको ४१ भोट मात्रै बचेको छ । जबकि बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । यो अवस्थामा आचार्यको सरकार ढल्ने निश्चित भएको छ ।
एमाले अध्यक्ष केपी ओलीमाझ आचार्यले आफूलाई शेरधनको ठाउँमा मुख्यमन्त्री बनाइए माधव नेपाल समूहका प्रदेश सांसदहरुलाई पनि एमालेमै फर्काउने र बहुमत जुटाउने ‘कमिटमेन्ट’ गरेका थिए । एमालेलाई बहुमत जुटाइदिने आचार्यको प्रतिबद्धताका आधारमा केपी ओली उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन तयार भएका थिए । र, यही सहमतिअनुरुप तेस्रो धारका नेता आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेको एमाले नेताहरुले नै बताउँदै आएका छन् । उनी आजै सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा पनि सहभागी हुनेछन् । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप