धरानमा तपाईको मास्क खोइ ?

कलाकार उत्रिए सडकमा, मास्क दिए, चिउँडोमा मात्रै मास्क लगाउनेलाई सचेत गराए


  • हाम्रो कोशी आवाज डटकम
  • २०७८ भदौ १८

धरानः धरानमा कलाकार सडकमा निस्किएर ‘तपाईंको मास्क खोइ ?’ अभियान चलाएका छन् ।
मास्क नलगाउनेलाई मास्क वितरण गर्दै उनीहरुले यो अभियान चलाएका थिए । यस्तै, चिउँडोमा मात्रै मास्क लगाउनेले तल झार्न आग्रह समेत गरेका थिए ।
यसअघि पनि धरानमा पटक–पटक यस्ता अभियान चलाइएपनि कतिपय सर्वसाधारणले हेलचेक्रयाइँ गर्ने गरेको पाइएकोले अभियान चलाइएको कलाकार सन्तोष तामाङले जानकारी दिए ।
पछिल्लो समयमा धरानमा सङ्क्रमण घट्दै गएपछि सर्वसाधारणमा हेलचेक्रयाइँ बढेको तर चाडबाड नजिक भित्रिएकोले थप सतर्क हुनुपर्ने गायक भक्तिराज राई बताउँछन् । ‘हेलचेक्रयाइँ नबढोस् भनेर सचेतना कार्यक्रम गरिएको हो’, उनले भने ।
धरान कला समूहले मास्क र सेनिटाइजर पनि वितरण गरेको थियो । नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूले रयाली आयोजना गरेका छन् । धरानको भानुचोक, छाताचोक, धरान उपमहानगरपालिकाअगाडि गौतमपथ हुँदै पुनः लोकतान्त्रिक चौतारीसम्म पुगेर कोणसभाको कार्यक्रम पनि आयोजना गरेका थिए ।
यसअघि कलाकारहरुले निषेधाज्ञाका कारण कलाकर्मी विस्थापित हुनुपरेको गुनासो गर्दै उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाइसकेका छन् । उनीहरुले नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूले आफ्ना गतिविधिमा रोक लगाइँदा विस्थापित हुनुपरेको गुनासो गरेका थिए ।
सबै क्षेत्र खुल्ला रहेको तर कला क्षेत्रलाई भने रोक लगाइएकोले स्वास्थ्य मापदण्ड अपनाएर कला क्षेत्रका गतिविधि अघि बढ्नुपर्ने उनीहरुको धारणा छ । ‘न नृत्यका गतिविधि छन् वा अन्य’, कलाकार राई भन्छन् ‘कलाकार कहिलेसम्म यसरी मारमा परिरहने हो, इन्डियन आइडल, भ्वाइस अफ नेपालजस्ता थुप्रै कार्यक्रम भइरहेपनि यहाँ भने रोक लगाइनु दुःखद् हो । हामीले पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रम गर्न पाउनुपर्छ ।’
तस्वीरहरुः लक्ष्मण थापा, हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप