श्रीकृष्ण जन्माष्टमी र धार्मिक महिमा


  • कोशी अवाज
  • २०७८ भदौ १४

पूर्वीय दर्शनमा चार युगको अस्तित्वलाई विशेष महत्वका साथ व्याख्या गरेको पाइन्छ । जव–जव पृथ्वीमा ठूला–ठूला संकटहरु आइ पर्छन् तव–तव भगवानले मनुष्यको रुपमा जन्म लिइ असत्य माथि सत्यको जित गराउन र मानव सभ्यतालाई निर्वाध रुपमा अगाडि बढाउन महत्वपुर्ण भूमिका खेलेको व्यहोरा विभिन्न शास्त्रहरुमा अध्ययन गर्न पाइन्छ ।

सत्य, त्रेतापछि आउने द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरात्रीमा भगवान श्रीकृष्णको जन्म बावुु वसुदेव र आमा देवकीको आठौं गर्भबाट भएको र जन्म पश्चात् आफ्नो आमा देवकीलाई शंखचक्र धारण गरेको चतुर्भुज ब्रम्हको दर्शन दिनुभएको पाइन्छ ।

देवकीको आठौं गर्भबाट जन्मेको बालकको हातबाट मर्ने सन्देश पाएका तत्कालिन समयका दुष्टराजा कंशले आफ्नो कालरुपी बालकलाई जन्मना साथ मार्ने उद्देश्यले गर्भवती देवकी सहित उनका पति वसुदेवलाई कारागारमा कैद बनाएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।

भगवान श्रीकृष्णको प्रादुर्भाव (जन्म) हुँदाको समयमा झमझम पानी परेको, देवकीलाई कुनै प्रस्रव पीडा नभएको र कारागारका सुरक्षा अधिकारीलगायत सबै पहरेदारहरु अकास्मात मस्तनिद्रामा परेको कहानी निकै रोचकपुर्ण तवरबाट व्याख्या गरिएको छ ।

नवजात शिशुलाई कंशको हात बाट जोगाउने उद्देश्यले बावु वसुदेवले (भगवान श्री कृष्णकै इच्छा अनुसार) जन्मने बित्तिकै टोकरीमा राखी जेल बाहिर निस्कन लाग्दा जेलको ढोका आफै खुलेको, द्वारपाल कसैले पत्तो नपाएको, यमुना नदीले कृष्ण तर्ने घाट सजिलो बनाई दिनुभएको र सरासर गोकुल(प्रज) मा नन्द बाबा र यशोधाको घरमा पुग्नु भएको पाइन्छ ।

उहाँहरुको घरमा पनि सोही समयमा पुत्रीको रुपमा (कृष्णभन्दा केही पहिला) योगमाया भगवतीले जन्म लिनुभएको थियो । नन्दबाबा र यशोधालाई छोराछोरी के जन्मियो भन्ने कुरा थाहा नभएको र वसुदेवले श्रीकृष्णलाई यशोधाको छोरी सुताएको ठाउँमा सुताई योगमायालाई सुटुक्क उठाई आफूहरु रहेको कारागार कक्षमा ल्याउनु भएको र उहाँ आएपछि सबै ढोका आफैं बन्द भएको व्यहोरा उल्लेख छ ।

कारागार क्षेत्र तथा गोकुलमा नन्द बाबाको घर जाँदा र आउँदासमेत बाटामा कसैले थाह नपाएको हुँदा कृष्ण जन्मेको रात्रीलाई मोहरात्री र कृष्णलाई मोहनी अवतार पनि भनिन्छ ।

नवजात शिशु (योगमाया) रोएपछी सबैको निद्रा खुलेको, द्वारपालहरु सुरक्षा घेरामा तैनाथ भई उच्च सतर्कताका साथ हतार–हतार राजा कंशलाई खबर गर्न गएको व्यहोरा असाध्यै रोचक तवरबाट वर्णन गरिएकोछ ।

कंशले वसुदेव र देवकीको हातबाट कन्या आफ्नो हातमा लिईयो काललाई मार्छु भनि कन्याको खुट्टा समाई जमिनमा छाट्न लाग्दा हातबाट माथि आकाश मार्गगरी त्यहीबाट तेरो काल गोकुल(ब्रज)मा जन्म भई सकेको छ भने आकासवाणी भएको पुराण तथा श्रीकृष्ण चरित्रका कथाहरुमा पाईन्छन् ।

गोकुलमा नन्द बाबाले छोरो जन्मियो भनी उत्सव मनाएको, भगवान श्रीकृष्ण त्यही पालन पोषण प्राप्त गरी हुर्कनु भएको कारण उहाँको पहिलो नाम नन्दलाल भएको कुरा पनि यथा प्रसंगमा पाइन्छ । कृष्णले कंश, चाणुर, केशीलगायतका धेरै राक्षसहरुको वध गर्नुभएको र पुतना नामक राक्षसनीले मार्छु भन्ने मनसायले दुध चुसाउदा दुध चुस्दा–चुस्दै प्राणान्त पार्नु भएको पनि कृष्णकथामा सुन्न र पढ्न पाईन्छ ।

विष्णुका दश अवतार मध्ये कृष्णलाई आठौं अवतारको रुपमा लिईन्छ । कृष्णले माहाभारत युद्धमा अर्जुनको सारथी भई पाण्डवलाई सहयोग गर्नु भएको, झन्डै सन्यासी हुन पुगेका अर्जुनलाई गीताज्ञान प्रदान गर्नु भएको व्यहोरा महाभारतमा समेत उल्लेख छ । भगवान कृष्णका बिभिन्न चरित्र र लीलाहरुलाई अध्ययन रअवलोकन गर्दा सत्यको सधै जित हुन्छ र सङ्ख्याले सधै सत्य निर्धारण गर्दैन भन्ने भाव प्राप्त गर्न सकिन्छ ।

गोकुलमा वर्षा र बाढीबाट गाईको रक्षा गर्न श्रीकृष्णले एउटा पर्वत उठाई छाता जस्तो गरी पानी छेकी गाईको संरक्षण गर्नु भएको प्रसङ्ग पनि सुन्न र पढ्न पाईन्छ । यस पर्वतलाई गोवर्धन पर्वत भनिन्छ भगवान श्रीकृष्णले दुष्टहरुको सामु लिला मात्र गर्नुभएन, विभिन्न मतमतान्तर, आडम्बर तथा अबुझपनले सही मार्ग समात्न कठिन भई सकेको गीताज्ञान लाई छर्लङ्ग बनाई दिनुभयो ।

गीताज्ञानलाई धुवाँबाट ढाकिएको सिसा धोई पखाली गरेझैँ छर्लङ्ग बनाई दिनुभयो । जति पढ्यो उति नै फरक अनुभुती प्राप्त हुने गीताज्ञानको अन्त्य कहिल्यै नहुने र अध्ययन एवं अभ्यासले अनन्तसम्म पुग्न सकिने विश्वास छ । गीता माहात्म्यमा ‘एकं शास्त्रं देवकी पुत्र गीतं । एको देवो देवकी पुत्र एव ।’ एकमात्र शास्त्र देवकी पुत्रको गीता तथा एकमात्रै देव देवकी पुत्र कृष्ण भनी उल्लेख छ । हाम्रो शास्त्रले यसरी आमाको नामबाट सन्तान र देवतालाई परिचय गराएको छ। यसबाटमा त्रिशक्तिको महत्व छर्लङ्ग हुन्छ । यसरी कृष्णको नाम लीलाका भजनकृत नभएको अवस्थामा वात्सल्य प्रेम प्रकट हुने हुनाले भक्तजनहरु सकृयताका साथ नाचगानमा संलग्न हुन्छन् भन्ने मान्यता रही आएको पाइन्छ ।

गीता शास्त्र पढ्ने पढाउने र सुन्ने कार्य भएको ठाउँमा श्रीकृष्ण कुनै निमन्त्रणा विना उपस्थित हुनुहुन्छ भन्ने मान्यता छ । यसरी कृष्णले गर्नु भएका दुष्ट, दमनकार्य विरुद्धको कर्म अर्जुनमार्फत प्रदान गर्नुभएको गीता शास्त्रले हामीलाई अध्यापी ज्ञानको ज्योती प्रदान गरिरहेको छ ।

उहाँले कसरी मानव शरिर त्याग गर्नुभयो भन्ने सन्दर्भमा पनि एउटा रोचक प्रसङ्ग छ । जस अनुसार जरस नाम गरेको व्याधाले शिकार खेल्ने क्रममा मृगको भान परी वाण छोड्दा भगवान श्रीकृष्णलाई लागेको र सोही वहानामा उहाँले शरिर त्याग गर्नु भएको वर्णन गरिएको छ । उहाँले शरिर त्याग गरेपछी कलि युग प्रारम्भ हुन्छ ।

कृष्ण जन्म अष्टमीको दिन दिनभरी व्रत बसी मध्यरातमा विधिपुर्वक पुजागरी जन्मोत्सव मनाउने चलनछ । यसरी जन्मोत्सव मनाउँदा हामी आफ्नो जन्मोत्सवलगायत जीवनका हरेक महत्वपूर्ण उत्सवहरु मनाई सकेका हुन्छौं भन्ने मान्यता रही आएको छ । यस आलेख पढिसकेपछी सुझाब एवं प्रतिकृया प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा सहित भगवान श्रीकृष्णले सबैको कल्याण गरुन् भन्ने कामनाको साथ यस प्रसङ्गलाई यहीँ बिट मार्ने अनुमती चाहन्छु ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप