गोर्खा सैनिकका माग पूरा होला ?


  • कोशी अवाज
  • २०७८ भदौ १२

माछा खोज्ने मलेहरु, भात खोज्ने गोर्खालीहरु’ शब्दहरु मेरो मौलिक शब्द होइनन् । जुन शब्द मैले बलदीप प्रभाश्वर चाम्लिङको ‘जातीय मुक्ति र लोकतन्त्र’ किताबबाट लिएको हुँ । उनले लाहुरेप्रथा (गोर्खा भर्ती) बारे लेख्ने क्रममा उनी आफू सानो छँदा आफ्नो हजुरबाले बेलायती सेनामा भर्ती भएर मलेसिया (गाउँले ठेट बोलीचालीमा मलाया) को जङ्गलमा खटिँदाको अनुभवलाई स्मरण गर्दै सुनाएको (अनुभव कथा) सम्झँदै लेख्दै क्रममा लेखेका छन्, ‘मेरो हजुरबाले मलाई बाल्यकालमा यस्तो कथा सुनाउनुहुन्थ्यो, ‘एक दिन मलायाको (हाल मलेसिया) को जङ्गलमा कम्युनिष्ट गुरिल्लालाई सर्च गर्दै उहाँहरु खोला किनार पुग्नुभएछ । सो खोलामा लाम लागेर नाङ्गैभुतुङ्गै मलेहरु माछा मार्दैरहेछन् । मेरा हजुरबाका साथीहरुमध्ये एकजनाले मलेलाई औंल्याउँदै हेयको दृष्टिले मले भाषामै भनेछन्, ‘ओ साथीहरु हो, लौ हेर, माछा खोजिहिँड्ने जातिहरु ।’ त्यो आवाज मलेमध्ये एकको कानमा पुगेछ । त्यो मले पनि के कम । उसले पनि हजुरबाहरुलाई औंल्याउँदै जवाफ दिएछ, ‘ल हेर साथीहरु, यिनै हुन् भात खोजी हिँडने गोर्खाली जातिहरु ।’
आजभोलि पनि हामी नेपालीहरु विदेश जाने गरेकै छौं । अझ ऊ बेलाको भन्दा ५० औं, ६० औं, ७० औं, ८० औं, ९० औं हजार बढी गुणामा हामी नेपालीहरु आजकाल विदेशिने गरेका छौं । अहिले कतिलाई खाई जीविका चलाउनका लागि विदेश जानुपरेको छ । कतिलाई स्वदेशमा भन्दा अलि बढी पैसा कमाउने (बचत गर्ने) लोभ र उद्देश्यले विदेश जानुपरेको छ । कतिलाई अस्थाई प्रकृतिको रोजगार गरेर केही जायजेथा जोड्न (खास गरी घर–घडेरी जोड्न) का लागि विदेश जानुपरेको छ । त्यसो त आजभोलि कतिपय नेपाली युवायुवतीहरु र उनीहरुका अभिभावकहरुलाई नेपालको पढाइ लेखाइ राम्रो नलागेर पढाई लेखाइ (उच्च शिक्षा) का लागि पनि विदेश जानुपरेको (आफ्ना छोराछोरी विदेशमा पढ्न पठाउने गरेका छन्) छ । त्यस्तै, नेपालका केही धनीमानी वा नव सम्भ्रान्त अथवा भनौं मध्यम वर्गका नेपालीहरु त आजकाल घुमफिरका लागि पनि विभिन्न देशमा जाने गरेका छन् ।
तर, त्यो बेला अर्थात् हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरुका पालासम्म हामी नेपालीहरुले पक्कै पनि मलेहरुले भनेझैं भात खोजी खानकै लागि खासै विदेश जानुपर्ने बाध्यता थिएन वा भनौं पर्दैन थियो । तर, पनि बलदीप प्रभाश्वर चाम्लिङको हजुरबाले बेलायती सेनामा भर्ती भएर मलेसियाको जङ्गलमा खटिँदाको अनुभवलाई सुनाउँदै मलेसियाको जङ्गलमा कम्युनिष्ट गुरिल्लालाई सर्च गर्दै जाँदा खोला किनार पुग्दा सो खोलामा लाम लागेर नाङ्गैभुतुङ्गै माछा मार्दै गरेका मलेहरुलाई जसरी नेपाली (गोर्खाली) हरुले हेयको दृष्टिले मले भाषामै ‘ओ साथीहरु हो, लौ हेर, माछा खोजिहिँड्ने जातिहरु’ भनी हेपेर मलेहरुलाई भनेपछि मलेहरुले पनि जवाफी फायर गर्ने क्रममा नेपालीहरुलाई औंल्याउँदै दिएको मुखभरिको जवाफ जुन ‘ल हेर साथीहरु, यिनै हुन् भात खोजी हिँडने गोर्खाली जातिहरु’ भन्ने, वाक्य छ, त्यसले हामी कथित स्वभिमानी भन्ने र भनिने नेपालीहरुका लागि मनमा किलो बनेर नगड्ने त कुरै भएन । मन मुटु नबिझाउने पनि कुरै भएन । फलतः बलदीप प्रभाश्वरका हजुरबालाई ‘माछा खोज्ने’ र ‘भात खोज्ने’ शब्दले घोच्यो रे र, आफ्नो हातमा भएको बन्दुक त्यही खोलामा फ्याँकेर तुरुन्तै घर जाउँजाउँ लाग्यो रे, छुट्टीमा घर आएपछि पुनः पल्टनमा हाजिर हुन जानु भएन अरे ।
त्यसमाथि पनि ‘कहिल्यै नझुक्ने शिर उभिएको स्वाभीमानी नेपालीको बानी’ त्यति मात्रै कहाँ हो र ? नेपालका भूमिपुत्रहरु, आदिवासी जनजातिहरु, त्यसमा पनि हिन्दू देउदेउताहरु भन्दा पनि अघिदेखि अस्तित्वमा रहेका किराती महाजातिहरु बलदीप प्रभाश्वरका हजुरबा त झनै माझ किरातको पनि १६ खम्बुका सन्तान पर्नुभो । अझै भएन, त्यसमाथि पनि ‘राई’ पर्नुभो । हुन पनि हामी खम्बु वा ‘राई’ भन्ने बित्तिकै साह्रै चिसो जाति हौं, यसो भन्दा वा लेख्दा हामीमध्ये धेरै ‘राई’ भन्ने र भनिनेहरुलाई रिस उठ्न सक्छ, उठोस् हामी आपैmले आपैmलाई ‘राई’ साह्रै चिसो जाति हौं, भन्ने, लेख्ने ? भनी रिसाउने राईहरुले कस्तो पागल, कस्तो बौलाहा…, भनी आमाचकारी गाली पनि गर्लान् नै । गरुन्, म त्यस्तो गालीगलौज सुन्न र सहन तयारै छु । राई जात हो कि जाति ? अथवा राई किन जाति होइन ? भनेर लेख्ने बित्तिकै मेरो लेख नै नपढी, लेखको आशय नै नबुझी, लेखको शीर्षक मात्रै हेरेर, पढेर आमाचकारी गाली गर्ने राईहरु ब्रगेल्ती छन् । त्यसैले मेरो यो लेख पनि छापिने बित्तिकै मलाई पक्कै आमाचकारी गालीको वर्षा गर्नेहरुको ओइरो लाग्ने छ ।
मलेहरुले नेपालीहरुलाई अर्थात् हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरुलाई जसरी ‘माछा खोजीहिँड्ने जातिहरु’ भन्ने शब्दको जवाफी फायरमा ल हेर साथीहरु, यिनै हुन् भात खोजी हिँडने गोर्खाली जातिहरु भन्ने जुन शब्दको वाणले हाने, त्यो शब्दको वाण निश्चय नै जो कोही स्वाभिमानी नेपालीहरुका लागि पाच्य वा सह्य हुने कुरै थिएन । तर, वास्तविकता त त्यही थियो, जो मलेहरु खोलामा माछा खोजिहिँड्दै थिए, उनीहरु आफ्नै देशको खोलामा माछा खोजिहिँड्दै थिए भने, मलेहरुले भनेझैं जो भात खोजिहँड्दै थिए, उनीहरु सात समुन्द्रपारि अर्काको देशमा… खोजी हिँड्दै थिए । तर, फेरि पनि असलयतमा भन्नुपर्दा त्यो बेला अर्थात् हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरुका पालासम्म हामी नेपालीहरुले पक्कै पनि मलेहरुले भनेझैं भात खोजीखानकै लागि खासै विदेश जानुपर्ने बाध्यता थिएन वा भनौं पर्थैन । त्यो बेला हामी नेपालीहरुमध्ये प्रायः कसैले पनि पनि भात खोजेर खानलाई विदेश जानुपर्ने वा विदेशी नै पर्ने अवस्था आइसकेको थिएन भनी किटानी साथ भन्न सकिन्छ ।
जे होस्, बेलायती सेनामा कार्यरत रहेका भूतपूर्व गोर्खा सैनिकहरुले विसं २०७४ सालमै ४ सुत्रीय माग राखेर आन्दोलन सुरु गरेको थियो । त्यो बेला पदमबहादुर गुरुङ सभापति, विजय देवान उपसभापति, चन्द्रबहादुर गुरुङ सचिव, कृष्णबहादुर रोका सहसचिच, चन्द्रबहादुर गुरुङ (सिंगापुर) कोषाध्यक्ष, हर्कबहादुर लिम्बू, खड्गबहादुर राई, उजरसिंह थापा, तुलबहादुर चुम्बी, विनोद शाह, रुद्रबहादुर सदस्य रहेका थिए । यसरी सुरुमा उहाँहरुले सम्पूर्ण गोर्खा भूतपूर्व सैनिकहरुको माग पूरा गर्न ४ सुत्रीय माग राखेर आन्दोलन सुरु गरेका थिए । जस्तैः
१) पेन्सन नपाएका सबै गोर्खाहरुलाई स–सम्मान पेन्सन र क्षतिपूर्ति दिनुपर्छ ।
२) गोरा र गोर्खालीहरुको पेन्सन समानताको आधारमा बराबरी हुनुपर्छ ।
३) भूतपूर्व बेलायती गोर्खा सैनिकका छोराछोरीहरुको भििवश्यको जिम्मा बेलायत सरकारले लिनु पर्छ ।
४) बेलायतको राष्ट्रिय सेनाको रुपमा सेवा गरेका भूतपूर्व सैनिकहरुले निर्वाध रुपमा बेलायतको कुनै पनि औपनिवेशिक राज्य (देश) हरुमा जान पाउनुपर्छ भन्ने मागहरु राखेर कयौं, सयौं, हजारौं–हजार चरणमा अनेकखाले आन्दोलन, जुलुस, धर्ना, विरोधसभा, ज्ञापनपत्र बुझाउने, कानुनी उपचारका लागि मुद्दा दायर गर्ने, आफ्नो मागबारे सम्झाउन, बुझाउन र, सम्बन्धित पक्षलाई बुझाउन, सुनाउन पत्रकार सम्मेलन गर्ने, आफ्नो मागबारे राष्ट्रिय तथा अन्र्ताराष्ट्रिय क्षेत्रका ख्याति प्राप्त व्यक्ति तथा व्यक्तित्वहरुसँग लविङरकारलाई झकझक्याउन पहल गर्न लगाउनेलगायतका बुताले भ्याएसम्म र वुद्घि, विवेक र बर्कतले देखेसम्म, भ्याएसम्म सबै कामकारबाहीहरु गरेका थिए । फलतः केही स–साना मागहरु पूरा पनि भएको छ । तर, जस्तो भूतपूर्व बेलायती गोर्खा सैनिक र उनीहरुका छोराछोरीहरुले बन थाले । त्यस्तै, सन् १९९७ भन्दा पछि बेलायती सेनामा भर्ती भएका नेपालीहरुलाई बेलायती गोरा सरह तलब र पेन्सनको व्यवस्था आदि ।
जे होस्, फेरि पनि आफ्नो बाँकी रहेका अन्य मागहरु पूरा गराउन ‘सत्याग्रह संयुक्त सङ्घर्ष समिति’ को ब्यानरमा सुरु गरेको र, लामो समयदेखि थाँती रहेको विभिन्न मागहरु पूरा गराउनका लागि विभिन्न कार्यक्रमहरु जस्तै सत्याग्रह, आमरण अनसन, रिले अनसन, भोक हड्ताललगायत आन्दोलनको कार्यक्रम शुरु भएको छ, थियो (हाल सत्याग्रह, भोक हड्ताल, आमरण अनसन, रिले अनसन लगायतका आन्दोलन स्थगित भएको छ ) । जुन आन्दोलन र जनवकालत अर्थात् संघर्षको नेतृत्व हाल भूतपूर्व बेलायती सेनाका ज्ञानराज राई, धनप्रसाद गुरुङ, पुष्पा राना घले, एसबी घिसिङ लगायतले गर्नुभएको छ । हुन त, बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको सो मागलाई जायज ठान्दै अब माग पूरा गर्ने भनी केही दिनअघि मात्रै आश्वासन दिएको छ ।
तर, नेपाली उखान ‘कागभन्दा कोइली चङ्खो’ भनेझैं बेलायत जस्तो चङ्खो सरकारले साँच्चै भूतपूर्व गोर्खा सैनिकहरुको न्यायपूर्ण र जायज मागहरु पूरा गर्ला त ? शंका गर्न सकिने आधार प्रशस्तै रहेको छ । तापनि आशा गरौं, लामो समयदेखि विश्वलाई नै समानता, मानवअधिकार, प्रजातन्त्र र लोकतन्त्रको पाठ सिकाउन तम्सने बेलायत सरकार र बेलायती जनताहरुले आफ्नो देश (बेलायतका लागि नेपालका लागि होइन) का लागि दुई सय ६–७ वर्षदेखि लडेका भूतपूर्व गोर्खा सैनिकहरुका माग अबचाहिँ पक्कै पनि पूरा गर्ने छ ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप