युवाहरू कहिलेसम्म विदेश कुदिरहने ?

युवाहरु राजनीतिसँगै श्रम गरेर उत्पादन बढाउने कार्यमा लागौं


  • हरि लिम्बू
  • २०७८ साउन १५

नेपालमा युवाशक्तिबिना देश समृद्ध बन्न सक्दैन । यो कुरा सबैले बुझेकै हुनुपर्छ । नेपालीको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी जनसंख्या युवाहरू छन् । ती युवाहरुमध्ये २० देखि ४० वर्षका उत्पादनशील युवाहरु खाडी मुलुकलगायत, कोरिया, हङकङ, युरोप, अमेरिका, जापान, अष्ट्रेलियालगायत राम्रा आम्दानी हुने अन्य मुलुकहरुमा श्रम बेचिरहेका छन् । कुल ग्राह्यस्त उत्पादनको ३० प्रतिशत जति रेमिट्यासले मुलुक धानिरहेको छ ।
सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैं मालिक बन्न सकिन्छ तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने गलत मान्यता अझै पनि हाबी भएको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ, गाउँका खेतीबारी बाँझो बन्न थालेका छन् । नेपालका गाउँ खाली हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ । सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैं मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने गलत मान्यता अझै पनि हाबी भएको छ ।
जोस, जाँगरले भरिएको ऊर्जाशील उमेरमा युवाहरू विदेशमा प्रयोग भइरहेका छन् । भविष्यका कणदार भनिने युवाहरूलाई खाडी मुलुकतिर विदेशिन बाध्य छन् । नेपाली युवा कामकै लागि विदेसिन्छन् । युवाहरू चाहेर पनि देशमा सम्भावनालाई नियाल्न सक्दैनन् । अर्काको देशमा पसिना पोख्न पनि हजारौंको बिटो बुझाउनुपर्छ । शिक्षित युवाले प्रमाणको खोस्टो बोकेर न घरको काम जान्छन्, न अत्याधुनिक सीपको ज्ञानको अवसर आखिर ती पनि पेन्डुलम । साँच्चै भन्ने हो भने युवा खाडीमा पसिना बगाउँछन् । जवानीको जोस, परिवारको माया, दुःखाइ पिराइ, चाडपर्व, विवाह रमाइलो, मित्रताको सुगन्ध, चौतारीको चिसो हावा सबै अरबको खाडीमै स्वाहा हुने गरेको छ ।
के मुलुक रेमिटयान्स, वैदेशिक अनुदान ऋणदाताले मात्र कतिञ्जेल चल्ने हो ? एउटा कुरा हामी नेपालीको श्रमप्रति सम्मान छ कि छैन । जुन काम विदेशन्छन्, त्यही काम नेपाल गर्न लाज लाग्छ । हामी आफ्नो देशमा श्रम बगाउन अल्छी गर्छौं । विदेशमा १८ घण्टा ड्युटी गर्न सक्ने युवाहरु नेपालमा ५–७ घण्टा काम गर्न नि अल्छी गर्छौ । हो यही अल्छी प्रवृत्ति हो हामी पछाडि पर्नुको कारण । यो नियम म स्वयं लेखमा नि लागू होला । नेपाललाई समृद्ध बनाउने हो भने नेपालमा रहेका सम्पूर्ण युवाहरु कुनै न कुनै श्रम र उत्पादनमा जोडिनुपर्दछ ।
दलको झण्डा मात्र होइन, कुटो, कोदालो र हँसिया हतौडा नि बोक्नुपर्दछ । मुख्यतः देशलाई सही दिशा दिने कुरा राजनीति र र दलहरु नै हुन् तर राजनीति र दललाई मात्र गाली गरी बस्यौं र आश गरी बस्यौं भने तपाईं हामी युवाहरुको पालामा नै सुखी नेपाली र समृद्ध नेपाल देख्नु मृगतृष्णा सिवाय केही हुन्नँ ।
अब युवाले पहिचान बदल्ने हो । यसबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ । युवाहरु चाहे जुनसुकै दलका हौ या स्वतन्त्र; आ–आफ्नो क्षमतानुसार यही नेपाल आमाको माटोमा पहिना बगाउनुपर्दछ अनि मात्र नेपाल बन्छ । पर्यटन, होटल, सेवा, शिक्षा, स्वास्थ्य, कृषि जुन क्षेत्र क्षेत्र भए नि आफ्नो सृजनशीलता प्रयोग गरेर भए नि उत्पादन र रोजगारमा जोडिनुपर्दछ । अब नेपालमा रहेका युवाहरुले यसरी सोचौं । सगरमाथा, बुद्ध र वीर गोर्खालीको देश भनेर आत्मरती लिएर मात्र नबसौं । दक्षता र पौरखमा रमौ र रमाऔं । राजनीति त चलिरन्छ, आन्दोलन नि गरौ । बिरोध नि गरौं । आ–आफ्नो दलको झण्डा नि बोकौं । जुलुस गरौं तर श्रम गर्न नछाडौं अनि देश बिस्तारै सही ट्रयाकमा आउँछ ।
प्रजातन्त्रको प्राप्तिको लागि राणा शासन विरुद्धको आन्दोलनमा होस् या प्रजातन्त्रको पुर्नवहालीको नाममा २०४६ मा भएको आन्दोलन, राजसंस्थालाई इतिहासमा मात्रै सीमित पार्ने भनी २०६२–६३ मा गणतन्त्रको लागि गरिएको बृहत आन्दोलन, संसद पुनस्थापना आदिमा युवाको बाक्लै उपस्थिति देखिन्छ ।
आन्दोलनलाई मत्थर पार्न खोज्ने सत्ता पक्षका गोला बारुदले सुसज्जित सिपाहीहरूसँग आफ्नो ज्यानको बाजी राखेर अग्रपंक्तिमा लडिरहने र तातो गोली खाने पनि अधिकांश युवा नै थिए । यति मात्रै कहाँ हो र ? इतिहास पल्टाएर हेर्ने हो भने हरेक देशको परिवर्तन र राजनीतिक उथलपुथल पार्न युवाहरूको अतुलनीय योगदान भेटिन्छ । यस्तो अदम्य साहस प्रस्तुत गर्ने र जतिसुकै शक्तिशाली शासकलाई पनि घुँडा टेकाउन खप्पिस युवाशक्तिहरु हरेक आन्दोलन तथा लडाइँको भरपर्दो माध्यम बनेका छन् । संरचनाहरू फेरिए, शासन व्यवस्था पनि बदलिए तर विगतदेखि युवाहरूलाई हेरिने नजर र प्रयोग गरिने परिपाटी भने सधैं उही रहिरह्यो ।
सरकार परिवर्तनको पक्षपाती हो भने युवाको जोसमा जाँगर थपोस् । युवालाई टिकाउने कार्यक्रम ल्याइयोस् । सरकारले प्रमाणपत्र राखेर ऋण दिने, स्वरोजगारमा प्रोत्साहन गर्ने, युवा पलायन रोक्ने भन्ने सोचसँग स्पष्ट अवधारणालाई अपनाएर अवसर चाहेका युवालाई रोजगार र नेपालको समृद्धिका पाटामा एकै साथ चल्ने रणनीति ल्याउनसके देशपनि बन्छ र युवाको भविष्य पनि सुनिश्चित हुन्छ ।
सरकार र युवाशक्तिको सोचमै परिवर्तन नआएसम्म न समृद्धि सम्भव छ, न त वैदेशिक पलायन रोक्न नै सम्भव । मुलुकले आर्थिक र सामाजिकरुपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागिपर्नुपर्छ । विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेश–मोहले परिवार नै बिगारेका दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न सक्नुपर्छ ।
लेखकः राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप