आज किन खाइन्छ खीर ?


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १५

धरानः आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व धुलधामका साथ मनाइँदैछ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाएर खाने गरिन्छ ।
ऋतु अनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्पराअनुसार दूध, घ्युउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन बसेको बताइन्छ ।
खीरलाई स्वादिष्ट बनाउन विभिन्न मरमसलाका साथै सखर पनि हालेर दूधमा चामल मिसाई खिर पकाइन्छ । यसरी बनाईको खीरले शक्ति दिनुको साथै रोगनिवारक पनि हुने विश्वास गरिन्छ ।
हाम्रो मानव शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न र समयअनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन पहिलेदेखि नै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।
खीर नेपालीहरुबीच लोकप्रिय साँस्कृतिक पकवानको रुपमा परिचित रहेको छ । दूध चामल,सख्खर (चिनी)सँगै मरिच, नरिवल, छकडालगायत मरमसला हालेर बनाइने परिकार हो खीर । असार १५ गते दही चिउरा, माघे संक्रान्तिमा खिचडी, तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलनचल्ती छ ।
देशको पहाडी बस्तीमा खिर रुचाइने परिकारमा गनिन्छ । असारको हिलो मैलो झरीमा भिजेको शरीरलाई मसलाले परम्परागत उपचार गर्ने साउन पन्ध्रको खीर खाने चलन एउटा पुरानो प्रक्रिया हो । आर्यूवेदमा खीरलाई प्राचिन भोजनको भनेर लेखिएको पाइनछ । खिर शव्द संस्कृत शब्द ’क्षिरमा’बाट आएको हो । क्षिरमा अथवा दूध र यसैबाट अपभ्रश भएर खिर शव्द बनेको पाइन्छ । त्यसैले खिर प्राचिन समयमा धेरै नै खाइने मिष्ठानमा पर्ने अनुमान लगाउन गाह्रो पर्दैन ।
विभिन्न मरमसलाको प्रयोग गरी खीर पकाइने हुँदा यसमा विभिन्न पौष्टिक तत्व रहेको हुन्छ। यस्तो परिकार स्वास्थ्यका लागि फाइदाजनक हुने आम धारणा छ ।
पोषणविद् डा. नानी शोभाका अनुसार खीर सबै उमेर समूहका लागि फाइदाजनक हुन्छ । तर खीर पकाउँदा त्यसमा प्रयोग गरिने मसलामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
मधुमेहका बिरामीले मसलायुक्त खीर नखान उनको सुझाव छ । बढी मात्रामा चिनी र मसला राखेर पकाएका खीरले बिरामीलाई फाइदा गर्दैन । बिरामीले खीर खान मन गरे कम दूध राखेर मसलायुक्त खीर खुवाउन सकिने डा. शोभाको भनाइ छ । बढी मात्रामा दूध र कम मसलाको प्रयोग गरी पकाएको खीर बालबालिकाका लागि फाइदा हुने उनको सुझाव छ ।
-एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप