धरानमा ट्याङ्कीमा लिम्बूको शव

राति १२ बजेसम्म श्रीमतीसँग फोनमा कुराकानी, घटनास्थलमा शुरुमा देख्ने महिला भन्छिन् - रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थियौं (११ तस्वीर र भिडियो पनि)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १४

धरानः धरान-५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव घाँटी काटिएको अवस्थामा फेला परेको छ ।
पानीले पुरै भरिएको ट्याङ्कीमा शव भेटिएको थियो । प्रहरीले ट्याङ्कीको पानी निकाल्दा रगत समेत देखिएको थियो । प्रहरीले हाफपेन्ट लगाएको र शरीरमा कपडा नलगाएको अवस्थामा शव निकालेको थियो ।
घाँटीमा काटेर खानेपानीको ट्याङ्कीमा लुकाइएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले घाँटीमा एक इञ्च काटिएको अवस्थामा शव भेटिएको जानकारी दिए ।
बुधबार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापा, सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर, अनुसन्धानको टोलीलगायतले बुधबार राति १२ बजेसम्म अनुसन्धानमा जुटेको थियो ।
मृतक लिम्बूको दाहिने हातमा १३ ठाउँ र देब्रे हातमा ४ ठाउँ काटिएको चोट भेटिएको छ । प्रहरीले घाँटीमा काटिएको अवस्थामा फेला पर्नु र हातमा पनि काटिएको चोट देखिएपछि हत्या भएको आशङ्का गरेको छ । ‘हातमा समेत काटिएको चोट देख्दा शुरुमा हातले प्रतिकार गरेको हुनुपर्छ’, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले भने, ‘त्यसपछि सिधै घाँटीमा काटिएको पाइएको छ, हत्या नै हुनसक्छ, अनुसन्धान भइरहेको छ ।’
चिनेजानेकै मानिसले हत्या गरेको हुनसक्ने स्थानीयबासीले बताएका छन् । प्रहरी शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान लगेको छ । ‘पोष्टमार्टमका लागि प्रतिष्ठान लगिएको छ, चोट भएकै कारणले पनि हत्या हो भन्ने हो तर पोष्टमार्टम रिपोर्टले देखाइहाल्छ’, उनले भने ।
ऐलानी जग्गामा घर बनाएर बसेका मृतक लिम्बू घरको तल्लोपट्टि रहेको जग्गामा तरकारी खेती पनि गर्दै आएका थिए । स्थानीयका अनुसार घरमा उनी एक्लै बस्ने गर्दथे । सानो स्वरले बोल्ने लिम्बू शान्त स्वभावका थिए ।
राति १२ बजेसम्म श्रीमतीसँग फोनमा बोलेका थिए लिम्बू
मृतक लिम्बूकी श्रीमती इजरायलमा काम गर्दै आएकी थिइन् । स्थानीय वसन्तकुमारी लिम्बूका अनुसार मृतक लिम्बूले राति १२ बजेसम्म इजरायलमा रहेकी श्रीमतीसँग कुराकानी गरेका थिए । ‘मङ्गलबार राति १२ बजेसम्म फोनमा कुराकानी भएको भन्ने जानकारी आएको छ’, उनले भनिन्, ‘त्यसपछि बिहान भएपछि धेरैपटक फोन गर्नुभएछ, फोन नउठेपछि हामीलाई घरमा गएर हेरिदिनुपरयो भनेर फोन गर्नुभएको थियो ।’
घटनास्थलमा रगत लतपतिएको भेटिएपछि खबर गरयौंः प्रत्यक्षदर्शी
मृतककी श्रीमतीले शुरुमा इजरायलबाट बुबालाई फोन गर्नुभएछ । त्यसपछि बुबालाई नउठाएपछि मेरोमा फोन आयो । बिहानदेखि दाजुले फोन उठाउनुभएको छैन, दाजुलाई के भयो एकपल्ट हेरिदिनुपरयो भनिन् । हामी ८–९ जना मिलेर गेटबाट भित्र छिरयौं । घरको गेट पनि खुल्लै थियो । अगाडिको ढोका थोरै खुल्ला थियो । पछाडिको ढोका चाबी नलगाइएको अवस्थामा थियो ।
घरको वरिपरी सिमेन्टको गारो लगाइएको र घरको पछाडि थोरै जग्गा खाली राखिएको ठाउँमा पुग्दा रगत लतपतिएको देख्यौं । (हे. तस्वीर) त्यसपछि प्रहरीलाई खबर गरयौं । दुईजना प्रहरी आएर सबैतिर (घर भित्रलगायत) हेरे । उहाँहरुले केही भेट्नुभएन । भित्र नभेटेपछि बाहिर हेरौं भनेर निस्किएका थियौं । दिदीको बोजुले ट्याङ्कीमा हेर्दा ट्याङ्कीमा रगत लतपतिएको देख्नुभएछ । त्यसपछि प्रहरीले कसेर लगाइएको ट्याङ्कीको बिर्को खोलेर हेरे । प्रहरीले लाश यही छ, टाउको देख्यौं भने ।
(छिमेकी वसन्तकुमारी लिम्बूसँगको कुराकानीमा आधारित)

शव लुकाइएको ट्याङ्की ।

रगत लतपतिएको स्थान ।

प्रहरीले ट्याङ्की काटेर निकालेको शव ।

मृतक लिम्बूले घरछेऊमा तरकारी लगाएको स्थान ।

बुधबार राति मृतक लिम्बूको घरमा भेला भएका स्थानीय ।

प्रहरी शव निकालेपछि ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप