धरानमा खानेपानीको ट्याङ्कीभित्र भेटियो शव

मारेर खानेपानीको ट्याङ्कीमा फालेको आशङ्का


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १३

धरानः धरान-५ मा एकजनाको शव खानेपानीको ट्याङ्कीभित्र भेटिएको छ ।
धरान-५ तल्लो देउरालीको सुन्दरवस्तीमा एकजनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘शव भेटियो भन्ने सूचना पाएपछि हामी यहाँ आइपुगेका छौं’, उनले भने, ‘शव निकालिहालेका छैनौं, अनुसन्धानको टोली आइपुगेपछि निकाल्छौं ।’
प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा रहस्यमय तरिकाले हत्या भएको हुनसक्ने आशङ्का छ । नजिकै ह्याम्मरलगायतका धारिलो हतियार बरामद भएको छ भने रगतका टाटाहरु देखिएको प्रहरीले जनाएको छ ।
करिब ४७ वर्षीय विनोदलिम्बूको घर नजिकै रहेको खानेपानीको ट्याङ्कीमा शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको पत्नी पनि इजरायलमा नै रहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले मारेर खानेपानीको ट्याङ्कीमा फालेको बताएका छन् ।
मृतककी श्रीमतीले फोन गर्दा नउठेपछि स्थानीयलाई फोन गरेकी थिइन् । स्थानीयले घरमा आएर हेर्दा ट्याङ्कीमा शव फेला परेको बताएका छन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । मृतक लिम्बू सोही ठाउँमा खेती गर्दै आएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप