धरानमा पुल लथालिङ्ग

ठेकेदारको चरम लापरवाही, ५ वर्षमा पनि बनेन, फेरि सेटिङमा सुटुक्क म्याद थप, स्थानीयलाई सास्ती, धरान आउन एक फन्को घुम्छन् स्थानीय (भिडियो पनि)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन १३

धरानः धरानमै ५ वर्षमा पनि पुल नबन्दा स्थानीयबासीले सास्ती खेप्दै आएका छन् ।
धरान-५ स्थित खैरेनी-देउराली (माथिल्लो पानबारी पुग्ने) पुल अहिलेसम्म ‘पुरै कम्प्लिट’ नभएको स्थानीयबासीले बताएका छन् । गत साल नै बनिसक्नुपर्ने पुल अहिलेसम्म नबन्दा स्थानीयबासी आजित समेत भएका छन् । ठेकेदारको लापरवाहीका कारण पुल अलपत्र बनेको स्थानीयबासीले बताएका छन् ।
मृत सञ्जीवनी विल्डर्स जेभी प्रालिले साढे ७ करोड रुपैयाँमा यो पुल बनाउनका लागि २०७४ मा सम्झौता गर्दै २०७६ मा सक्ने सम्झौता गरेको थियो । तर २०७६ देखि दुईपटकसम्म म्याद थपिएको र थपिएको म्यादभित्र पनि पुल नबनेको हो ।
समयमै काम भएको भए केही वर्षअघि नै पक्की पुल बनिसक्थ्यो । स्थानीयबासीले सास्ती खेप्नु पर्दैन थियो तर अहिले पनि स्थानीयबासी तल्लो पानबारी हुँदै घुमेर धरान बजार आउनुपर्ने बाध्यता छ । ‘हिउँदयाममा त केही समस्या नहोला तर वर्षायाममा साह्रै समस्या छ’, स्थानीय हिमाल थापा भन्छन्, ‘पुल नहुँदा अँधेरी खोलामा आएको बाढीले लैजान्छ कि भन्ने पीरले तल्लो पानबारी हुँदै धरान प्रवेश नगरी सुखै छैन ।’ पुलपुलेसो, बाटोघाटोको समस्या हुँदा कृषि उत्पादन बजारसम्म लैजान समेत असहज हुँदै आएको उनी बताउँछन् ।
प्राविधिक र निर्माण कम्पनीको लापरबाहीका कारण पुल अलपत्र परेको उनको भनाइ छ । पुल सम्पन्न हुन एक लेयर बाँकी रहेको तर त्यो पनि त्यतिकै थन्किएको उनले बताए ।

स्थानीय सुकबहादुर सम्वाहाम्फे (लिम्बू) ले पुल नहुँदा स्थानीयले वर्षातको समयमा बढी सास्ती खेप्दै आएको बताए । ‘पुल नहुँदा सास्ती बेहोर्दै आएका छौं,’ उनले भने, ‘बर्खाका चार महिना खोला वारपार गर्नै सकिँदैन । कि त बनाउन सकिँदैन भनेर हात झिक्नुपरयो कि निर्माण थाल्नुपरयो र सकिपनि हाल्नुपरयो ।’
वडाध्यक्ष सन्तोष लिम्बूले पुल नहुँदा जनताले सास्ती ब्यहोर्दै आएको र आफूहरुको कुरा समेत कसैले नसुन्ने गरेको बताए । ‘खासमा यो पुल बनाएको करिब ५ वर्ष भइसकेको छ तर म्याद थप्दै जाँदा समस्या भएको छ, पुल कहिल्यै बनेन ।’
स्थानीय प्रदीप कार्कीले सङ्घीय सरकारबाट आएको बजेटले पुल बनेपनि अहिलेसम्म बन्न नसकेको बताए । उनले सङ्घीय सरकारको बजेटबाट यो पुल बनेकोले सरकारको ध्यान यतातर्फ जानुपर्ने बताए । ‘सरकारले पैसा दिएको छैन भन्दै ठेकेदार पन्छिँदै आएको पाइएको छ, यो सब नाटक हो वा के हो भन्नेबारेमा सरकार ‘एक्सन’ मा जान जरुरी देख्छु’ उनले भने ।
वडाध्यक्ष लिम्बूले ठेकेदारकै चरम लापरवाहीले सास्ती भोग्नुपरिरहेको बताए । ‘समयमा काम सम्पन्न गर्नु ठेकेदारको जिम्मेवारी हो तर म्याद थप्दै गइरहेको हामीले पाएका छौं’, उनले भने ‘यतिका वर्षसम्म पनि पुल नबनाइ अल्झाएर राख्नु ठेकेदारको चरम लापरवाही हो भन्ने हामीले बुझेका छौं ।’
स्थानीयबासीले सो निर्माणमा भ्रष्टाचार समेत भएको आशङ्का गरेका छन् । ‘म्याद थप्दै लाने वा अन्य कारणले यहाँ भ्रष्टाचार भएको छ भन्ने हाम्रो आशङ्का छ’, स्थानीयबासी भन्छन्, ‘यसको पनि सत्यतथ्य बाहिर आउनुपर्छ ।’
स्थानीय धनबहादुर राईले भने यसपटक पनि ठेकेदारले सेटिङमा सुटुक्क म्याद थपेको बताए । ‘धरान जाने सेउतीको खोलाको पुल बन्नुअघि नै यो पुल बनाउने सम्झौता भएपनि बन्न सकेको छैन’, उनले भने, ‘अहिले आएर सबै काम सेटिङ मिलाएर सुटुक्क म्याद थप गरिएको पाइएको छ ।’ उनले पटक–पटक स्थानीयबासीले विरोध गरेपनि ठेकेदारले कामै गर्न नसकेको बताए । ‘पटक–पटक आन्दोलन पनि गरयौं, धरानका मेयर, उपमेयरसँग पनि धेरैपटक बस्यौं तर अहिलेसम्म काम हुन सकेको छैन’, उनले थपे, ‘अब ठेकेदारकै घरमा पुगेर विरोध जनाउने अवस्था आइसकेको छ, सडकबाटै पार लगाउने हिसाबले सायद हामी त्यहाँसम्म पनि पुग्न सक्छौं ।’ निर्माण कम्पनीका ठेकेदार हसबुल मियाँले आफूहरु काम गर्ने मात्रै भएकोले कति बजेट र कुन कम्पनीले काम गरिरहेको आफूलाई केही थाहा नभएको बताए । ‘हामी काम गर्ने मान्छे हौं, कति बजेट, कुन कम्पनीले काम गरिरहेको छ, कहिलेसम्म काम सक्नुपर्ने हो त्यो थाहा छैन, यति बुझौं,’ उनले फोन काट्दै भने, ‘अरु बुझ्नुपरे इटहरीसम्म पुग्नुहोस् ।’
तल्लो पानबारी हुँदै घुम्छन् विद्यार्थी- स्थानीय
वर्षातको समयमा अँधेरी खोलामा बाढी आउने गर्दछ । बाढी आएको बेला स्थानीय, विद्यार्थी तल्लो पानबारीको बाटो हुँदै धरान बजार प्रवेश गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासी बताउँछन् । ‘अहिले त्यहाँ पुल नबनेको कारण टेम्पोमा दिनको १०० रुपैयाँ तिरेर ओहोरदोहोर गर्नुपरेको स्थानीयबासी बताउँछन् । सुकबहादुर भन्छन्, ‘हुनेले त १०० तिर्लान्, नहुनेले के तिर्नु, त्यही कारण पनि अधिकांश विद्यार्थी स्कुल जानबाट वञ्चित हुनुपरेको अवस्था छ ।’
उनले यसले गर्दा सरकारी स्कुल पढ्ने बालबालिका शिक्षाबाट बञ्चित हुँदै आएको बताए । ‘विशेषतः सरकारी स्कुल पढ्ने बालबालिकाको आर्थिक अवस्था पनि नहोला, त्यसो भएपछि विद्यार्थी स्कुल नै जाँदैनन् ।’ उनी थप्छन् ।
ठिङ्गाबारी विकासमा पछाडि
धरान उपमहानगरपालिकामै पर्ने यो वडा शिक्षा, स्वास्थ्य, विकासलगायतका कुरामा पछाडि रहेको स्थानीयबासी बताउँछन् । करिब २४ सय घरधुरी रहेको यस ठाउँमा विशेषतः बाटोघाटोको असुविधा रहेको सुकबहादुर बताउँछन् । ‘धरानका अन्य वडामा पिचमाथि पिच गर्न पनि भ्याएका छन्’, स्थानीय सम्वाहाम्फे भन्छन्, ‘तर यहाँ हिलो र धुलाम्मे बाटोमा हिँड्नुपरिरहेको छ ।’ उनले व्यङ्ग्यात्मक तरिकाले थपे, ‘हिलोमा खाली खुट्टा हिँड्नुभन्दा मेयर, उपमेयरले पानीबुट उपलब्ध गराइदिए हिँड्न सजिलो हुन्थ्यो कि ।’

वडाध्यक्ष भन्छन्- बजेट नै अपुग
वडाध्यक्ष लिम्बूले भने बजेट अपुग भएपछि थोरै काम मात्रै गर्दै आएको बताए । यस आवमा १ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको बताउँदै भने, ‘यसअघिका आवमा ६४ लाख रुपैयाँभन्दा बढी बजेट नै परेन, कसरी हुन्छ सोंचेजस्तो विकास ?’
उनले हाल उनले हिरा टर्निङ बनाएको, आरसिसी ढलाइको सडक, देउराली खानेपानी सरसफाइ उपभोक्तामा खानेपानी ट्याङ्की निर्माण (७ लाख लिटर), देवीगाउँ, झोडापाखा खानेपानी २२ लाख लगानीमा अढाइ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिएको बताए । उनले ५ नं. वडामा २० फुटको बाटोमा ड्रेनचाहिँ सबै बाटोमा बनाइसकिएको बताए ।
बिजुलीको पोल सिमेन्टेड, एउटा मात्रै घर हुनेकोमा पनि बिजुली पुरयाइएको उनले जानकारी दिए । उनले आफू जनप्रतिनिधिमा निर्वाचित हुनुअघि माथिल्लो निशानडाँडा स्कुलदेखि जडेआहाल जाने बाटो आफ्नै व्यक्तिगत लगानीमा करिब २ लाख ७६ रुपैयाँ खर्चेर निर्माण गरिएको समेत बताए । उनले वडामा विशेषतः महिला र बालबालिका लक्षित कार्यक्रम ल्याएर अन्य काम थालिसकिएको पनि बताए ।

तस्वीरमा ठिङ्गाबारी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप