धरान उपमहानगरद्वारा फरक क्षमता भएकालाई सामाग्री वितरण


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ६

धरानः धरानमा फरक क्षमता भएका व्यक्तिलाई ह्वील चियरसहित आवश्यक सामग्री वितरण गरिएको छ ।
धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखे, ट्वाइलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड वितरण गरेको हो । सो सामग्री धरान उपमहानगरपालिकाको सभाहलमा मेयर तिलक राईले वितरण गरेका थिए ।
उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले ५६ जना, ह्वीलचियर, ट्वाइलेट ह्वीलचियर ५ जना, एल स्टीक ५६ जना र हियरिङ एड ५ जनालाई वितरण गरिएको जानकारी दिइन् । उनका अनुसार केही अशक्त व्यक्तिहरु छुटेका छन् । उनीहरुलाई आगामी कार्यक्रममा वितरण गरिने उनले बताइन् ।
प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाण्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याएको यसको सम्झौता ३ वर्षको रहेको छ । वार्षिक रुपमा ७२ लाख रुपैयाँ बजेट छुट्याएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एक वर्ष सकिएको उनले बताइन् ।
मेयर राईले अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमअन्तर्गत प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाण्डेसनको संयुक्त साझेदारीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । मेयर राईका अनुसार धरानभरीका फरक क्षमताका व्यक्तिलाई, उनीहरुकै माग अनुसार भौतिक सामग्री वितरण गरिएको हो ।
मेयर राईले भने, ‘यदि तपाईको छिमेकमा तपाईकै आफन्त, तपाई जस्तो कोही छुटेको छ भने पनि उहाँहरुलाई पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । यो कार्यक्रम तपाईहरुकै लागि ल्याएको हो । यो तपाईहरुको अधिकार हो । अधिकार पाउनबाट कोही पनि बञ्चित नहुनुहोस् ।’
अशक्त र फरक क्षमता भएर बिरामी भएकालाई उपचारका लागि वडावडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरुलाई खटाइने मेयर राईले बताए ।
‘फरक क्षमता भएकालाई पनि भ्याक्सिन आउँदैछ । हामी सूचना जारी गर्छौ । भ्याक्सिन लगाउन कोही पनि नछुट्नुहोला । भ्याक्सिन लगाउने केन्द्र तोकेर हामी तपाईहरुलाई खबर गर्छौ । भ्याक्सिन लगाउन अत्यन्तै जरुरी छ । कोरोनाबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भ्याक्सिनप्रति विश्वास गर्न पनि अनुरोध गर्छु,’ मेयर राईले भने ।
गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरुको स्वास्थ्य शिविर गरिएको थियो । गत वर्षको असारबाट यो कार्यक्रम सुचारु हुनुपर्ने हो । कोरोनाका कारण गत पुसदेखि सञ्चालनमा ल्याइएको उनले बताइन् । सामाजिक विकास महाशाखाका अनुसार धरानमा लगभग ११ सयदेखि १२ सयको हाराहारीमा असक्त व्यक्तिहरु रहेका छन् । उनीहरुलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको थियो । केही दिनअघिमात्र उनीहरुलाई क वर्ग रातो, ख वर्ग निलो, ग वर्ग पहेलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको जनाएको छ । अझै खोजी गर्नका लागि सामाजिक विकास महाशाखाले १० जना सहजकर्ता खटाइएको जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप