बीपीलाई कति सम्झियौं, कति भुल्यौं ?


  • विपीन न्यौपाने
  • २०७८ साउन ६

बीपी कोइरालाले गरिब किसान, मजदुर, विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाइलट, वकिल, सैनिक, भूपू सैनिक, भूपू राष्ट्रसेवक, पत्रकारहरुलगायतका विषयमा उनीहरुको अवस्था, समस्या, उनीहरुको राष्ट्र निर्माणका लागि क्षमता र योग्यताका बारेमा सबैलाई मान्य हुने सर्वमान्य सिद्धान्त उहाँमा थियो ।
जननायक बीपी कोइरालाले भन्ने गर्नुहुन्थ्यो, हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजीवी छन् । जसलाई बिहान बेलुुका खान लगाउनको समस्या छ । हो नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजीवी मजदुरहरुको हो । जब म नेपालको कल्पना गर्न थाल्दछु तिनै गरिब, श्रमजीवी नेपालीहरुको तस्विर मेरो मनमा झल्झली आउँछ । हामी राजनीतिमा लागेको खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले समयमा नै औषधी पाओस्, पढ्न नपाएका केटाकेटीहरुले पढ्न पाउन् भनेर नै हामीहरु राजनीतिमा लागेका हौं । मन्त्री हौंला, ठुल्ठूला कुर्सीमा जाउँला भनेर राजनीति गरेका होइनौँ । बीपी कोइराला समाजवादका विषयमा भन्नुहुन्थ्यो कि समाजवाद भनेका हाम्रो मुलुक किसानहरुको, गरिबहरुको, श्रमजीवीहरुको मुलुुुुुक हो । जसले गाउँमा बस्ने गरिब, किसान र श्रमजीवीहरुको भलाइ गर्दछ । जसले उनीहरुको मुहारमा मुस्कान ल्याउन सक्दछ । त्यही नै असली समाजवाद हो । के आज नेपाली कांग्रेस पार्टीमा किसान, गरिब र बलाई चिन्ने, नेता छ ? के गरिब, किसान र श्रमजीवीले नेपाली कांग्रेसको नाम लिन्छ ? जब गरिब र श्रमजीवी जनताले नेपाली काँगेसलाई चिन्दैन अनि कसरी बीपी लाई चिन्दछ ?
अहीले हामीले सत्य मानी देखीरहेका छौँ कि असली राष्ट्रवादीहरु, प्रजातन्त्रवादीहरु इमान्दार व्यक्तिहरु जो शोषण, भ्रष्टाचार, दूराचार, अत्याचारको विरोधमा छन् । विस्तारै पार्टीका गतिविधिहरुबाट उनीहरु टाढा हुने अवस्था आउँदै छ । तर, जसले आज देशलाई, पार्टीलाई यस अवस्थामा ल्याए, जो बाहिरबाट सञ्चालित छन् र अरु राष्ट्रप्रति बफादार छन् । पार्टीभित्र उनीहरुको हालिमुहाली बढ्दै गइरहेको छ । त्यसैले त अहिले राष्ट्रियता, पार्टी र लोकतन्त्रप्रति नै खतरा उत्पन्न भइरहेको छ ।
आज देशमा परिर्वतन भएको यतिका बर्ष भइसक्यो । देशमा धेरै शासकहरु आए–गए । तर, देश र जनताले के पाए ? यसको जिम्मेवारी लिने कोही छ ? महामानव बीपी कोइरालाले २०१६ सालमा यो मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा जनताको बीचमा कसम खाएर भन्नुभएको थियो कि म १५ बर्षमा सबै नेपालीहरुलाई मेरो हैसियत बरावरको बनाउने छु । तर, आज सम्म देशमा कति जना प्रधानमन्त्रीहरु भए कसैले यसरी भन्न सकेको छ ।
संविधानका विषयमा बीपी कोइरालाको आफ्नो स्पष्ट धारणा थियो कि संविधान भनेको त्यस्तो हतियार हो, जसले जनताको भलाइ पनि गर्न सक्दछ र शोषण पनि । संविधानानुसार शासन सत्ता सञ्चालन गर्ने शासक पनि प्रजातान्त्रिक आचरणको हुनुपर्दछ । संविधानमा लेखिने कुराहरु जनताको पक्षमा हुनुपर्दछ । त्यसैले त एक थान असली र लोकतान्त्रिक संविधानका लागि हजारौँ हजार नेपालीहरुले बलिदानी दिनुप¥यो, हजारौँ हजार मानिसहरु घाइते, अपाङ्ग, घरवारविहीन हुन पुगे । तर, देश र नेपाली किसान, गरिब र श्रमजीवी जनताले न्याय भने आजका मितिसम्ममा पनि पाउन सकेका छैनन् ।
बीपी कोइरालाले चिन्ता व्यक्त गर्दै भन्नुहुन्थ्यो कि देशको राष्ट्रियस्तरदेखि तल्लोस्तरसम्ममा यहाँ एउटा यस्तो वर्ग हुन्छ, न त्यो सामन्त हो, न पुँजीपति । पुँजीपति वर्गलाई पनि म धेरै राम्रो व्यापार, व्यवसाय गरेर प्रशस्तै धन आर्जन गर्न सकूँ भन्ने, आम्दानी धेरै भएपछि मेरो पनि र देशको बिकाश हुन्छ भन्ने स्वार्थ हुन्छ । तर, उसले श्रमजीवी मजदुरहरुको मैले कति शोषण गरिरहेछु भन्ने ख्याल राख्दैन । त्यस्तै अर्को सामन्ती वर्गलाई पनि खेतिपातीमा स्वार्थ हुन्छ । यद्यपि उसले किसान र श्रमजीवीहरुको शोषण गर्दछ,तैपनी पानी परोस्, उब्जनी धेरै होस् भन्ने उसको चाहाना हुन्छ ।
यहाँ एउटा खतरनाक वर्ग छ, देशको मथिल्लो तल्लो तहदेखि तल्लोसम्म, जो अधिकारको केन्द्रमा बस्दछ धन कमाइरहन्छ । त्यस वर्गलाई देशको ,किसानको,गरिबको,श्रमजीवीहरुको कुनै वास्ता हँुदैन । देशको बजेट र बाहिरबाट विभिन्न दातृ राष्ट्रहरुबाट आएको बजेटसमेत अधिकांश हिस्सा प्रत्यक्ष अप्रत्यक्षरुपमा उसैको पाकेटमा जान्छ । देशमा जति व्यापारको नाउँमा कालो बजारी हुन्छ, त्यसमा पनि उसैको हिस्सा हुन्छ । ऊ केही काम गर्दैन, बिहान उठेदेखि सुटेडबुटेडमा नै हुन्छ, सबैभन्दा धेरै सम्पत्ती आर्जन गरेको हुन्छ । उसको जीवनशैली पूँजीपती र सामन्ती वर्गभन्दा माथिल्लो स्तरको हुन्छ, त्यो एउटा भुँईफुट्टा वर्ग हो । अहिले नेपाली कांग्रेसको केन्द्रीय तहदेखि स्थानीयसम्म त्यही भुईफुट्टा वर्गको जालोले ढपक्कै ढाकेर कांग्रेसलाई चल्न बल्न नदिई अँठ्ठाइरहेको छ । यो जालो तोड्न नेपाली कांग्रेसका माथिदेखि तलसम्मका इमान्दार र असली नेता तथा कार्यकर्ताले भ्याउ नै पाउन सकेका छैनन् । किनकि अहिले उनीहरुलाई पार्टी भन्दा गुट ठुलो हो भनी आन्तरिक प्रशिक्षण चलाइएको छ । सबै गुटमा असल मान्छेहरु हुन्छन् भन्ने चेतनाको कमी छ र उनिहरुले गुटका नाममा तिनै भँुईफुट्टा वर्गलाई नेता मान्नुपर्ने बाध्यता उनीहरुलाई छ । अब हामी अड्कल लगाउँ त ती गुटमा समर्पित नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसलाई, जननायक बीपीलाई कसरी चिन्छन् त ? पार्टी जतिसुकै पुरानो भए पनि, आदर्श र सिद्धान्त राम्रो भए पनि त्यसमा काम गर्ने सबै तहका नेता तथा कार्यकर्ता असल भएनन् भने आदर्श र सिद्धान्तको केही अर्थ रहँदैन ।
जननायक बीपी कोइराला कम्युनिष्टहरु र पूर्वपञ्चहरुका विषयमा बडो स्पष्ट हुनुहुन्थ्यो कि कम्युनिष्टहरु जनताका बीचमा कोरा आदर्शका कुरा गरेर, चर्का आकाश पाताल जोड्ने कुरा गर्दछन्, जनतालाई दिगभ्रमित पार्दछन् । पूर्वपञ्चहरु व्यवहारिकताका कुरा गरेर अलमल्याउने कोसिस गर्दछन् । यिनीहरुसँग कुनै पनि हालतमा सँगै राजनीतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु जस्तै हो । तर, नेपाली कांग्रेसले केवल शत्ताका लागि २०४६ सालको आन्दोलनदेखि आजका मितिसम्म कुनै न कुनै ढंगले नेपालमा रहेका विभिन्न नामधारी कम्युनिष्टहरुको संगतलाई छोड्न सकेको छैन । हाल आएर माथिल्लो तहदेखि तल्लोसम्मका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता हुदाँ–हुँदा भोट साटासाट गर्ने, सत्ताको मोलमोलाइचा गर्नेदेखि, आश्चर्यलाग्दो कुरा के छ भने दिउँसो–दिउँसो कम्युनिष्टहरुको चर्को विरोध गर्ने, रात परेपछि कम्युनिष्टहरुसँग सत्ता र निजी स्वार्थका लागि सम्झौता गर्ने चरित्रले नेपाली कांग्रेसको आन्तरिक संगठन अत्यन्तै कमजोर हुँदै गइरहेको छ ।
जननायक बीपी कोइरालाले भन्ने गर्नुहुन्थ्यो सक जुनै पनि तहको जनताको प्रतिनिधिले जनताको सेवा गर्दा वा उनीहरुका नाममा योजना बनाउँदा गरिब किसान, श्रमजीवी मजदुरको तस्विर अगाडि राखेर योजना बनाउनुपर्छ । के आजका जनप्रतिनिधिहरु त्यसो गरेका छन् ? आजका हाम्रा जनप्रतिनिधिहरुले किसान, गरिब, मजदुरहरुलाई चिन्दछन् ? जब जनप्रतिनिधिहरुले उनीहरुलाई चिन्दैनन् भने नेपाली कांग्रेसलाई कसरी चिन्दछन्, बीपीलाई कसरी चिन्दछन् त बीपी कोइरालाको जीवन दुःखै दुःखमा बितेको हामी पाउँदछौँ । व्यक्तिगत सुख, सुविधामा उहाँले आफूलाई कहिल्यै पनि ख्याल गर्नुभएन । एउटा स्मरणीय घटना छ, २०१६ सालमा बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुदाँ, उहाँकी धर्मपत्नी सुशीला आमाले बीपी कोइरालासँग काठमाडौँमा एउटा आफ्नै घरको इच्छा राख्दा उहाँले हामीलाई किन घर चाहियो, हामीहरु यहाँ राम्रैसँग बस्न पाइरहेछौँ, विराटनगरमा हाम्रो आफ्नै घर छ त भने । अन्ततः सुशीला आमाको काठमाडौँमा घर बनाउने इच्छा कहिल्यै पूरा भएन । बीपी कोइरालाले चाहेको भए त्यो त मामुली कुरा थियो । के आज हाम्रो पार्टीमा यो हिम्मत र तागत भएका नेताहरु छन् ? के उनीहरुको सबै दैनिकीलाई राम्ररी अनुसन्धान गर्ने हो ?
यो २१ औं शताब्दी हो । सूचना तथा सञ्चारको युग हो यो । मानिस, किसान होला, गरिब होला, श्रमजीवी होला । तर, ऊ सूचनामा धनी छ, सबै कुराको उसले हेक्का राखिरहेको छ, गुहु र गोबरलाई छुट्टाउन ऊ सक्दछ ।
आज नेपालमा जननायक बीपी कोइरालाको आदर्श, विचार, सिद्धान्त र जीवनशैलीलाई बुझ्ने नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा छन् ? छैनन् । अलिअलि गर्दै हरेक अधिवेशनबाट विस्तापित हुँदैछन् । बीपी कोइरालाकोे सिद्धान्त र विचारलाई नबुझ्ने मानिसहरुको बाहुल्यता नभएपछि आज नेपालको राजनीतिमा बीपी कोइरालाको विचार र सिद्धान्त डाँडापारिको अस्ताउन लागेको घामजस्तै भएको छ ।
हामी स्पष्टताका साथमा भन्न सक्छौँ कि विश्व मानचित्रमा र विश्व राजनीतिमा नेपाल प्राकृतिक स्रोतसाधनको हिसाबले हराभराको देश हो भने राजनीतिक र नैतिकरुपले मरुभूमिको देश हो ।
अत्यन्तै शालीन र भ्रद स्वभावका धनी जननायक बीपी कोइरालालाई नेपालमा धेरैले चिन्न र बुझ्न सकेनन् । आज धेरै पक्षहरु पछुतो मानिरहेछन् । धेरैले बीपी नेपालको भूगोलमा जन्म लिनु नै विश्वमा प्रजातान्त्रिक अभियानका लागि ठूलो क्षति हो पनि भनेका छन् । सौभाग्यले बीपी नेपालमा जन्मनुभएको थियो, तर के गर्नु हाम्रो देशको राजनीतिले उहाँलाई पहिचान गर्ने क्षमता समयमै राख्न सकेन । अभूतपूर्व क्षमताका धनी बीपीलाई आज सबैले सम्झी–सम्झी पछुतो मानिरहेका छन् ।

यता पनि:

जननायक स्वर्गीय बिपी कोइरालालाई नेपाली जनताले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वका रुपमा स्मरण गर्दै आएका छन्। नेपाली राजनीतिमा मात्रै नभई साहित्यको क्षेत्रमा समेत उहाँ उत्तिकै स्मरणीय हुनुहुन्छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज ३८ औं स्मृति दिवस । १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मनु भएका बीपी कोइरालाले नेपाल र भारतमा विभिन्न समयमा भएका स्वतन्त्रताका आन्दोलनमा अर्थपूर्ण सहभागीता जनाउनुभएको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफ्नो जीवन राजनीतिक सङ्घर्षमै विताउनुभयो ।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरि नेपालमा राणाविरोधी आन्दोलनलाइ संस्थागत रुपमा अघि बढाउनमा समेत उहाँको ठूलो योगदान थियो। वी पी कै नेतृत्वमा २००७ सालमा क्रान्ति भै जहानीया राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना भएको थियो। २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेस दुईतिहाई बहुमत सहित विजयी भएपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । राजा-प्रजा समान हुनुपर्छ र मुलुकमा पूर्ण समाजवाद स्थापना हुनुपर्छ भन्ने मान्यता प्रधानमन्त्री बिपी कोइराला राख्नुहुन्थ्यो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद समेत भङ्ग गरी वीपी कोइराला सहित प्रमुख नेताहरूलाई बन्दी बनाएपछि पुनः उहाँको जीवन देशमा प्रजातान्त्र पुनर्स्थापना गर्नमै केन्द्रित भयो।
उहाँले करिब १५ बर्ष जेलजीवन र आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वताउनुहुन्छ ।
घाँटीको क्यान्सर रोगबाट पीडित वीपीको ६८ वर्षको उमेरमा २०३९ साल साउन ६ गते निधन भयो। बिपी स्वदेश फर्किएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको थियो । परिणामतः २०३७ सालमा राष्ट्रिय जनमत सङ्ग्रह, २०४२ सालमा नेपाली काँग्रेसद्वारा सत्याग्रह र २०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापना भएको थियो ।
स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, हिटलर र यहूदी, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप