आफन्तले बुझे शव

धरानको बीपी प्रतिष्ठानबाट नियन्त्रणमा लिइएका छाडिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ५

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले छाडेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले नियन्त्रणमा लिइएका ७ जनालाई छाडिएको जानकारी दिए । ‘आफन्त आक्रोशित हुँदै अस्पतालको शिशा तोडफोड गर्दै प्रदर्शन गर्न थालेपछि ७ जनालाई नियन्त्रणमा लिइएको थियो, अहिले छाडिएको छ’ उनले भने ।
सोमबार दिउँसो उपचारमा लापवाही भएको भन्दै प्रतिष्ठानमा प्रदर्शन गर्दा केहीबेर तनावग्रस्त भएको थियो । कोभिड अस्पतालमा उपचाररत ४२ वर्षीया महिलाको उपचारमा लापरवाही भएको र मृत्यु भएको भन्दै आफन्त आक्रोशित बन्दै प्रदर्शन र तोडफोड समेत गरेका थिए ।
दिउँसो वार्तामा पनि बसेको र वार्तापछि सिसी टिभी फुटेज हेर्ने सहमति बनेको थियो तर आफन्त पुगेर सिसी क्यामेरा हेर्न पुग्दा बिग्रिएको छ भन्दै हेर्न नदिएपछि उनीहरुले आक्रोशमा आएर तोडफोड गरेका थिए । सिसी क्यामेरामा हेर्न पाउँ भनेर माग गर्दा क्यामेरा बिग्रेको भन्दै उपचारमा संलग्न चिकित्सक नै पन्छिन खोजेपछि आफन्त आक्रोशित भएको मृतककी छोरी सुजाता तामाङले बताइन् ।
यसैबीच मृतकका आफन्तले शव बुझेका छन् । आफैं अन्त्येष्टी गर्ने भन्दै आफन्तले शव बुझेका हुन् । सिसी क्यामेरा हेर्दा मृतक रहेको ठाउँमा सिसी क्यामेराले नदेखेको पाइएपछि शव बुझेको आफन्तले बताएका छन् । ‘खासमा सिसी क्यामेरा हेरियो’, मृतककी छोरी सुजाताले भनिन्, ‘त्यसपछि शव लिएर फर्कियौं ।’ प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले आफन्तले शव बुझिसकेको जानकारी दिए ।
धरान–१७ स्थित आफ्नै घरमा बाथरुममा लडेर अस्पताल पुरयाइएकी शान्ति तामाङको उपचारका क्रममा कोभिड अस्पतालमा सोमबार १ बजे मृत्यु भएको थियो ।
घरमा रहेको बाथरुममा लडेपछि उनलाई उपचारका लागि विजयपुर हस्पिटल लगिएको छोरी सुजाता तामाङले जानकारी दिइन् । विजयपुरबाट रेफर भएकी महिलाको प्रतिष्ठान पुगेपछि कोरोना पोजेटिभ रिपोर्ट समेत आएको र उनको कोभिड अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् ।
तर उपचारमा लापरवाही, आपूmहरुलाई समयमा जानकारी नदिएको र आइसियुमा उपचार नगरेको आफन्तको भनाइ छ । अस्पतालले उपचारमा चरम लापरबाही गरेको कारण मृत्यु भएको भन्दै आफन्तले छानबिन हुनुपर्ने माग गर्दै आएका थिए । उनीहरुले कोरोना रिपोर्ट सार्वजनिक गरिनुपर्ने, मृत्यु हुनुअघि बिरामीको हालत कस्तो थियो, त्यसअघि कसरी उपचार भयो भन्नेबारेको सिसीटिभीको फुटेज हेर्न पाउनुपर्नेलगायतका माग राखेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप