बीपी प्रतिष्ठानमा छानविन हुनुपर्ने माग

धरानमा बाथरुममा लडेकी महिलामा कोरोना देखिएपछि…, बीपी प्रतिष्ठानमा लापवाही भएको भन्दै आफन्त आक्रोशित, छानबिन हुनुपर्ने माग


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ५

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत महिलाको उपचारमा लापरवाही भएको भन्दै आफन्त आक्रोशित भएका छन् ।
धरान–१७ स्थित आफ्नै घरमा बाथरुममा लडेर अस्पताल पुरयाइएकी महिलाको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका हुन् । सामान्य अवस्थामा भर्ना भएकी र आफन्तसँग पटकपटक कुराकानी गर्दै आएकी ती महिलाको उपचारमा लापरवाही भएको भन्दै आफन्त आक्रोशित भएका हुन् ।
स्थानीय महिला शान्ति तामाङ घरमा रहेको बाथरुममा लडेकी थिइन् । बाथरुममा लडेर पेटमा रगत जमेपछि उनलाई शुरुमा विजयपुर हस्पिटल लगिएको छोरी सुजाता तामाङले जानकारी दिइन् । ‘विजयपुर हस्पिटलले प्रतिष्ठानमा रेफर गरेपछि आमालाई प्रतिष्ठानको इमरजेन्सी लगिएको थियो, वार्डमा बेड खाली नभएको भन्दै फेरि इमरजेन्सीमै उपचार गरिएको थियो’, छोरी सुजाता भन्छिन्, ‘इमरजेन्सीमै रहँदा फेरि चिकित्सकले कोरोना देखिएको छ, कोभिड अस्पताल सार्नुपर्छ भने, त्यसपछि त्यहाँ सारिएको थियो तर मृत्युको खबर पो आयो ।’
आफन्तले महिलालाई ज्वरो, रुघाखोकीलगायत कोरोनाको अन्य लक्षण नदेखिएको दावी गरेका छन् । ‘न ज्वरो आएको थियो, न अन्य कुनै लक्षण नै थियो’, आफन्त सञ्जीता लिम्बू भन्छिन्, ‘तर पनि रिपोर्ट पोजेटिभ आएको छ भनियो र उपचार गरियो ।’
उनको सोमबार १ः०० बजे मृत्यु भएको जानकारी चिकित्सकले दिएको आफन्तले बताएका छन् । ‘आमा फोनमा बोल्दै आउनुभएको थियो तर साढे १२ बजेदेखि फोन लागेको तर नउठेपछि फोन गरिरह्यौं’, छोरी सुजाता भन्छिन्, ‘एकपल्ट उठ्यो अनि स्वीचअफ गरियो, यो सबै काम चिकित्सकहरुले गरेको हुनुपर्छ ।’
चिकित्सकले समेत बिरामीको अवस्था नर्मल छ भनिरहेको तर मृत्यु के कति कारणले भएको स्पष्ट हुनुपर्छ भन्ने आफूहरुको माग रहेको आफन्तले बताएका छन् । ‘सोमबार १२ बजेसम्म डाक्टरले नर्मल छ भनेको थियो । दिउँसो १ बजे मृत्यु भएको जानकारी दिए’, छोरी सुजाता भन्छिन्, ‘के कति कारणले मृत्यु भएको हो स्पष्ट पार्न माग गर्दा चिकित्सकले बेवास्ता गरेका छन् ।’
आफूहरुलाई समयमा जानकारी नदिएको र आइसियुमा उपचार नगरेको आफन्तको भनाइ छ । मृत्यु हुनु केही समयअघि चिकित्सक दौडिँदै बिरामीतर्फ गएको र आफूलाई शंका लागेको आफन्तले बताएका छन् । ‘नर्मल छ भनेको केही समयपछि चिकित्सक त्यतातिर दौडिँदै गएको पाइयो तर कसरी मृत्यु भएको हो भन्नेबारेमा स्पष्ट खुलाइँदैन, यहीँ हामीलाई शंका छ ।’ उनले भनिन् ।
अस्पतालले उपचारमा चरम लापरबाही गरेको कारण मृत्यु भएको भन्दै आफन्तले छानबिन हुनुपर्ने माग गरेका छन् । सामान्य अवस्थामा भर्ना भएकी बिरामीको के कसरी मृत्यु भएको हो सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले कोरोना रिपोर्ट सार्वजनिक गरिनुपर्ने, मृत्यु हुनुअघि बिरामीको हालत कस्तो थियो, त्यसअघि कसरी उपचार भयो भन्नेबारेको सिसीटिभीको फुटेज हेर्न पाउनुपर्नेलगायतका माग राखेका छन् ।
आफन्तले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् । ‘अहिलेसम्म शव बुझेकै छैन’, आफन्त भन्छन्, ‘स्पष्ट जानकारी दिएपछि मात्रै शव बुझ्छौं ।’
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले घटनाबारे बुझेर मात्र प्रतिक्रिया दिन सक्ने बताए । ‘म अहिले ‘क्लास’ लिइरहेको छु, अहिले केही भन्न सक्दिनँ, बुझेर मात्रै भन्छु ।’ उनले फोन सम्पर्कमा भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप