निषेधाज्ञामा पनि नरोकिएको आस्था

धरानको पिण्डेश्वरीमा फाट्टफुट्ट ‘लोकल बम’

(७ तस्वीर)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ४

धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) फाट्टफुट्ट देखिएका छन् । विशेषतः पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् ।
पहेंलो बस्त्रधारी बम पनि यसपटक भेटिएका हुन् । कतिपय मठ-मन्दिर बन्द छ भन्ने थाहा पाउँदा पाउँदै पनि आएका छन् भने कतिपयले थाहा नपाएको बताएका छन् । मन्दिरको ढोका नखुलेपछि बाहिरैबाट चियाउँछन्, ढोग्छन् र फर्किन्छन् ।
पिण्डेश्वर खुल्ला त छैन तर साउनको पहिलो सोमबार केही तिर्थालुहरू पिण्डेश्वर परिसरमा बाहिरैबाट दर्शन तथा पूजाका लागि पुगेका छन् । मूल मन्दिर खुला नभएपनि बाहिर रहेको ढोकाबाट पूजा गर्दै, ढोग गर्दै फर्किएको मूल पुजारी विनोद पोखरेलले बताए । ‘सामान्य अवस्थामा साउने सोमबार हजारौं दर्शनार्थी आउने गर्छन् ।’ उनले थपे, ‘यो वर्ष कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञा हुँदा मठ–मन्दिर पनि बन्द छन् ।’
बोलबम मेला नलगाउने भनेर पिण्डेश्व बाबाधाम समितिले निर्णय समेत गरिसकेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना नै जारी गरी साउन १० गतेसम्म निषेधाज्ञा थप्दै बोलबमलगायतका मेलामा सहभागी हुन नपाइने जनाएको छ ।
त्यहाँ पुग्दा अधिकांशको मुखमा मास्क देखिएको थियो । मन्दिर बन्द रहेपनि मन्दिर अगाडिका पसल भने केही खुल्ला छन् । फूलपाती बेच्ने, खाजाका पसल भने खुल्ला छन् ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले निषेधाज्ञामा पनि आस्था र विश्वास नरोकिएको बताए । पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुनेगर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ । धरानमा बोलबम भित्रिँदा चहलपहल, व्यापार व्यवसायमा वृद्धि मात्रै हुँदैन थियो धार्मिक पर्यटनमा टेवा पुग्ने गरेको थियो ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप