नेताको विश्वास गर्दैनन् जनता

कहाँ नेपाली नेता, कहाँ नेल्सन मण्डेला ?


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ साउन ४

त्यसो त जान्ने सुन्नेहरू के भन्छन् भने, सन् १९९८ मा नेल्सन मन्डेलाले संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र आफ्नो देशको प्रतिनिधित्व गरेर आएका प्रतिनिधिहरु सबैले आ–आफ्नो स्थानबाट उठेर ताली बजाएका थिए । सो दृश्य संयुक्त राष्ट्र सङ्घीय महासभाकै ऐतिहासिक र दुर्लभ दृष्यहरुमध्ये एक दृश्य थियो । त्यसअघि राष्ट्र सङ्घको महासभामा कुनै राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दा सहभागीहरु यसरी उठेर गडगडाहटरुपमा ताली बजाएका थिएनन् ।
हो यहाँ दक्षिण अफ्रिकाको इष्टर्न केपमा सन् १९१८ मा जन्मेका तिनै नेल्सन मनडेलाबारे केही लेखिनेछ । मन्डेला आपैm पनि तत्कालीन दक्षिण अफ्रिकाको सामन्तवादी समाजमा जन्मे, हुर्केका भए तापनि उनले सानै उमेरमा आफ्नो देशमा शासन सत्ता चलाइरहेका गोराहरुको रङ्गभेदी शासन र कालाजाति माथिको अत्याचारविरुद्ध लाग्ने अठोट गरेका थिए । फलतः उनले सन् १९४३ मा अफ्रिकी नेसनल काङ्ग्रेस (एएनसी) मा आवद्ध भएर अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । त्यस क्रममा मन्डेलाले २७ वर्ष लामो जेल जीवन बिताएका थिए । फलतः उनी विश्वकै मुक्ति आन्दोलनको पर्याय र आस्थाको केन्द्रविन्दु बन्न सकेका थिए ।
मन्डेलाका विभिन्न नामहरु थिए । त्यसमध्ये एक ‘मादिवा’ पनि हो । यसरी मादिवाले २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भए । तत् पश्चात मन्डेलाले सन् १९९३ मा तत्कालीन अपरथेड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो र समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न गरे ।
उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने गरी संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता पनि गरेका थिए । सो निर्वाचनमा मन्डेलाको दल एएनसी एक्लैले दुईतिहाई बहुमत पाएको थियो । त्यसो भए तापनि मन्डेलाले अहम् नदेखाएर सबै पक्षलाई समेटेर मिलीजुली सरकार गठन गरेका थिए । आफूले शासन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकमाथि हुने विभेद पूर्णनीतिको पूर्ण निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर आफ्नो मुलुकलाई नयाँ युगमा प्रवेश गराए । उनले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूर्ण विवादित सवालहरु तथा अफ्रिकी समाजमा विद्यमान विद्वेष र बेमेलहरुलाई सधैंका लागि हल गरेर अत्यन्तै छोटो समयमा सङ्क्रमणकालको सही व्यवस्थापन पनि गरेर देखाए । हुन पनि गोराविरोधी तथा नोवेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुले भने झैं ‘गहिरो रुपमा विभाजित देशलाई ऐक्यबद्ध बनाउन सक्नु’ मन्डेलाको सर्वाधिक र महत्वपूर्ण देन एवम् योगदान रहेको छ ।

सङ्घीयताको विषयमा मण्डेलाले भनेका थिए, ‘संघीयता भनेको इन्द्रेणी जस्तै सबै रङ्ग मिलेको हुनु पर्दछ, एकल जातीय सङ्घीयताले जनतामा वैमनश्यता र फाटो ल्याउँछ ।’ उनले दक्षिण अफ्रिकाको कुल जनसंख्याको मुस्किलले ९ प्रतिशत ओगट्ने अल्पसंख्यक गोरा जातिलगायत सम्पूर्ण अल्पसंख्यकहरुमाथि भविश्यमा कुनै किसिमको भेदभाव गर्न नपाइने कडा मानव अधिकारहरुको ग्यारेण्टीसहित ११ वटा स्थानीय भाषाहरुलाई राष्ट्रिय भाषाको रुपमा संविधानमै किटान गरे । तीनवटा प्रमुख शहरहरु प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशको समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटै राजधानीहरुमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत खडा गरेर विकेन्द्रीकरणको सिद्धान्तअनुरुप देशको सन्तुलित क्षेत्रीय विकासलाई पनि एकैसाथ अगाडि बढाएर व्यवहारिकरुपमै उदाहरणीय काम गरेर देखाए ।
तर, हाम्रो देश नेपालमा नि ? विडम्बनाको कुरा, हाम्रो देश नेपालका ठूलो भनिएका दलका ठूला नेताहरुले भने आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, मधेशी, पिछडिएको क्षेत्रलगायत अल्पसंख्यक जातजाति र समुदायमाथि सदियौंदेखि थोपरिएका जातीय, भाषिक, धार्मिक, लिङ्गीय, क्षेत्रीय विभेद, शोषण, दमन, उत्पीडन र बहिष्करणको अन्त्य गरी उनीहरुको ऐतिहासिक भूमि, जातीय स्वपहिचान, भाषा, धर्म, भेषभुषा आदिको सम्मान गर्दै एवं आइएलओ महासन्धि १६९, यूएनड्रीपलगायतका अन्तर्राराष्ट्रिय महासन्धि र कानुनहरुले व्यवस्था गरेका प्रकृतिसम्मत अधिकारहरुको ग्यारेण्टी हुने गरी नेपालको राज्य पुनःसंरचना गर्नुपर्ने मागलाई स्वीकार गर्न नसकी विगत २४०–४५ वर्षदेखि लादिएको र, हालसम्म पनि कायमै रहेको एकल जाति, एकल धर्म, एकल भाषा र एकल संस्कृतिकै शासन सत्ताको निरन्तरताको लागि अनेक षड्यन्त्र गरी रहेझैं प्रतीत हुन्छ । हुन पनि यसैको चाँजोपाँचो मिलाउनकै लागि पनि होला वि.सं २०६४ को संविधानसभाको निर्वाचनमा अत्यधिक मतको अन्तरले दोस्रो, तेस्रो, चौथौ स्थान ल्याएर हारेका ठूला भनिएका दलका ठूला नेताहरुले संविधानसभा नै अवसान (विघटन) गराएको तथ्य घामजतिकै छर्लङ्ग छ । त्यो बेला यति हर्कत गरेर मात्रै नपुगेर उनीहरुले पहिचानको सम्मान र अधिकारको रक्षार्थ आन्दोलनरत् जनतामाथि नै ‘धार्मिक र साम्प्रदायीक विद्वेष फैलाएको’ भनी लाञ्छित गर्ने र बदनाम गर्ने काममा समेत अग्रसर भएका थिए, छन् ।
तर, नेल्सन मण्डेलाको भनाइ भने नेपालका नेताहरुको भन्दा ठीक उल्टो थियो, ‘ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नुपर्दछ र त्यसको जिम्मेवारी सुम्पनुपर्दछ ।’ मन्डेला सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रील, १९९४ मा सम्पन्न आम निर्वाचनपछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरो, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गरे र, सन् १९९९ को दोस्रो आम निर्वाचन पूर्व नै आफू पुनः राष्टूपति नहुने सार्वजनिक रुपमा घोषणा गरे । नभन्दै सन् २००४ मा आएर मन्डेलाले सार्वजनिक जीवनबाटै सहज रुपमा सन्यास लिए ।
तर, हाम्रो देश नेपालका नेता भनाउँदाहरुको मानसिकता हेरौं त । केवल आप्mनो लागि सत्ताको कुर्सी, पद, प्रतिष्ठाका लागि लुछाचुँडी गर्ने, आफ्नो दल नै फुटाउने र मृत्यु–शैयामा छट्पटाइरहँदासम्म पनि आफ्नो दलको प्रमुख र देशको प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने इच्छा देखिन्छ । तिनै नेताहरुलाई हाम्रा अचम्म के भने, झोलेपोकेहरुले त त्यस्ता नेताहरुलाई स्वार्थवश पनि महान नेता, राजनेता भन्ने भए नै, तर, देशका बुद्घिजीवी भनिएका, विश्लेषक भनिएका, नामको अगाडि प्रा. पनि डा. पनि लेख्ने महानुभावहरुले नै पनि… भनेपछि अरुको के कुरो गराइभो र ? नेपालका नेता भनाउँदाहरुले केवल आप्mनो लागि सत्ताको कुर्सी, पद मात्रै नहेरेर मन्डेलाको केही गुणहरुको अनुसरण गरिदिए यो देशको आउँदो पुस्ताले नेपाली नेताहरुको नाम सुन्नेबित्तिकै गर्वले छाती फुलाउने थिए, जसरी आजको दक्षिण अफ्रिकी पुस्तालाई मन्डेला जेनेरेशन भन्ने गरिन्छ ।
खासमा जब मन्डेला सत्तामा आए, आफ्ना असंख्य (काला समर्थक) र सहयोद्धाहरुको आग्रहको बावजुद उनी र उनका सयकडौं सहयोद्धाहरुलाई निर्मम यातना दिने र हत्या गर्ने अल्पसंख्यक गोराहरुलाई समेत उनले कहिल्यै कुनै विभेद गरेनन् । जस्तो यहाँ एक उदाहरण दिऊँ । सन् १९९४ को आम निर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट ४ जना सांसद मनोनित गरे । आफ्ना पूर्ववर्ती गोरा का.वा. राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई उपराष्ट्रपति बनाए र, प्रत्यक्ष हिंसामा संलग्न ‘इन्काथा फ्रिडम पार्टी’का अध्यक्ष बुथेलेजीलाई गृहमन्त्री बनाए ।
धेरै काला जातिको नरसंहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरु थिए । तर, त्यस्तो कर्मचारीहरु कसैलाई पनि कुनै भेद्भाव नगरी राम्रै ओहदा र सम्मान दिएका थिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धतासहितको समृद्ध राष्ट्र निर्माणको दिशामा अग्रसर भयो ।

दुःखको कुरो, नेपालको शीर्ष राजनीतिक नेतृत्व भने अभैm पनि षड्यन्त्रमूलक ढङ्गले नै आपूm एक्लै (आफ्नो दलको नेताहरुलाई नसमेटी) भए पनि अगाडि बढ्न खोजेझैं देखिन्छ, उनीहरुको गतिविधि देख्दा । त्यसो भएपछि नेपाली नेताहरुले ‘सङ्घीयता भनेको इन्द्रेणीजस्तै सबै रङ्ग मिलेको हुनुपर्दछ, एकल जातीय सङ्घीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।’ भन्ने बुझ्नु त गाह्रै पर्ला कि ? किनभने, जेजस्तो कारणहरु देखाएर पहिलो संविधानसभाको अवसान गरिएको भए तापनि भित्री उद्देश्य के थियो ? भन्ने त पछि घट्दै गएको नेपालको राजनीतिक घटनाक्रमले देखाउँदै गएकै हो । हुन त हाम्रा नेपाली नेताहरुको यस्तो प्रवृति, सोंच र व्यवहार नेपाली समाजमा जरा गाडेर बसेको हिन्दू धार्मिक कठमुललावादबाट पनि निर्देशित भएकोले उनीहरु निषेधको राजनीति गर्न यति ज्यादा माहिर भएका होलान्, यस विषयमा थप अध्ययन अनुसन्धान गर्नु आवश्यक पर्ला कि । तर, जबसम्म उनीहरुले निषेधको राजनीति त्याग गर्न सक्दैनन्, तबसम्म न उनीहरु चैनको निद्रामा सुत्न सक्लान्, न त नेपाली जनताहरुले नै सुखानुभूति गर्न पाउलान् ।
मन्डेलाले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन् जसले मन्डेलालाई जेलमुक्त गर्न र दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई अगाडि बढाउन आफ्नो अर्धाङ्गिनी र पार्टीको इमान्दार सिपाही भएर सबैभन्दा लामो समयसम्म मन्डेलाको साथ दिएकी थिइन् । तर, जब एएनसीका समर्थकहरुबाटै बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको भन्ने आरोप लगाए, मन्डेलाले बिन्नीसँग सन् १९९२ को अप्रिल १३ को दिन सम्बन्ध विच्छेद नै गरेका थिए । तर, हाम्रो नेपाली नेताहरु नि ?
उनीहरुले त आप्mनो श्रीमती, आमा, बाबु, दाइ, भाइ, भाउजु, बुहारी, सासु, ससुरो, बडीआमा, बडाबा, काका, काकी, साला, साली, जेठान दाजु, जेठानी दिदी, मामा, माइजु छोरा, छोरी, भतिजो, भतिजी, भाञ्जा, भाञ्जी, बैठके, हुक्के, नोकर, चाकर आदि अनि अलि परको छरछिमेकी, अनि बाख्रो बेचेको साइनोवाला … आदिलाई हेर्ने, च्याप्ने बानीलाई त्यागिसकेको देखिँदैन । अझ अचम्म त नेपालका ठूला भनिएका राजनीतिक दल र तिनका नेताहरुले अभैm पनि अन्तर हृदय अर्थात् आत्मैदेखि सङ्घीयता र धर्म निरपेक्ष्यता स्वीकार गरेका छैनन् ।
फलतः संविधानमै व्यवस्था गरिएको संघ (केन्द्र), प्रदेश र स्थानीय निकायबीच शासनसत्ताको बाँडफाँड र बजेट बाँडफाँडको हकमा अभैm पनि आधारभूत रुपमा सहमति भएको खासै देखिँदैन । पूर्व प्रधानमन्त्री केपी ओलीज्यूको केहीअघिको स्थानीय निकायमा जाने ७० प्रतिशत बजेट बारेको भाषणको उपज त्यही हुन सक्छ । त्यति मात्रै होइन, नेपालका राजनैतिक दलका नेताहरु अझ एक कदमअघि बढेर आफ्नै राजनैतिक दलको एकमना सरकार भए तापनि सो सरकार र सरकारको नेतृत्व गरेको आप्mनै दलको नेतालाई छिर्के लगाएर, हटाएर अर्को अमूक नेतालाई शासन सत्तामा पुरयाउन हतारिएको देखिन्छ । त्यसका लागि उनीहरु सबै खाले हथकण्डाहरु अपनाउन पछि पर्दैनन् । हरे शिव, भगवान, शिव भगवानले यिनीहरुलाई छिट्टै सद्बुद्धि दिऊन्, हाम्रा नेताहरुले ढीलै भएपनि नेल्सन मन्डेलाबाट भएका सकारात्मक कामहरु सिकून् ।
आजलाई यत्ति नै, सबैलाई चेतना भया ।
नोटः नेल्सन मन्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा भएको थियो भने सन् २०१३ डिसेम्बर ०५ मा बिते ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप