धरानमा साउने मौसम

पुस्तामा मेहन्दी र चुराको आकर्षण (४३ तस्वीर र भिडियो पनि)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ साउन ३

धरानः पछिल्लो समय साउनमा महिलाले हरियो चुरा तथा मेहन्दी लगाउने चलन फेसनजस्तै बनेको छ ।
युवा, प्रौढ तथा सेलीब्रिटी सबै खालका नारी चलन र परम्परामा बाँधिइरहन चाहन्छन् । विशेषगरी युवापुस्तामा मेहन्दी र हरियो चुराको आकर्षण ह्वात्तै बढ्ने गरेको छ ।
मेहन्दी र चुरा सबैले लगाउँछन्, कतिले त्यसको अर्थ बुझेर लगाउँछन् त कतिले नबुझी लगाउँछन् । धरान मेहन्दी लगाउने ठाउँ धरान–२ भानुचोकको घण्टाघर पछाडि भेटिएकी ….श्रेष्ठ भन्छिन्, ‘सबैले लगाउँछन्, त्यही भएर खाली हात नराखौं भनेर मेहन्दी लगाएकी हुँ ।’
महिलाहरूका हातभरि चुरा अनि मेहन्दीका थरीथरी बुट्टा देख्दा रोमाञ्चित हुने गरेका छन् । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै मेहन्दी र चुरा लगाउने गरेको धरान–८ की सम्झना लिम्बू बताउँछिन् ।
साउन महिनामा विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गरी ब्रत बस्ने गर्दछन् भने अविवाहितहरू असल श्रीमानको कामनासहित ब्रत बस्ने अनुभवी महिलाहरु बताउँछन् ।

कोरोना त्रासले घरमै लगाउने बढे
लकडाउन नहुँदा साउन लागेपछि धरानको मुख्य रोडमा भीडभाड बढ्ने गरेको र व्यापार पनि ह्वात्तै बढ्ने गरेपनि यसपटक पनि चुरा र मेहन्दीको व्यापार शुन्यझैं बन्यो । व्यवसायीका अनुसार अघिल्लो वर्षको कोरोना कहरकै जस्तै त्रासका कारण पनि यसप्रतिको क्रेज नै घटेको छ ।
कोरोना कहरका कारण यसपटक चुरा र मेहन्दी आफैं किनेर लैजाने र घरमै बसेर लगाउने गरेको व्यवसायी बताउँछन् । ‘अघिल्लो वर्ष लकडाउनमा पनि घरमै किनेर लगाउने बढेका थिए तर यसपटक पनि त्यस्तै रह्यो’, धरान-२ की व्यवसायी जानकी दासले भनिन् ।
कोरोनाकै कारण व्यवसाय खस्किएको उनले बताइन् । उनले विशेषतः यसपटक चुराको व्यापार खस्किएको बताइन् । ‘अघिल्लो वर्ष हातभरि डम्म हरिया चुरा लगाएर छिनछिन आवाज निकाल्ने महिला तथा युवायुवतीको रहर यसपटक रहर रहरमै सीमित बनेको छ’, व्यवसायी जानकी भन्छिन्, ‘यसपटक ग्राहक नै आएका छैनन् भन्दा पनि हुन्छ ।’
साउन महिनामा वर्षातका कारण चारैतिर हरियाली मौसम हुन्छ, रूखबिरुवाको पालुवा पूर्ण हरियो बनिसकेको हुन्छ । बैशाखदेखि नै शुरु हुने बाली लगाउने काम पनि साउन महिनामा पूरा हुन्छ । साउने मौसमको यही गुणलाई हरिया चुरा, मेहन्दी अनि महिलाको ब्रत बस्ने संस्कारसँग जोडेर व्याख्या गरिन्छ । धार्मिक रूपमा साउन र हरियो रंगको सम्बन्ध जोडिएको कुनै पनि प्रसङ्ग धर्मशास्त्रले व्याख्या गरेको छैन । तर, हिन्दू महिलाले भने यी हरिया श्रृङ्गारलाई धर्मसँग जोडेर बुझ्ने गरेका छन् । साउन महिनामा पूजा गर्दा शिव चाँडो खुसी हुने धार्मिक मान्यता छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज डटकम

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप