धरानमा डा. गोविन्द केसीको गर्जन

धरान आएर भने- जबसम्म राजनीतिक नियुक्ति भइरहन्छ तबसम्म प्रतिष्ठानहरु धराशायी र दोहन भइरहन्छन् (१२ तस्वीर र भिडिओसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार ३०

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् पक्षहरुको समर्थनका लागि अभियन्ता डा. गोविन्द केसी धरान आइपुगेका छन् ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले प्रतिष्ठानमा चलिरहेको शुद्धिकरण आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन रहेको घोषणा गरे । ‘नारा नै काफी छ, बीपी प्रतिष्ठान शुद्धिकरण अभियान’, उनले भने, ‘यसको म पूर्ण समर्थन गर्दछु र ऐक्यबद्धता जनाउँछु ।’
प्रतिष्ठानमा करिब एक महिनादेखि आन्दोलन चलिरहेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै उनले जबसम्म राजनीतिक नियुक्ति भइरहन्छ तबसम्म प्रतिष्ठानहरु धराशायी र दोहन भइरहने बताए । ‘जबसम्म राजनीतिक नियुक्ति भइरहन्छ तबसम्म प्रतिष्ठान, सार्वजनिक संस्थानहरु धराशायी र दोहन भइरहन्छन्’, उनले थपे, ‘तर यसको विरोध गरिरहनुपर्छ ।’
उनले अयोग्य, भ्रष्ट कार्यकर्ता संस्थानमा ल्याइन नहुने बताए । राजनीतिक दलहरुकै कारण प्रतिष्ठान, सार्वजनिक संस्थान, विश्वविद्यालयहरु धराशायी बन्दै गएको समेत उनले बताए ।

दलहरुले भोट माग्दा शिक्षा र स्वास्थ्य निःशुल्क भन्दै भोट माग्ने गरेको तर यसै क्षेत्रमा व्यवसाय बनाएर हिँडिरहेको उनको भनाइ थियो । ‘भ्रष्ट, कालोबजारी गर्ने कार्यकर्तालाई प्रतिष्ठानमा सोझैं प्रवेश दिइने र दोहन गरिरहने प्रवृत्ति फस्टाएको बताउँदै उनले थपे, ‘अनि प्रतिष्ठानलाई धराशायी बनाउने काम भइरहेको छ, दलहरुले भोट मागेपछि सोहीअनुसार गर्नैपर्छ ।’
उनले प्रतिष्ठानमा वरिष्ठताको आधारमा पदाधिकारी नियुक्ति हुनुपर्ने धारणा राखे । ‘संस्थानमा योग्य, वरिष्ठताको आधारमा नियुक्ति हुने हो भने प्रतिष्ठान र संस्थानप्रति वफादार हुन्छन्, त्यही भएर पनि प्रतिष्ठान, संस्थानमा नियुक्ति गर्दा वरिष्ठताकै आधारमा नियुक्ति हुनुपर्छ ।’
यसैबीच आन्दोलनरत् संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।
प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई हटाउनुपर्ने, अनियमितता, भ्रष्टाचार, बेथिति र छानविनबाट दोषी देखिए कारवाहीको माग राख्दै संघर्ष समितिले देउवालाई पत्र पठाएको हो ।
पत्रमा आन्दोलनरत् समूहसँग ४८ घन्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गर्नुपर्ने माग गरिएको छ । प्रधानमन्त्रीले ४८ घन्टाभित्र माग पूरा नगरे शुक्रबारदेखि हरेकदिन बिहान ८–१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार, पूर्वनिर्धारित परीक्षा रोक्ने चेतावनी संघर्ष समितिले दिएको छ ।
पत्रमा असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप