भान्सामा दिनहुँ पाक्छ विष


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार ३०

आहा, कस्तो कलकलाउँदो । तरकारी त साह्रै राम्रो रहेछ । ताजाजस्तो छ, यो चाहिँ लैजानुपर्ला । यो त ओइलाएको रहेछ, योभन्दा त त्यो ताजा छ, त्यसैलाई लैजानुपर्छ । यो ताजा तरकारीको कति रुपैयाँ हो ?
तरकारी पसलमा आजभोलि हामीले यस्तै गरी तरकारी किन्ने गरेका छौं । अब यो बानीलाई सुधार गर्नुपर्छ । तरकारी किन्ने बानीमा सुधार ल्याएनौं भने स्वास्थ्य खतरामा पर्दैछ है । यदि तरकारी किन्न पसलमा जाँदै हुनुहुन्छ भने कस्तो तरकारी किन्ने भन्ने विषयमा पहिला ख्याल राख्नु पर्दछ । तपाईले किन्नुभएको तरकारी स्वस्थकर छ वा छैन भन्ने विषयमा थोरै ध्यान दिने बानी बसाले स्वास्थ्यलाई बचाउन सकिन्छ ।
उपभोक्ताले जस्तै तरकारी उत्पादकले पनि यस विषयमा ध्यान दिनुपर्दछ । मानव स्वास्थ्यलाई केन्द्रीत गरी तरकारी उत्पादन गरे आफूसँगै अन्य व्यक्तिको ज्यान जोखिममा पर्ने छैन । तरकारी लगाउने किसानले पनि कसरी तरकारी उत्पादन गर्ने हो, त्यो विषयमा ध्यान दिनुपर्दछ । प्रायः गरेर तरकारी उत्पादनका क्रममा ज्यादै विषादी प्रयोग हुने गरेको पाइन्छ ।
तरकारी तथा फलफूलमा अत्याधिक विषादीको प्रयोगले गर्दा मानव स्वास्थ्यमा असर पुरयाउँदै आएको छ । अहिले प्रयोग गर्ने तरकारीहरुमा विषादीको बढ्दो प्रयोगले गर्दा स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा असर गरेको चिकित्सहरुले बताएका छन् । सरकारी निकायले गरेको अनुगमनका क्रममा पनि तरकारीमा अत्याधिक विषादीको प्रयोग भएको पाइएको छ । र
दैनिक उपभोग गर्ने काँक्रो, काउली, बोडी, करेला, सिमी, लौका, बन्दाकोबी, आलु, सागलगायतका तरकारीहरुको उत्पादन गर्दा आवश्यकताभन्दा बढी विषादी हाल्दै आएको समाचार पनि बाहिरिसकेका छन् ।
ठूलो परिमाणमा तरकारी उत्पादन गर्नेदेखि घरमा प्रयोग गर्नेसम्मको तरकारीमा यस्तो विषादीको प्रयोग गर्ने गरेको पाइएको छ । विषादी राखेको, रासायनिक मलको अत्याधिक प्रयोग भएको तरकारी खाँदा मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने डा. भक्तमान श्रेष्ठ बताउँछन् ।
‘अहिलेको तरकारी उत्पादन प्रकृया नै गलत छ । यस विषयमा ध्यान दिनु पर्दछ’ उनले भने, ‘कति मात्रामा विषादी प्रयोग गर्नु पर्दछ भन्ने विषयमा किसानलाई प्रशिक्षित बनाइएको छैन । तरकारीमा लाग्ने किरा मर्छ भन्दै आवश्यकताभन्दा बढी विषादी राख्ने गरिएको छ । त्यस्ता सागसब्जी खाँदा मानव स्वास्थ्यमा असर पर्दछ ।’
विषादी प्रयोग नभएको तरकारी खान नसकिने भएकाले देख्दा ज्यादै हरियो, नओइलाउने, किरा नलागेका तरकारी हानिकारक हुने डा. श्रेष्ठको सुझाव छ । उनले बजारबाट ल्याएको तरकारी उही दिनभन्दा भोलिपल्ट ओइलाएपछि खान सल्लाह दिए । विषादीयुक्त तरकारीको प्रयोगबाट छालाको क्यान्सर, शरीरका अन्य अंगहरुमा असर पर्ने र विभिन्न रोगहरु हुनसक्ने उनले बताए ।
अहिले बजारमा पाइने तरकारी किन्दा उपभोक्ताले धेरै कुरामा ध्यान दिनुपर्छ । विषादीको प्रयोग भएका तरकारी खाँदा त्यसले तत्कालीन र दीर्घकालीन समस्या ल्याउने उनको भनाई छ । अहिले तत्काल ठूलो समस्या नदेखिएपनि केही वर्षपछि विषादीको प्रयोग भएका तरकारीको असर विभिन्न रोगको माध्यमबाट देखा पर्ने उनको भनाई छ । बजारमा पाइने तरकारी खरिद गर्दा विषादीको प्रयोग नभएका, स्वस्थ्यकर तरकारी खरिद गर्नु पर्ने उनको सुझाव छ । हेर्दा राम्रो, नओइलाउने तरकारी खरिद गरेमा त्यसले स्वाद पनि नदिने र स्वस्थकर पनि नहुने उनले बताए ।
अहिले तरकारीमा बढ्दै गएको विषादीको प्रयोगका विषयमा जनचेतना जगाउने कार्यक्रमहरु आएका छन् । तर ती कार्यक्रमको प्रभावकारिता कमै हुँदै आएको छ । यस्ता कार्यक्रमका लागि किसानलगायत जनमानसमा पनि जनचेतना आवश्यक छ ।
नेपालीहरू बाध्य भएर विषादीयुक्त तरकारी खान विवश छन् र नचाहँदा–नचाहँदै पनि हरेक नेपालीको भान्छामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन् । तरकारीमा विषादीको प्रयोग बढेका कारण नेपालीहरूमा गम्भीर खालका रोग लाग्ने गरेको पनि पाइएको छ । तसर्थ अत्यधिक विषादीको अवशेष नरहने गरी स्वस्थ तरकारी खाने वातावरण बनाउन पनि सरकारले प्रोत्साहन गर्न आवश्यक छ । स्वस्थ नागरिक नै देशको धन हो । स्वस्थ नागरिक नभई देशको उत्पादकत्व बढ्न सक्दैन, साथै स्वास्थ्यमा गर्ने खर्चको छुट्टै व्यवस्था गर्नुपर्ने बजेट शिक्षा तथा अन्य विकासका कार्यमा खर्च गर्न सकिन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप