धरानको सरकारी स्कुलमा विद्यार्थीको चाप

धरानको सरकारी स्कुल पब्लिकमा स्कुल नै नलागी कक्षा-९ सम्म ‘प्याक’, भर्ना रोकियो, अङ्ग्रेजी माध्यम रोज्ने नै बढी देखिए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २७

धरानः धरान-१४ का लक्ष्मण भट्टराईले फेसबुकमा पोष्ट्याए– आफ्ना नानीहरुलाई सरकारी स्कुलमा पढाउने गरी संस्थागत स्कुलमा हालसम्मको पढाइ उत्कृष्ट हुँदाहुँदै भर्ना गरियो । उनले अझै थपेका छन्– सुरुवात आफैंबाट । एडमिसन टु पब्लिक नमूना स्कुल । हालसम्म पढेको स्कुलमा प्रथम कक्षा ‘टपर’ र स्कुल ‘टपर’ हुनेगरी पढाउने सरहरु र स्कुल परिवारलाई हार्दिक कृतज्ञता ।
उनले फोन सम्पर्कमा थप जानकारी दिँदै भने, ‘संस्कृति भट्टराईलाई कक्षा–८ मा भर्ना गरियो अनि समृद्धिलाई कक्षा–४ मा । संस्कृति यसअघि स्कुल ‘टपर’ हुन् भने समृद्धि कक्षा ‘टपर’ हुन् ।’

उनका अनुसार अब जाने बुझेका अभिभावकले सरकारी स्कुल सुधार्दै सरकारी स्कुलमै आफ्ना नानीहरु पढाउनुपर्छ । उनले फोन सम्पर्कमा भने, ‘मेरा टपर नानीहरु झिकेर सरकारी स्कुल हालें, अभिभावक नै तात्तिएर अब सरकारी स्कुल सुधानुपर्छ ।’
उनीजस्तै धेरै अभिभावकले यसवर्ष पनि धरान–१२ स्थित पब्लिक हाइस्कुलमा विद्यार्थीको भर्नाका लागि अभिलेखीकरण गराएका छन् । असार १ गतेदेखि विद्यालय भर्ना अभियान चलेदेखि हालसम्म ११ सय ५२ जना विद्यार्थीले अभिलेखीकरण गराएको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।
कक्षा–१० सम्म ५७९ जना पुराना विद्यार्थी र ५७३ नयाँ विद्यार्थी भर्नाका लागि अभिलेखीकरण भएको उनले जानकारी दिए । ‘यसपटक जम्मा ११५२ जना विद्यार्थीले अभिलेखीकरण गराइसकेका छन्’, उनले थपे, ‘यस वर्षका लागि नर्सरीदेखि कक्षा–९ सम्म विद्यार्थी ‘प्याक’ भइसकेको र अभिलेखीकरण प्रक्रिया पनि रोकेका छौं ।’
उनका अनुसार अब स्कुलमा कोठा नभएको कारणले अभिलेखीकरण प्रक्रिया रोकिएको हो ।

अंग्रेजी माध्यमले तान्यो विद्यार्थी
प्रधानाध्यापक झाले अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भनेपछि विद्यार्थी ह्वारह्वारर्ती आउन थालेको बताउँछन् । ‘११ सय ५२ जना विद्यार्थीमध्ये १ सय ९४ जनाले मात्रै नेपाली माध्यममा अध्ययन गर्ने भनेर अभिलेखीकरण गराएका छन्, यसले नै बुझ्नुहोस्, अङ्ग्रेजी माध्यमले नै पब्लिकमा विद्यार्थीको लर्को लागेको हो ।’
उनका अनुसार बोर्डिड स्कुल पढाउने अभिभावकले समेत सरकारी स्कुलतर्फ चासो देखाउन थालेका छन् । ‘बोर्डिङ छाडेर सरकारी स्कुलमा भर्ना हुनेहरूको संख्यामा उल्लेख्यरूपले बढ्न थालेको छ’, उनले थपे, ‘अङ्ग्रेजी माध्यमले विद्यार्थी तानेको हो, विद्यार्थी तातिनुको कारण यो पनि एक हो ।’
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने आम धारणालाई चिर्दै अघि बढेको पब्लिकमा विद्यार्थी बढिरहेको प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाह बताउँछन् । ‘कक्षा–११ र १२ मा पनि अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यार्थी बढी छन्’, उनले भने ।
कक्षा–११ मा प्रि रजिष्ट्रेसन खुल्ला गरिएको उनले जानकारी दिए । ‘अब कक्षा–९ सम्म विद्यार्थी प्याक भइसके, अब कक्षा–११ को तयारीमा लागेका छौं, यसको लागि प्रि रजिष्ट्रेसन खुल्ला गरेका छौं ।’

विद्यार्थी बढ्नुमा अन्य कारण पनि छन्
विद्यालयले नमूना विद्यालयको साख बचाउन लागिपरेको बताए । भौतिक पूर्वाधार, सिकाइ उपलब्धि, नतिजा, प्रयोगशाला, गुणस्तर सुधारलगायतमा ध्यान दिँदै जाँदा विद्यार्थी बढ्दै गएको बताउँछन् ।
बोर्डिड स्कुलको आकर्षण भनेको यातायताको सुविधा पनि हो । त्यसैले हामीले पनि विद्यार्थीको सुविधाका लागि तीनवटा बस सञ्चालनमा ल्याएको प्रधानाध्यापक झा बताउँछन् । जसले गर्दा टाढाटाढाका विद्याथीको पनि हाम्रो स्कुलप्रति आकर्षण बढेको छ । उनले अन्य क्रियाकलापमा पनि बोर्डिङभन्दा फरक तरिकाले आफूहरु लागिरहेको दावी गर्छन् । आर्ट, म्युजिक तथा योगको ‘एक्ट्रा’ कक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिए । विद्यालयमा अतिरिक्त क्रियाकलापलाई सक्दो जोड दिएको उनले बताए । ‘हाम्रा विद्यालयका विद्यार्थीले मुख्यतयाः गीत, सङ्गीत, आर्ट, म्युजिक, फुटबल, भलिबल, कराते, टेबलटेनिस तथा ब्याडमिन्टनजस्ता विधामा हारेका छैनन्’, उनले भने, ‘स्थानीय, प्रदेश र राष्ट्रियस्तरसम्म पनि सहभागिता जनाएर पुरस्कार जितेर ल्याएका छन् ।’ उनले फुटबल, भलिबल, कराते, टेबलटेनिस तथा ब्याडमिन्टन खेलको लागि पर्याप्त खेलमैदान तथा नियमित अभ्यास गर्ने ठाउँ विद्यालयमै रहेको सहज बनेको बताए ।

कक्षा नर्सरीदेखि कक्षा–२ सम्म स्मार्ट टिभीको व्यवस्था, नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति साथै दाताहरुबाट प्राप्त छात्रवृत्तिको व्यवस्था, अत्याधुनिक इलेक्ट्रिकल प्रयोगशाला, इन्टरनेटसहितको कम्प्युटर ल्याब सञ्चालन गरिएको बताए ।
विद्यालयमा इन्टरेक्टिभ बोर्ड तथा प्रोजेक्टबाट अडियो, भिज्युल मेथडद्वारा अध्यापन, प्राविधिक शिक्षाका लागि छुट्टै भवन, मासिक टेष्ट तथा टर्मिनल टेष्ट, कक्षा–५ सम्म निःशुल्क खाजा तथा सुविधायुक्त क्यान्टिन, विषयगत साइन्स ल्याब र म्याथ ल्याब, कक्षागत सार्वजनिक सुनुवाई, कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षाको व्यवस्था, फिल्टरयुक्त शुद्ध पिउने पानीको व्यवस्था, शिक्षक तथा विद्यार्थीको लागि विद्युतीय हाजिरी, सिसी टिभीबाट नियमित अनुगमन, भौतिक पूर्वाधारयुक्त शान्त वातावरण एवं चुस्त प्रभावकारी विद्यालय प्रशासन रहेको जानकारी दिए ।
सर्टिफिकेट दिन मान्दैनन्
अभिभावकका अनुसार निजी बोर्डिङ स्कुलले सर्टिफिकेट दिन नमानेको बताउँदै आएका छन् । ‘हामीले अन्तै विद्यार्थी भर्ना गर्ने भनेपछि सर्टिफिकेट नै दिन मान्दैनन्’, एक अभिभावकले भने, ‘त्यसो हुँदा धरानका धेरै अभिभावक पीडित बन्दै आएका छन् ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप