धरानमा गाडी चले, यात्रु आएनन्

यात्रु त त्यस्तै हो, तेल महङ्गो भएपछि पो डुबायो, तेल खर्च नै उठाउन धौ धौः व्यवसायी (१३ तस्वीर र भिडिओसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २५

धरानः धरानबाट सार्वजनिक सवारी (गाडी) चल्न थालेका छन् तर पनि यात्रुको भने कम उपस्थिति छ । झन्डै अढाइ महिनापछि गाडी चल्न थालेपनि यात्रुको चहलपहल त्यति देखिएन । धरान बसपार्कमा थोरै बस सञ्चालनमा आएका छन् । सवारी सञ्चालनमा आएपनि यात्रु पाउन भने मुस्किल रहेको बसका कर्मचारी बताउँछन् । पाँच–सात जना भन्दा बढी यात्रु नभएको उनीहरु बताउँछन् ।
७ यात्रु बोकेर भएपनि यात्रा गर्नुपरेको चालक शिवकुमार पौडेल बताउँछन् । अहिले तेल हालेर गाडी चलाउँदा फाइदा नहुने तर यात्रुको लागि सहज हुने साथै मजदुरको पेट पनि पालिने हुनाले गाडी चलाउन थालिएको उनले बताए ।
‘गाडी त चल्यो तर यात्रु छैनन्, तेलको भाडा बढेर हैरान भइयो, तेलको पैसा पनि उठ्दैन, किस्ता तिर्न नै समस्या भयो,’ बसका कर्मचारी विकास श्रेष्ठ बताउँछन् । लामो समय गाडी नचलाउँदा बिग्रन सक्ने सम्भावना भएकाले घाटा खाएर भएपनि सञ्चालन गरेको उनले बताए ।
उनी विषम परिस्थितिमा जनताको सेवाबाट पछि हट्न नसुहाउने भएकाले पनि गाडी चलाउन थालेको बताउँछन् । ‘घाटा भएपनि गाडी गुड्यो भन्नेमा आफू सन्तुष्ट छु, किनभने जनताले सेवा पाउँछन्, यस्तै, गाडीका मेसिन ‘एक्टिभ’ भइरहन्छन् ।’ उनी भन्छन् ।
तेलको मूल्य एक्कासी बढेपछि सकस
सवारी सञ्चालनमा आएपनि यातायात व्यवसायीहरु भने खुशी छैनन् । केहीदिनअघि इन्धनको मूल्यवृद्धि भएको छ ।
तेलको मूल्य बढेपछि गाडी चलाउन झनै समस्या भएको व्यवसायीहरु बताउँछन् । एकातिर यात्रुको संख्या कम हुनु र तेलको भाडा पनि एक्कासी बढे १११ रुपैयाँ पुगेपछि समस्या भएको व्यवसायी बताउँछन् । ‘लामो समय गाडी थन्कियो, करिब ५० हजार रकम मर्मतमा खर्च भयो, आजदेखि चलाएको यात्रु छैनन्, तेल भाडा नि नउठ्ने भएपछि के चलाउनु ?,’ श्रेष्ठले भने ।
गत असार २३ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानलगायत सुनसरीमा निजी तथा सार्वजनिक सवारी साधन जोरविजोरमा चलाउन अनुमति दिइएको छ ।
बस चढ्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्दै आएको व्यवसायी बताउँछन् ।
उता केन्द्रमा यातायात व्यवसायीले यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग राखेका छन् । यातायात क्षेत्रलाई प्रभाव पार्ने तत्वमा शतप्रतिशत मूल्यवृद्धि हुँदा समेत वि.सं २०६९ यता भाडावृद्धि नभएको र व्यवसायीले ठूलो नोक्सानी व्यहोरिरहेकाले सार्वजनिक र पर्यटन यातायाततर्फको भाडा समायोजन गरिनुपर्ने उनीहरुको माग रहेको छ ।
तस्वीरहरुःहाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप