लोप हुँदै हाटबजार

हाटबजारमा ‘भेटौंला है’ भन्न छोडिसके


  • दीपेश घिमिरे/रुद्रप्रसाद भट्टराई
  • २०७८ असार २१

केही वर्ष अगाडिसम्म देशका असंख्य गाउँ तथा केन्द्रका स्थानहरूमा ‘हाटबजार’ लोकप्रिय शब्दभित्र पथ्र्यो । यहि हाटबजारले दैनिक उपभोगका सामानदेखि लिएर मनोरञ्जनको प्यास मेटाउने स्थलको रुपमा एकाधिकार जमाएको थियो । हाटबजार लाग्ने बारलाई रोजेर देशका धेरै स्थानहरूको नामाकरण गरेको पनि पाइन्छ । यस्ता हाटबजारको कुनै सीमाना थिएन बगर, चौर जतापनि बसाइन्थ्यो । पछि त्यही प्रख्यात नामको स्थान रहन जान्थ्यो ।
सातामा एक पटक वा दुईपटक, पन्ध्रदिन, महिनामा लाग्ने बजारलाई हाटबजार भनिन्थ्यो भने वर्षदिनमा लाग्ने बजार चाहिँ मेलाको नामबाट बुझिन्थ्यो । यो क्रम अझैपनि चलनचल्तीमै छ । मेला तथा महोत्सवमा भने अलिक ठूलै प्रकृतिको हुन्थ्यो र छ । मान्छेको भीड थामिनसक्नुहुन्थ्यो । सामान किन्ने पनि त्यहीदिनको प्रतिक्षामा हुन्थे भने बेच्नेहरू पनि सोहीदिनलाई कुरिरहेका हुन्थे । अनि फुर्सदिला युवायवतीहरू हाटबजार घुमौला शनिबारे हाटैमा गीत गाउँदै केन्द्र पुग्थे । यहिबाट उनीहरूको माया पिरती सुरु हुन्थ्यो ।
ओखलढुङ्गाका साथै रामपुर, रुम्जाटार लगायतका स्थानमा पनि ठूलो बजार लाग्थ्यो । त्यहाँ पनि उस्तै दृष्य दोहोरिन्थे । खोटाङको दिक्तेलबजार, बुईपा लगायतका ठाउँमा मुख्य आर्थिक कारोबार गर्ने एकमात्र स्थानको रुपमा हाटबजार परिचित थियो । किसान आफूले उत्पादन गरेका तरकारी तथा खाद्यान्न बोकेर बजारै पुग्थे । किन्नेहरू पनि पैसा बोकेर हाटबजारतर्फ दौडिन्थे । रामेछापमा त हाट लाग्ने बिहीबारको दिन आसपासका सबै विद्यालय विहान मात्र पढाइ हुन्थ्यो । जुन अहिलेसम्म पनि कायमै छ । विद्यार्थीहरू बजारमा सामान किनबेच गर्न जाने हुँदा दिउसो विद्यालयमा विद्यार्थीहरू नआउने भएकाले विहान विद्यालय सञ्चालन गरिएको जानकारहरू बताउँछन् । यस्ता हाटबजारमा नुनदेखि सुनसम्मको कारोबार हुन्थ्यो । सुदूर पूर्वको कन्काई माइ खोलाको नामले एक महिनासम्म इलामको दानाबारीमा मेला लाग्थ्यो । अहिले भन्दा दन्ते कथाजस्तो हुन्छ । यहि स्थलबाट ग्रामीण जनजीवन धानीएको थियो ।
वास्तवमा हाटबजारहरू गाउँका बजार विकासका टेको हुन् । अहिलेपनि देशका असँख्य स्थानमा हाटबजार र मेला लाग्ने गर्दछ । गाउँका उत्पादन र सीपदेखि सहरका उत्पादनको बजारीकरणमा यस्ता बजारले अहम भूमिका निर्वाह गरिरहेको छ । तर आजभोली यस्ता हाटबजार संकटमा पर्दै गएका छन् । कुनै बेला खुट्टा राख्न समेत नपाइने बजार हिजोआज खाली–खाली हुन थालेको अवस्था छ ।
हाटबजारको इतिहास
हाटबजार कहिलेदेखि सुरु भयो त भन्ने कुनै स्पष्ट र ठोस प्रमाण भेटिँदैन । तर, केहि ऐतिहासिक तथ्यलाई हेर्ने हो भने नेपाल एकीकरणसँगसँगै यसको सुरुवात भएको मान्न सक्ने थुप्रै आधारहरू छन् । पृथ्वीनारायण शाहको एकीकरणको अभियानले बजार पनि केन्द्रिकृत हुन पुग्यो । एकीकरणसँगै विभिन्न स्थानलाई प्रशासनिक कार्य गर्ने अखडाको रुपमा विकास गरियो । जस्तो ओखलढुंगा बजार, रामेछापडाँडा, दिक्तेल बजार चरिकोट आदि । हरेक क्षेत्रको प्रमुख चहलपहल हुने स्थानमा सेनाको टुकडी र गोश्वारा कार्यालय स्थापना गरिएको थियो । यसले वरिपरिका हरेक नागरिक मालपोत तिर्नको लागि तथा अन्य प्रशासनिक कार्यको लागि अड्डामा आउनुपर्नेबवाध्यता भयो । यसरी स्थापना गरिएका ठाउँमा विभिन्न कार्यालयका कर्मचारीहरू हुने र उनीहरूलाई खाद्यान्न तथा अन्य वस्तु चाहिने भएकोले आफ्ना उत्पादनहरू ल्याउनको लागि उर्दी जारी गरे । साथै, कामको लागि अड्डामा जाँदा केही सामग्री लैजाँदा बाटो खर्च पनि धान्न सकिने हुनाले कृषकहरू पनि त्यसप्रति आकर्षित भए । जसले गर्दा हाटबजारको जग बस्यो । प्रायःजसो जिल्लामा लाग्ने हाटबजारको इतिहास साढे दुईसय वर्षसम्म पुरानो हुनसक्ने देखिन्छ ।
ऐतिहासिकरुपमा हेर्दा भने पुँजीवादी उत्पादन प्रणालीको सुरुवातको क्रमदेखि हाटबजारको अवधारणाले गति लिएको मान्न सकिन्छ । हाटबजार सुरु भएपछि वस्तुबाट वस्तु साट्ने विनिमय प्रणाली विस्तारै हट्दै गयो । पैसामा सामान किनबेच हुन थाल्यो । नाफा–घाटाको सोचाई बढ्न थालेपछि मान्छे बजारमा सामान बेचविखन सुरु गरेका मान्न सकिन्छ ।
समाज तथा सँस्कृति परिवर्तनको एउटा झोक्काले हाटबजारलाई पनि हानेको छ । मानवीय सोचाइमा आएको परिवर्तनले पनि भुमिका खेलेको छ । हरेक गाउँ–गाउँमा सूचना प्रविधि पुगेको छ । विकास निर्माणका गतिविधि निकै तीब्र गतिमा छ । जसले गर्दा कुनैबेलामा गुल्जार रहेका हाटबजार एकाएक लोपोन्मुख अवस्थामा पुगेका छन् । जसमा केही सामाजिक र सांस्कृतिक कारणहरू रहेका देखिन्छन् ।
पहिलो, व्यापारको विकेन्द्रीकरण । गाउँ गाउँमा हुँदै गरेको तीब्र गतिको विकासले विकल्पहरू तयार गरिदिएको छ । प्रायः गाविसहरूमा मोटरबाटो पुगेको छ । यसले गर्दा गाउँमा सामाग्री सँकलन गर्नेहरू पेशेवर बनेका छन् । गाउँमा सस्तो मूल्यमा तरकारी किनेर सदरमुकाम तथा बजारमा ल्याएर थप फाइदा लिई बेच्नेले यसैलाई पेशाको रुपमा अगाडि बढाएका छन् । उत्पादन गर्नु भन्दा त्यसलाई ल्याएर बेच्नुमा बढी फाइदा छ । यसैगरी गाउँलेलाई चाहिने, नुनतेल, खाद्यन्न उनीहरूको घरआँगनमै झारिदिने नवव्यापारीहरू पनि बढ्दै गएका छन् । कुनै एक स्थानमा पसल खोल्ने अनि सम्पर्कको आधारमा घर–घरमा सामाग्री निर्यात गर्नेहरू धेरै बढेका छन् । यसले कृषकहरूलाई हाटबजार सँगको सम्बन्धलाई विच्छेद गरिदिएको छ । न त उत्पादन बेच्न आउनुपर्छ न त कुनै आवश्यक पर्ने सामाग्री किन्न नै ।
दोश्रो, हात–हातमा भएको मोबाइल फोनले सबैसँग सबैको सहज पहुँच पुगेको छ । कुनै सामाग्री बेच्नुपरेमा तत्काल फोन गरेमा गाडी लिएर ठेकेदार घरमै आइपुग्छ । अनि कुनै सामाग्री चाहिएमा पनि फोनकै भरमा घरमा सामाग्री झर्छ । बोल्दा पुग्ने भएपछि मान्छे किन हिँड्छ र ?
तेस्रो, हाटबजार लाग्ने स्थानमा सानो–सानो बजारीकरण सुरु भएको छ । यो बस्तीका बासिन्दाले बजार क्षेत्रको जमिन अतिक्रमण गरेका छन् । जसले गर्दा हाटबजारमा सामान राख्ने स्थानकै अभाव हुन थालेको छ । हाटबजार लाग्ने स्थानको बीचबाट धुले मोटरबाटो खनिएका छन् । जसले गर्दा धुलो तथा हिलोको चपेटामा बजार क्षेत्र परेको छ । सामान राख्ने क्षेत्रकै अभावमा हाटबजारमा किनबेच गर्न बजार सम्म पुग्न कोही पनि उत्साहित छैनन् । हाटबजार लाग्ने स्थानमै गुड्ने सवारी साधानको कारण पनि उपभोक्ता तथा बिक्रेताले बजारस्थलमा निकै अप्ठ्यारो भोग्नुपर्छ ।
चौथो, मानवीय सम्बन्ध तथा सोचाईमा आएको परिवर्तन । आजभोलिका किशोरकिशोरी तथा युवायुवती पसलमा बसेर सामान बिक्री गर्नुमा निकै गर्व गर्छन् । तर, डोको तथा बोरामा सामाग्री राखेर हाटबजारमा बसेर सामाग्री बिक्रीबितरण गर्न उनीहरू लाजको अनुभव गर्दछन् । हिनताको भावनाले उनीहरू ग्रसित देखिन्छन् । पहिलो पुस्ता उत्पादन बोकेर बजार सम्म आउन नसक्ने अनि पछिल्लो पुस्ता लाज मान्ने भएपछि हाटबजारमा सामाग्री बिक्री–वितरण गर्न आउनेहरू घट्दै गएका छन् ।
पाँचौ, मायापिरतीको लागि हाटबजारै पुग्नुपर्ने अवस्थामा आएको परिवर्तन अर्को महत्वपूर्ण कारण हो । विगतका दिनमा युवायुवतीलाई भेटघाट गर्नको लागि हाटबजार जतिको सजिलो स्थान अन्यत्र थिएन । सञ्चारको पहँुचता पनि थिएन । त्यसैले कुनै स्थानमा चिनजान भएपछि अर्कोपटक ‘हाटमा भेटौंला है’ भनेर छुटिन्थे । अनि नियमित रुपमा यस्तै हाटबजारमा भेट्नुपर्ने बाध्यता थियो । बजारमा भेट भएपछि एकअर्काको लागि किनिदिने उपाहारजन्य सामाग्रीले बजारको सामाग्री बिक्रीवितरणलाई सघाउ पुरयाउँथ्यो । तर पछिल्लो समयमा बढेको पश्चिमीकरण तथा खुल्लापनले यस्तो अवस्थामा परिवर्तन गरिदिएको छ । आफ्ना भावना साट्नको लागि हरेकको हातमा मोबाईल र सामाजिक सञ्जालका माध्ययम छन् । यहि मोबाइलको सहारामा जतिसुकै समयमा पनि भेट्ने स्थान तय गर्न सक्ने भए । त्यसैले हाटबजारमै भेटघाट गर्नुपर्ने र त्यही उपहार किनेर दिनुपर्ने बाध्यताबाट नयाँपुस्ताले मुक्ति पाएको छ ।
गाउँघरमा ताजा उत्पादन किन्नको लागि अझै पनि हाटबजारको स्पष्ट र ठोस विकल्प तयार भएको छैन । नुन देखि सुन सम्म एकै स्थानमा पाउनको लागि यो भन्दा गतिलो स्थान अन्यत्र छैन । त्यसैले हाटबजारलाई व्यवस्थित गर्नु जरुरी छ । ऐतिहासिक महत्व बोकेका हाटबजार व्यवस्थित गर्नको लागि स्थानीय सरकार अर्थात गाऊँपालिका वा नगरपालिकाले सबैभन्दा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ । हरेक गाउँपालिकाले हाटकर असुली गर्ने गरेका छन् । तर कुनै पनि सुविधा दिएका छैनन् । जसले गर्दा हाटबजारमा व्यापारीहरू जान छाड्दै छन् । यदि सामाग्री वेचविखन गर्नको लागि व्यवस्थित टहरा बनाउने हो भने हिलो धुलो तथा अस्तव्यस्तताको कारण बजार आउन छाड्नेहरू पुनः सुरु गर्नेछन् ।
सरकारले बजार विकास निर्देशनालय स्थापना गरेको छ । यसले हाटबजार व्यवस्थित गर्ने जिम्मेवारी पाएको छ । तर यसको भूमिका निष्प्रभावी छ । यसलाई प्रभावकारी बनाउनु जरुरी छ । निर्देशनालयले नै देशभरी कति स्थानमा हाटबजार लाग्छ ? त्यसको अहिलेको अवस्था कस्तो छ ? कति बन्द भए ? आदि जस्ता तथ्याँक सँकलन गर्नुपर्छ । यसैगरी नगर विकास समितिले समेत यसको लागि लगानी गर्नु जरुरी छ । हाटबजारमा जाने सडकमा राँगा, भैंसी तथा बँगुर काटेर मासु बेचिरहेको दृश्य हरेक बजारमा सामान्य भएको छ । यसले गर्दा क्रेताहरूमा समेत हाटबजार जान रहर हुँदैन । यसको लागि हाटबजार लाग्ने स्थानबाट केहि टाढा पशु वधशालाको व्यवस्थापन गर्नु जरुरी छ । हाटबजार व्यवस्थापन गर्नको लागि छुट्टै निर्देशिका नै बनाइ गाउँपालिका विकास समितिलाई यसको मुख्य जिम्मेवारी प्रदान गरी काम गर्ने हो भने ऐतिहासिक हाटबजारको अस्तित्व रहनेछ भन्ने कुरामा दुईमत नहोला ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप