ब्यस्त, मस्त रहने भेडेटार सुनसान

उखरमाउलो गर्मीमा चिसो पार्ने भेडेटारमा छैनन् पर्यटक


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १५

धरानः पर्यटकको लागि सिजन नै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर हुन्छ– सहज भए तङ्ग्रीन्छ ।
कोरोनाले अघिल्लो वर्ष पनि थला परेको भेडेटारमा अहिले पनि पर्यटक पुग्न सकेका छैनन् । हुन त भेडेटार सधैं चिसो रहन्छ । उखरमाउलो गर्मीमा चिसो पार्ने भेडेटारमा निषेधाज्ञा केही सहज हुँदा पनि खासै पर्यटक आउन नसकेको व्यवसायी बताउँछन् ।
जाडोमा पनि पर्यटक आवागमन भइरहने यो ठाउँमा गर्मीमा अझ चाप हुन्छ । आन्तरिक र भारतीय पर्यटकले भरिने र सधैं व्यस्त अनि मस्त रहने सो ठाउँ अहिले सुनसान छ ।
‘यतिका दिनको लकडाउन, बैंकको किस्ता, घरभाडा र बाँच्ने अवस्था नभएपछि हल्का खोल्न थालियो है’, होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली भन्छन्, ‘अब विस्तारै–विस्तारै भेडेटार तङ्ग्रीने कोसिस गरिरहेको छ ।’
यसअघि बिहान, दिउँसो, बेलुका घुम्न आउने पर्यटकको घुइँचो थाम्न नसक्ने अवस्थाको भेडेटारमा अहिले आन्तरिक र बाह्य पर्यटक आउँदैनन् । अझ लकडाउन अवधिभर त सुनसान बन्यो र व्यवसाय चौपट पनि । उनले थपे, ‘व्यवसायीले होटल खोल्न थालेपछि दुई चारजना पर्यटक आउन पनि थालेका छन्, सामाजिक दुरी कायम गर्दै होटल सञ्चालनमा ल्याइएको छ, आशा छ भेडेटार तङ्ग्रीन्छ ।’

पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन व्यवसाय चौपट बनेको व्यवसायी बताउँछन् । ‘भेडेटारका ६० भन्दा बढी होटल र पर्यटन व्यवसायमा गरिएको लगानीको अवस्था नाजुक छ’, अध्यक्ष रुम्दाली भन्छन्, ‘सरकारले अब केही नयाँ विकल्प दिनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’
एशोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीले भन्छन्, ‘व्यवसायी, पर्यटक सबैलाई सुरक्षित राख्दै व्यवसाय सञ्चालनमा ल्याउनुको विकल्प नभएकोले शुरूवात गरेका हौं ।’
पर्यटक आवागमन ठप्प हुँदा भवन भाडामा लिएर होटल र रेस्टुरेन्ट सञ्चालन गरिरहेकालाई बहालको रकम तिर्न गाह्रो परेको व्यवसायी बताउँछन् । सबै खाले व्यवसायीलाई असार मसान्तमा बैंकको ब्याज तिर्न गाह्रो भइरहेको अध्यक्ष राईले बताए ।
‘हामीले ऋण नै तिर्दैनौँ भनेका होइनौं । खाएपछि जसले पनि तिर्नुपर्छ, हामी पनि तिर्छौं तर मानवीय रूपमा हामीलाई अहिले अप्ठ्यारो परयो अलि पर धकेलिदिनूस् मात्र भनेका हौं,’ उनले भने, ’समयमा ब्याज र किस्ता बुझाउनेलाई केही छुट पनि हुनुपर्छ ।’
अध्यक्ष राईले आगामी मौद्रिक नीतिले पर्यटन उद्योगका समस्यालाई सम्बोधन गरेर राहत पुर्याएन भने समस्त क्षेत्र नै धराशायी हुनसक्ने र नयाँ लगानीकर्ता निरूत्साहित हुने जिकिर गरे ।
होटल एसोसिएसन भेडेटारका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले कोरोनाकै कारण व्यवसाय धरासाय धरासायी हुने अवस्था आइसकेको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप