आज असार १५ अर्थात् दही-चिउरा खाने दिन


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १५

धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ । पछिल्लो समय कृषकको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले यस दिनलाई ‘राष्ट्रिय धान’ दिवसका रुपमा मनाउन गरेको छ ।
‘कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। यसलाइ रोपाई दिवस समेत भनिन्छ।
मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ ।
कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहीचिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।
वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।
सरकारले आजका दिनलाई विशेष दिवसका रुपमा मनाउँदै आएपनि आधुनिक प्रविधिको पहुँच आम किसानमा भनएका कारणा खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धी हुन नसकेको कृषि विज्ञहरूको भनाई छ । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काढ्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो महत्व राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।
सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मियो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । ‘लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ’ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ ।
रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो अर्मपर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ । नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ।

किन खाइन्छ दही चिउरा ?
असार १५ कै दिन किन दही चिउरा खाइन्छ ? यसको खास कारण कतै भेटिदैन । दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ । यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ । अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।
गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता दिने भएकाले पनि खेतमा दही चिउरा खाने परम्परा रहेको बताइन्छ । दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ । जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ । हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप