धरानमा आए नयाँ डिएसपी नरेन्द्र कुँवर

प्रदीप सुब्बाको 'केस' लाई सुक्ष्म ढङ्गले हेर्छुः डिएसपी कुँवर


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १४

धरानः धरानमा नयाँ डिएसपी आइपुगेका छन् ।
इलाका प्रहरी कार्यालय धरानमा डिएसपी नरेन्द्र कुँवर आएका हुन् । उनी यसअघि जनकपुरमा कार्यरत् रहेको उनले जानकारी दिएका छन् । उनको स्थायी घर झापा हो । डिएसपी कुँवरले आइतबारदेखि नै कार्यभार सम्हाल्न थालिसकेका छन् ।
डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको कार्यकाल पूरा भएर काठमाडौं सरुवा भएका छन् । उनको विदाइ समेत भइसकेको छ ।
यसैबीच सुनसरी उद्योग वाणिज्य संघ धरानले कार्यकाल पूरा गरेका डिएसपी बस्नेतको विदाइ गरेको छ ।

संघको हलमा एक कार्यक्रम आयोजित कार्यक्रममा उनको विदाइ गरिएको हो । कार्यक्रममा धरानमा सरुवा भई आएका नयाँ डिएसपी कुँवरलाई स्वागत पनि गरिएको थियो । संघका अध्यक्ष गिरीधारी सापकोटासहित पदाधिकारीहरुले डिएसपी बस्नेतलाई पदाधिकारीहरुले खादा र मायाको चिनो प्रदान गरेर विदाइ गरेका थिए ।
नयाँ डिएसपी कुँवरले विगतमा पनि धरान–१३ स्थित अञ्चल प्रहरी कार्यालयमा बसेको बताउँदै सबैसँग हातेमालो गरेर जाने बताए ।
उनले धरानको प्रदीप सुब्बा मृत फेला प्रकरणलाई सुक्ष्म ढङ्गले अध्ययन गरेर अघि बढ्ने बताए । ‘यो अलि जटिल केस छ भन्ने मलाई हिजो नै जानकारी आइसकेको छ’, पीडित परिवारसँगको भेटमा उनले भने, ‘यसलाई सुक्ष्म ढङ्गले सत्यतथ्य बाहिर ल्याउँछु । ।’ नयाँ डिएसपी आएको थाहा पाएपछि पीडित परिवार उनलाई भेट्न र घटनाबारे थप जानकारी दिन त्यहाँ पुगेका थिए । उनले यस केशमा प्रहरीलाई दाग नलाग्ने हिसाबले काम गर्ने बताए । यसका लागि नयाँ सिराबाट अनुसन्धान थालिने उनको भनाइ थियो । ‘प्रहरीप्रति जनताको विश्वास नहराउने हिसाबले काम गछौं यसका लागि नयाँ सिराबाट अध्ययन, अनुसन्धान हुन्छ ।’, उनले भने ।
बिग्रिएको मोबाइल लिन जान्छु भनी हिँडेका प्रदीप गत जेठ ५ गते धरान–४ वैदाम खोपमा मृत अवस्थामा फेला परेका थिए । शव भेटिएपछि परिवारले हत्याको आशङ्का गर्दै आएका छन् । प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।

जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा एक महिलाले सो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले सुँगुरको चारो खोज्न जाने महिला को हुन् भन्नेबारेमा अहिलेसम्म पत्ता लगाउन नसकेको बहिनी कृतिमा सुब्बाले बताइन् ।
प्रहरी घटनास्थलसम्म पुगेर शवको पहिचान पनि गरेपछि आफन्तलाई जिम्मा दिएको थियो । सुब्बा परिवारले शव पनि जलाइसकेका छन् ।
उनीहरुले प्रहरीको अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्ट जनाएका छन् । घटना भएको झन्डै महिनादिन बढी बितिसक्दा पनि प्रहरीले अपराधीहरु पत्ता नलगाएकोप्रति पीडितले न्यायको आशा मारेका छन् । ‘खोइ झन्डै एक महिना बढी भइसक्यो, अनुसन्धान भइरहेको मात्रै भनेको सुनिन्छ तर हत्या वा अन्य के हो पत्ता लागेको छैन, न्याय मिल्छ कसरी भन्नु ?’ मृतकका बाबु सूर्यबहादुर सुब्बाले भने । उनीहरुले न्यायका लागि सहयोग गरिदिन पत्रकार गुहारेका छन् ।
बहिनी कृतिमाका अनुसार घटनाको प्रकृति हेर्दा सुनियोजित अपराध प्रष्ट देखिएको दावी गरिन् । उनका अनुसार शवको टाउकोको हड्डीमै समेत गम्भीर चोट देखिनु, हात, शव तान्दा टाउको छुट्टिनु, बाटोदेखि निकै पर (हिँडेर जाँदा करिब ४० मिनेट लाग्ने ठाउँ) शव भेटिनु आदि कारणले पनि घटना रहस्यमय, सुनियोजित, योजनाबद्ध ढङ्गले हत्या गरिएको हो ।
बहिनी कृतिमाका अनुसार प्रतीक वैशाख ७ गतेअघि आफूसँगै बस्दै आएका थिए । एकजना साथीले मोबाइल बनाइदिएको रहेछ म जान्छु भन्दै प्रदीप वैशाख ७ गते आफू बस्दै आएको घर धरानस्थित भोटेपुलबाट हिँडेका थिए । त्यहाँदेखि उनी घर फर्केनन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप