धरानको विष्णु स्कुलमा एक शिक्षक, एक ल्यापटप

प्रत्येक शिक्षकलाई ल्यापटप बाँड्दा शिक्षक भए खुसी, अनलाइन कक्षा प्रभावकारी बनाउने तयारी (भिडिओसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार १३

धरानः विभिन्न उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले सरकारी स्कुलका शिक्षकका लागि भन्दै ‘एक शिक्षक, एक ल्यापटप’ को अभियान चलाउन बजेट नै सार्वजनिक गरेकोबारे हामीले पढेकै, देखेकै हो ।
तर धरानको चर्चित निजी स्कुल विष्णु मेमोरियल सेकेण्डरी स्कुलले पनि यो अभियानलाई निरन्तरता दिएको छ ।
विद्यालयले स्कुलमा कार्यरत् ५० जना शिक्षकलाई ल्यापटप बाँडेको हो । स्कुलका प्रिन्सिपल वेनिन्द्र कट्वालले यसैवर्ष नै ५० वटा ल्यापटप बाँडेको जानकारी दिए । ‘भर्खरै नयाँ शैक्षिक सत्र शुरु भएको र कोभिड महामारीले गर्दा सम्पूर्ण शिक्षण सिकाइ वैकल्पिक विधिबाट शुरु गर्नुपर्ने भएको हुँदा ल्यापटप वितरण कार्यक्रम बढी फलदायी हुने देखेर एक शिक्षक, एक ल्यापटप अभियान चलाएका हौं’, प्रिन्सिपल कट्वालले भने, ‘हिजोआजदेखि अनलाइन कक्षा सञ्चालनमा प्रभावकारी नै देखिएको छ ।’
ल्यापटप पाएपछि सबै शिक्षक खुशी भएको र अहिले वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन सहज भएको सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘अहिले भौतिक उपस्थितिमा पठनपाठन गराउन सकिने अवस्था छैन, त्यस कुरालाई मध्यनजर गरी स्कुलले यो अभियान चलाएपछि शिक्षक त खुशी भए नै, यसले शिक्षाको ग्याप कम गर्न सजिलो भइरहेको छ,’ उनले भने ।

प्रिन्सिपल कटवालका अनुसार अहिले हरेक कक्षामा इन्टरनेटको सेवा प्रदान गरिरहेको र शिक्षकले स्कुलबाटै पठनपाठन गराइरहेको जानकारी दिए । ‘एक दुईदिनदेखि इन्टरनेट जडानलगायत काम भइरहेको थियो, आज (आइतबार) देखि लगभग पूरा भएको छ’, उनले भने, ‘अब निरन्तररुपमा अनलाइन कक्षा चल्छ ।’
ल्यापटप वितरण र स्कुलका प्रत्येक कक्षामा इन्टरनेट जोडिएपछि भौतिकरुपमा उपस्थित हुन असम्भव भएको अहिलेको अवस्थामा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन र विद्यार्थीसँगको सम्पर्क कायम गराउन सजिलो भएको प्रिन्सिपल कट्वालले जानकारी दिए । ‘शिक्षकका क्षमता विकास गर्दै आधुनिक शिक्षण पद्दतिमार्फत् अडियो, भिडियो प्रविधिसँगै जोडिँदै गुणस्तरीय शिक्षण क्रियाकलाप गराउने स्कुलको मुख्य लक्ष्य हो ।’ उनले भने ।
परम्परागत शिक्षण पद्दतिलाई परिमार्जन गर्दै आधुनिक शिक्षण विधिलाई अवलम्बन गर्नु आजको आवश्यकता भइसकेको उनले जानकारी दिए । ‘विद्यालय परिवार प्रविधिमैत्री हुन नसके विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्दैनन् भन्ने हाम्रो बुझाइ हो’, उनले थपे, ‘त्यही भएर विद्यालयलाई डिजिटल गर्दै लानुपर्छ भन्ने सोचिसकेका छौं ।’
विष्णुमा अनलाइन कक्षा प्रभावकारी
विष्णुमा अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन लागिपरेको प्रिन्सिपटल कट्वालले जानकारी दिए । ‘यसअघि पनि कक्षा नभएको त होइन तर कुनै शिक्षकले घरबाटै र कुनै शिक्षकले स्कुलबाटै पठनपाठन गर्ने व्यवस्था गरिएको थियो तर अब स्कुलमै शिक्षक उपस्थित भएर पठनपाठन गर्नेगरी तयारी थालिएको र कक्षापिच्छे इन्टरनेट जडान भइसकेको छ ।’ उनले भने ।
अबका दिनमा साढे ९ बजेदेखि ४ बजेसम्म नियमित पठनपाठन गरिने उनले जानकारी दिए । ‘अब ८ वटै विषयको पठनपाठन नियमित हुन्छ’, उनले भने ।
प्रिन्सिपल कट्वालले अहिलेको सन्दर्भमा भौतिक उपस्थितिमा जस्तै पठनपाठन गरिरहेको बताए । ‘अनलाइन कक्षा भौतिक उपस्थितिजस्तै त धेरै प्रभावकारी त नहोला तर पनि प्रभावकारी नै छ, अहिले पनि हाम्रा विद्यार्थी ९५ प्रतिशत उपस्थित नै छन् ।’ उनका अनुसारयसअघिको परीक्षाका बेला १०० प्रतिशत विद्यार्थी उपस्थित बनेको तर निषेधाज्ञाको समयमा चाहिँ ९५ प्रतिशत बढी विद्यार्थीले सहभागिता जनाएको बताए । ‘अहिले निषेधाज्ञा नै छ, कोही विद्यार्थी बुबाआमासँग पहाडतिर पनि पुगेका होलान्, त्यही भएरपनि १०० प्रतिशत नपुगेका हुन् ।’
यसअघिका चरणमा भएका पठनपाठनमा विद्यार्थीले अनलाइनकै माध्यमबाट पनि उत्कृष्ट नतिजा ल्याएको हुनाले यो फलदायी नै हो भन्ने सोंचेको उनले बताए ।
धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ । शिक्षकलाई सरकारी स्कुल सो सरह नियमित तलब प्रदान गरिनु, भौतिक पूर्वाधार, सिकाइ उपलब्धिका कारण पनि विष्णु स्कुल अगाडि नै छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

फाइल तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप