धरानमा जो सुँगुरको खोरमा बस्थे !

तीन चारदिनमै धरानका दुर्गाबहादुर याक्खाको मुहारमा खुशी, श्रीमती र छोरासँगै बस्न पाए, स्कुल नदेखेका ७ वर्षीय छोराले पढ्न पाउने (भिडिओसहित)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २

धरानः विगत ४० वर्षदेखि धरानमा मजदुरी गर्दै आएका ७९ वर्षीय दुर्गाबहादुर याक्खालाई कहिल्यै खुशीका दिन आएनन् । उनको जीवन लगभग मजदुरी गरेर नै बित्यो । दुईजना छोरालाई मजदुरी गरेरै हुर्काउन समेत पाएनन् । कारण थियो– ढल्किँदो उमेर । उमेर ढल्किँदै गएपछि पहिलाको जस्तो हिसाबले उनले काम गर्न पाएनन् ।
उनको दुईजना छोरामध्ये एकजना १६ वर्षका छन् भने अर्का ७ वर्षका मात्रै । उनले धरानमा जीवन सुखसँग कहिल्यै बिताएनन् । धेरैपल्ट अर्काकै घरमा बसेर, ज्यालामजदुरी गरेर उनको दैनिकी गुज्रिन्थ्यो । अर्काको घरमा भाडा तिर्न नसकेपछि उनी त्यहाँ बस्न पाएनन् । उनकी श्रीमती जो धरानमै कोठाभाडामा बस्ने माइतमै बस्न थालिन् । उनलाई बस्न समस्या हुन थाल्यो । उनले काम गर्न नसकेपछि कमाइ पनि हुन छोड्यो । खानाको बेटुङ्गो हुन थाल्यो । श्रीमती पनि बिरामी भएर औषधि खाने पैसा समेत थिएन । उनको भएभरका सबै सम्पत्ति सकेर श्रीमतीको उपचार गरे । उनको पकाइखाने भाडाकुँडा, ओढ्ने ओछ्याउने केही थिएन ।
यतिसम्म कि पकाइखाने भाडाकुडा समेत बेचेर औषधि उपचारतिर लागे । त्यसपछि उनी घरबारविहीनजस्तै बने । उनले काम गर्न पनि नसक्ने अवस्थामा पुगे तैपनि उनले काम गर्न छोडेनन् तर उनले ल्याएको केही रकमले उनको समेत जीवन नचल्ने अवस्था आयो । उनी परिवारसँग छुट्टिएको जस्तो अवस्थामा बस्न थाले । श्रीमती, छोरासँग उनको भेट त्यति हुँदैन थियो ।
उनी जो सुँगुरको खोरमा बस्थे
धरान–१६ लोकतान्त्रिक बस्ती (सुकुम्बासी वस्ती) मा रहेको चन्द्रमान लामाको घरमा शरण लिन पुगे । उनले सुँगुरकै खोरमा भएपनि बास बस्न दिन भने । लामा परिवारले पाल्दै आएको सुँगुरको खोरमै बसेर उनले प्राण धान्ने निधो गरे । ती परिवारले पनि सुँगुरको खोर खाली भएकोले हुन्छ भनिदिए ।
‘पहिला शुरुमा यहीँ सुँगुरको खोरमा आएर सुतेको देख्यौं’, चन्द्रमान विगत सम्झिन्छन्, ‘पछि यही सुत्ने, बस्ने गर्न थाल्नुभयो, खानाचाहिँ हामीले बनाएर दिन्थ्यौं ।’ उनका अनुसार उनी सुँगुरको खोरमा बस्न थालेको ८ महिनापछि उनलाई सुँगुरको खोर छेऊको सानो टहरा (जुन टिनले मात्रै बारिएको, पानी पर्दा छिर्ने खालको छ) मा सारियो । उनी दिनभरी कसैको घरमा गएर केही काम सघाउने र बेलुका फर्किएर त्यहीँ सुत्न थाले ।
यसरी छायो मुहारमा खुशी
केही समयअघि लकडाउनकै बेलामा त्यहीँको छेऊमा रहेका सुकुम्बासी वस्तीमा बसोबास गर्ने विपन्न समुदायलाई राहत बाँड्ने कार्यक्रमको रिपोर्टिङ गर्न सञ्चारकर्मी तिर्थ कार्की पनि त्यहाँ पुगेका थिए । राहत बाँडेको हेर्न दुर्गाबहादुर पनि पुगेका थिए । सञ्चारकर्मी कार्कीकै सामुन्नेमा रहेका दुर्गाबहादुरले हामीलाई पनि राहत पाए हुन्थ्यो भन्ने कुरा सुनाए । सञ्चारकर्मी कार्कीले तपाईको घर कहाँ हो भनेर सोधे । उनले सहजै जवाफ फर्काए– मेरो घर छैन, अहिले सुँगुरको खोर छेऊमा बस्दै आएको छु भनेपछि सञ्चारकर्मी कार्कीले विशेष चासो लिए ।
त्यसको तीनदिनअघि त्यहाँ पुगेर उनले दुर्गाबहादुरको जीवनशैली झल्किने, उनको दयनीय अवस्थाबारे तस्वीर र भिडियो आफैंले र एफटिएल टिभीको फेसबुक पेजमार्फत् सार्वजनिक गरिदिए । तस्वीर र भिडियो अपलोड भएपछि दाता सहयोगका लागि भन्दै तम्सिए ।
अन्ततः नयाँ भाडा घरमा पुनस्थापना
चन्द्रमानको घरमा कष्टकर रुपमा बस्दै आएका दुर्गाबहादुरको मुहारमा खुशी छायो । जब उनलाई नयाँ भाडाको घरमा पुनस्थापना गरियो अनि परिवारसँगै भेला गरियो । श्रीमती, छोरा र बाबुको भेट भयो । सँगै मिलेर खाना पकाएर खानसक्ने भए ।
होप धरानको समन्वय र एफटिएल अनलाइन टिभीको सहकार्यमा ‘ब्रिङगीङ ब्याक ह्युमानिटी’ योजनाअन्तर्गत सहयोगको आह्वान गरिएको थियो । आह्वानअनुसार विभिन्न संघ–संस्था र ब्यक्तिहरुको सहयोगमा दुर्गाबहादुरलाई नौलो वस्तीको चन्द्रकला थापाको घरमा पुनस्थापना गरिएको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
होप धरानको तर्फबाट ६ महिनाको घरभाडा एक हजार ५ सय प्रति महिनाको एकमुष्ठरुपमा ९ हजार रुपैयाँ घरधनी थापालाई हस्तान्तरण गरिएको छ । त्यस्तै, दुर्गाबहादुरलाई धरान निवासी निकिता राईको तर्फबाट दीपा राईले खाना पकाउने ग्याँस सिलिण्डर, लायन्स क्लब क्यालिवर धरानको तर्फबाट ग्याँस चुला, निर्मल साई अभियन्ता ग्रुप धरानको तर्फबाट एक महिनाको लागि रासन, धरान मुस्लिम एकता समाजको तर्फबाट फिरोज अलीले २ बोरा चामल र दुई जोर सर्ट पाइन्ट प्रदान गरे ।
अन्य सहयोग गर्नेहरुमा धरान–१६ का युवा समाजसेवी इन्द्रबहादुर कार्कीले १ बोरा चामल, श्यामचोक युवा समाजको तर्फबाट संस्थापक अध्यक्ष प्रकाश गिरीले साबुन, खाने तेल, तरकारी राख्ने रयाक र होप धरानका सदस्यहरु विशाल श्रेष्ठ र अमित चौधरीले १० दिनलाई पुग्ने तरकारी प्रदान गरे ।
जसका छोरा ७ वर्षका भए अहिलेसम्म पढेका छैनन्
धेरैका छोराछोरी दुई, अढाइ वर्ष भएपछि स्कुल भर्ना हुन्छन् । तर दुर्गाबहादुरका छोरा ७ वर्षका भए अहिलेसम्म स्कुल देखेका छैनन् । उनको छोराले अहिलेसम्म पढ्न पाएका छैनन् । यो कुराको मनन गर्दै उनको छोरालाई पढाइने भएको छ ।
दुर्गाबहादुरका ७ वर्षीय छोराको शिक्षाका लागि धरान निवासी विष्णु लामा र महिला सञ्जाल धरानकी सह–सचिव निर्मला शाक्यले क्रमशः नगद ५-५ हजार रुपैयाँ बुधबार नै प्रदान गरे । नगद रकम बैंकमा खाता खोलेर जम्मा गरिने र दुर्गाबहादुरका छोराको पढाइमा खर्च गरिने होपका अध्यक्ष पलिखेले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप