धरानमै यस्तो सरकारी स्कुल

अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि जहाँ साढे चार सय विद्यार्थी बोर्डिङ छोडेर आए


  • शेखरनाथ जोगी
  • २०७८ असार २

धरानः अङ्ग्रेजी पढ्न र बोल्न बोर्डिड स्कुलमा नै पढ्नुपर्छ भन्ने मान्यतालाई तोड्दै निजी विद्यालयका जस्तैे सबै पठनपाठन र सुविधाहरु सामुदायिक विद्यालयहरूले पनि दिन थालेपछि बोर्डिड स्कुल छाडेर सरकारी स्कुलमा भर्ना हुनेहरूको संख्यामा उल्लेख्यरूपले बढ्न थालेको छ ।
धरानका प्रायुष सुवेदी धरानकै एक नाम चलेको बोर्डिङ स्कुलमा प्रथम श्रेणीमै उत्तीर्ण हुँदै आएका थिए । तर उनले बोर्डिङ स्कुलमा कक्षा-४ सम्म पढे । त्यस्तै, धरानकै कृयता श्रेष्ठ पनि कक्षाकी ‘टप’ नै विद्यार्थी हुन् । उनले पनि कक्षा-८ सम्म बोर्डिङ नै पढिन् । प्रायुष र कृयता मात्रै होइन, दर्शन भट्टराई कक्षा-१०, सदीक्षा श्रेष्ठ कक्षा-८, रहरमान खतिवडा कक्षा-९ र लवबहादुर शाहसम्म बोर्डिङ पढेका विद्यार्थी हुन् । बुद्धसागर सुवेदी कक्षा–५ सम्म बोर्डिङ नै पढेका हुन् । उनीहरू सबै कक्षाका उत्कृष्ट विद्यार्थी थिए । उनीहरू सबैजना अहिले बोर्डिङ छोडेर सरकारी स्कुल पढ्न आइपुगेका हुन् । अहिले सरकारीमा पनि बोर्डिङकै जस्तै पढाइ हुन थालेपछि उनीहरु बोर्डिङ छाडेर धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलमा पढ्न आइपुगेका हुन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण थपिनुका मुख्य दुई कारणमध्ये अङ्ग्रेजी माध्यमको पठनपाठन र सामुदायिकबाट एसइई पासलाई उच्च शिक्षामा दिइने प्राथमिकता हो । अध्ययन, रोजगारी, सरकारी जागिरलगायतमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई आरक्षण दिन थालेपछि सामुदायिक विद्यालय भर्ना हुने क्रम बढ्दै गएको हो । ‘बोर्डिङ पढ्दा किताबमा बढी केन्द्रित हुनु परेको र यहाँ अरू गतिविधिमा पनि सहभागी हुन पाएको अनुभव बताउँदै कृयता श्रेष्ठ भन्छिन्, ‘अभिभावकले पनि अब सरकारी स्कुल पढ्दा पछि सरकारी जागिरमा पनि सहज हुने र बोर्डिङकै जस्तै पढाइ अनि क्रियाकलाप हुन्छ भनेपछि यहाँ आएकी हुँ, अहिले पढाइलगायत अन्य क्रियाकलापबाट सन्तुष्ट नै छु ।’
धरान-१२ स्थित श्री पब्लिकमा विद्यार्थीको लर्को लाग्न थालेको छ । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने आम धारणालाई चिर्दै अघि बढेको पब्लिक हाइस्कुलले कक्षा–१२ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन थालिपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको बताउँछन् प्रधानाध्यापक इन्द्रमोहन ।
भौतिक पूर्वाधार थपिँदै गएका छन् । विद्यार्थी संख्या पनि बढिरहेको छ । मूलतः अभिभावकमा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिमा लोभलाग्दो परिवर्तन देखिएको छ । प्रधानाध्यापक झा विद्यार्थीको चाप बढेकै कारण विद्यालयले थेग्नै गाह्रो भइसकेको बताउँछन् । यस विद्यालयमा नर्सरीदेखि कक्षा–१२ सम्म २२ सय ३० जना विद्यार्थी अध्ययनरत् छन् । ‘पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा अधिकांशमा थियो’, प्रधानाध्यापक झा भन्छन्, ‘तर अहिले त्यो धारणा परिवर्तन हुँदै गएको छ ।’
यो स्कुलमा नर्सरीदेखि कक्षा–१२ सम्म अङ्ग्रेजी माध्यम र ७ देखि १२ कक्षासम्म नेपाली माध्यममा पनि पठनपाठन हुने गरेको प्रधानाध्यापक इन्द्रमोहन झा बताउँछन् । ‘अभिभावक र विद्यार्थीमै पनि अङ्ग्रेजी मोह जागेको छ, अङ्ग्रेजी माध्यममा पठनपाठन नहुँदा विद्यार्थी आउनै चाहँदैन थिए’, हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले भने, ‘अभिभावक र विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै अङ्ग्रेजी माध्यममा पठनपाठन थाल्यौं, त्यसपछि विद्यार्थीको लर्को लाग्न थाल्यो ।’

ठूला कक्षामा पनि बोर्डिङकै विद्यार्थी
अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि साना कक्षा अर्थात् कक्षा–१० सम्म मात्रै होइन कक्षा–११ र १२ मा पनि बोर्डिङ पढेका विद्यार्थी आइरहेका छन् । कक्षा–११ मात्रै अघिल्लो वर्ष (२०७७–०७८) ७ सय बढी विद्यार्थी भर्ना भए । जम्मा २२ सय ३० जना विद्यार्थीमध्ये १३ सय बढी विद्यार्थी कक्षा–११ र १२ मा अध्ययनरत छन् । तीमध्ये कक्षा–११ मा ७ सय ६ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यी विद्यार्थीमध्ये करिब ६० प्रतिशत बढी विद्यार्थी बोर्डिङबाट नै आएको प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाह बताउँछन् ।
विज्ञान सङ्कायमा बोर्डिङ प्लस टु मै विद्यार्थी रोकिन्छन् तर त्यसो भएन । अघिल्लो वर्ष (२०७७–०७८) मा विद्यार्थीको कोटा सहजै पुग्यो । यस सङ्कायमा ५४ जना विद्यार्थी भर्ना लिने गरेको उनले जानकारी दिए । कक्षा–११ र १२ मा पढ्न आउने पनि अधिकांश बोर्डिङ पढेकै विद्यार्थी रहेको उनी बताउँछन् ।
यस्तै, निजी पढ्ने ‘टपर’ विद्यार्थी पनि यहाँ विज्ञान सङ्काय पढ्न आइपुगेको उनले जानकारी दिए । उनले यो वर्ष मात्रै विभिन्न सङ्कायमा करिब ५ सय विद्यार्थी आएको बताए । ‘कोही निजीबाट छन्, कोही सरकारीबाट पनि आएका छन्’, उनले भने, ‘यसपटक साँच्चै भन्ने हो कक्षा–११ को विज्ञान सङ्कायमा निजी विद्यालय पढ्ने टपर विद्यार्थी पनि यहाँ आएका छन् ।’
कोटा छ, कोठा छैन
उनले विद्यालयमा कोठाअनुसारको विद्यार्थी लिने भन्दै अघिल्लो वर्ष लागिपरेको तर ६ सय ५० जना विद्यार्थी लिइसकेपछि पनि विद्यार्थी थपिँदै गएको बताए । ‘अघिल्लो वर्ष कक्षा–११ मा मात्रै विद्यार्थी भर्ना लिन सकेनौं, कारण थियो कोठा अभाव, हुन पनि हो कोठा नभएपछि अभिभावकलाई हामीले कोटा छ, कोठा छैन भन्नुपरिरह्यो तर सरकारी स्कुलमा के को कोटा भन्दै अभिभावक गुनासो पोखिरहे, उनले थपे, ‘पहिला नै ६ सय ५० जना विद्यार्थी भर्ना गरेका थियौं, थपेर ७ सय ६ जन पुरयायौं ।’
सरकारी स्कुलकै शिक्षकले पत्याउँदैन थिए
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए ।
‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
अहिले पब्लिकमा अध्यापनरत् शिक्षकका छोराछोरी पनि पब्लिकमै पढ्दै आएका छन् । यसअघि धरानकै विष्णु स्कुल पढ्दै आएका पूर्व प्रधानाध्यापक लेखनाथ भट्टराईका छोरा अहिले प्लस टुमा पब्लिकमै पढ्छन् । त्यस्तै, प्लस टु कोअर्डिनेटर वीरेन्द्र साहका छोरा दिल्ली पब्लिक स्कुलमा पढ्ने अहिले सोही स्कुलमा कक्षा–८ मा पढ्न थालिसकेका छन् । शिक्षक सागर सुवेदीले पनि हिमालयन पढ्दै आएका आफ्नो नानीलाई सोही विद्यालयको कक्षा–८ मा पढाउँछन् भने श्यामराज श्रेष्ठका छोरा युरेका स्कुलबाट आएर सोही स्कुलमा पढ्न थालिसकेका छन् ।
‘राम्रा विद्यार्थी पनि यहाँ पढ्दा अभिभावकले पत्याएको भन्नुपर्छ’, प्रधानाध्यापक झाले थपे, ‘तर हामीलाई चुनौती पनि छ, अभिभावकले त राम्रा विद्यार्थी ल्याएर छोडिदिए, अभिभावकलाई अझै पत्याउने बनाउन अब कम्मर कसेर लाग्छौं ।’ झाले विद्यार्थीको नतिजालाई पनि ख्याल गर्दै अघि बढ्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की पब्लिक स्कुललाई अभिभावकले पत्याउँदै गएको बताउँदै यसको साख बचाउन जरुरी रहेको देख्छन् । ‘यतिका समय पब्लिकलाई अभिभावकले स्कुललाई पत्याएका हुन्’, उनले थपे, ‘यसको साख बचाउन अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी सबै लाग्नुपर्ने देखिन्छ ।’ उनले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै नतिजामा पनि जोड दिनुपर्ने बताउँछन् । ‘यसअघि पनि पब्लिकको नतिजा नराम्रो छैन, ६०–८० प्रतिशत विद्यार्थी पास भएका छन्, त्यसमा धेरैको नतिजा राम्रो छ, यस्ता कुरामा पनि विद्यालयले जोड दिइरहनुपर्छ ।’ उनले विद्यार्थीको चाप बढिरहेकोले पनि भौतिक पूर्वाधार थप्ने क्रम जारी रहेको र हाल विद्यालयमा थप चारतले भवन निर्माणाधिन अवस्थामा रहेको बताए ।

जहाँ साढे चार सय बढी विद्यार्थी बोर्डिङ छोडेर आए
२०७७ सालको मात्रै कुरा गर्ने हो भने स्कुलको नर्सरीदेखि कक्षा–१० सम्म ४ सय ५५ मात्रै विद्यार्थी थिए । अहिले ९ सय ७ जना विद्यार्थी पुगेका छन् । ४ सय ५२ जना विद्यार्थी बोर्डिङ छोडेर आएपछि विद्यार्थी संख्या ९ सय ७ पुगेको हो । ‘हाम्रो विद्यार्थी संख्या हेर्दा थोरै नै थियो तर साढे ४ सय बढी विद्यार्थी बोर्डिङ छोडेर आइसकेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको हो’, प्रधानाध्यापक झाले भने । पब्लिकमा कक्षा–९ मा इलेक्ट्रिकल इन्जिनियरिङ विषय पनि पढाइ हुन्छ । पहिलो ब्याचका ४८ जना विद्यार्थीले यो विषय पढिसकेका छन् । ‘यो विषयमा पनि विद्यार्थीको लहड नै चल्यो, ४८ जनाको कोटामा ४८ जना नै विद्यार्थी भर्ना भएका छन् ।
अभिभावकले पनि आर्थिक सहयोग गरिरहे
सरकारले नीति नै बनाएको छ– सरकारी स्कुलले शुल्क लिन नपाउने तर दान, सहयोग लिन पाउने, निजी विद्यालयले दान, सहयोग लिन नपाउने तर शुल्क लिन पाउने भनेर । त्यही नियमलाई फ्लो गर्दै पब्लिक पनि अगाडि बढिरहेको प्रधानाध्यापक झा बताउँछन् । ‘पब्लिकमा यतिकै विद्यार्थी बढेर गुणस्तरीय शिक्षा दिइएको होइन । अभिभावकले पनि प्रत्यक्षरूपमा दानका रुपमा आर्थिक सहयोग गरिरहेका छन्’, उनले भने, ‘दानकारुपमा दिइएको सहयोगले नै भनेजस्तो शिक्षक थप्न पाइएको छ, गुणस्तरीय शिक्षा अगाडि बढेको छ साथै अन्य भौतिक पूर्वाधारको थप्ने काम भइरहेका छन् ।’

नमूना बन्यो
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नमूना विद्यालय विकासका लागि विद्यालय छनौटमा धरानको यो स्कुल पनि परेको थियो । यो स्कुल २०७६ असारमा नमूना विद्यालयका रुपमा घोषित भयो तर कार्यान्वयन भने २०७७ भएको थियो । सङ्घीय सरकारले नमूना विद्यालयको गुरुयोजनामा पर्याप्त जमिनसहितको पूर्वाधार, सिकाइ उपलब्धि, नतिजा, प्रयोगशाला, गुणस्तर सुधार, विद्यार्थी संख्यालगायत हेर्छ । सो योजना समावेश भएपछि नमूना विद्यालयको रुपमा छनौट गर्ने गर्दछ ।
बोर्डिड स्कुलको आकर्षण भनेको यातायताको सुविधा पनि हो । त्यसैले हामीले पनि विद्यार्थीको सुविधाका लागि तीनवटा बस सञ्चालनमा ल्याएको प्रधानाध्यापक झा बताउँछन् । जसले गर्दा टाढाटाढाका विद्याथीको पनि हाम्रो स्कुलप्रति आकर्षण बढेको छ । प्रधानाध्यापक झा भन्छन्, ‘अहिले तीनवटा बसले सेवा दिइरहेका छौं, यसैवर्ष (२०७८ भित्र) थप दुईवटा थपेर पाँचवटा बस बनाउने योजना छ ।
उनले अन्य क्रियाकलापमा पनि बोर्डिङभन्दा फरक तरिकाले आफूहरु लागिरहेको दावी गर्छन् । आर्ट, म्युजिक तथा योगको ‘एक्ट्रा’ कक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिए । विद्यालयमा अतिरिक्त क्रियाकलापलाई सक्दो जोड दिएको उनले बताए । ‘हाम्रा विद्यालयका विद्यार्थीले मुख्यतयाः गीत, सङ्गीत, आर्ट, म्युजिक, फुटबल, भलिबल, कराते, टेबलटेनिस तथा ब्याडमिन्टनजस्ता विधामा हारेका छैनन्’, उनले भने, ‘स्थानीय, प्रदेश र राष्ट्रियस्तरसम्म पनि सहभागिता जनाएर पुरस्कार जितेर ल्याएका छन् ।’ उनले फुटबल, भलिबल, कराते, टेबलटेनिस तथा ब्याडमिन्टन खेलको लागि पर्याप्त खेलमैदान तथा नियमित अभ्यास गर्ने ठाउँ विद्यालयमै रहेको सहज बनेको बताए ।
कक्षा नर्सरीदेखि कक्षा–२ सम्म स्मार्ट टिभीको व्यवस्था, नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति साथै दाताहरुबाट प्राप्त छात्रवृत्तिको व्यवस्था, अत्याधुनिक इलेक्ट्रिकल प्रयोगशाला, इन्टरनेटसहितको कम्प्युटर ल्याब सञ्चालन गरिएको बताए ।
विद्यालयमा इन्टरेक्टिभ बोर्ड तथा प्रोजेक्टबाट अडियो, भिज्युल मेथडद्वारा अध्यापन, प्राविधिक शिक्षाका लागि छुट्टै भवन, मासिक टेष्ट तथा टर्मिनल टेष्ट, कक्षा–५ सम्म निःशुल्क खाजा तथा सुविधायुक्त क्यान्टिन, विषयगत साइन्स ल्याब र म्याथ ल्याब, कक्षागत सार्वजनिक सुनुवाई, कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षाको व्यवस्था, फिल्टरयुक्त शुद्ध पिउने पानीको व्यवस्था, शिक्षक तथा विद्यार्थीको लागि विद्युतीय हाजिरी, सिसी टिभीबाट नियमित अनुगमन, भौतिक पूर्वाधारयुक्त शान्त वातावरण एवं चुस्त प्रभावकारी विद्यालय प्रशासन रहेको जानकारी दिए ।

अङ्ग्रेजी माध्यममा पठनपाठन, नमूना विद्यालय, प्राविधिक धारमा जोड, अभिभावकको सपोर्ट, योग्यता पुगेका शिक्षक, प्रशासनिक चुस्तदुरुस्तता, बसको सुविधा आदि कारणले पनि पब्लिकले फड्को मारेको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवाल बताउँछन् ।
उनले पब्लिकमा अङ्ग्रेजी माध्यममा पठनपाठन थालेर विद्यार्थी संख्या बढ्न थालेपछि धरानका अन्य सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यममा पठनपाठन थालिसकेको जानकारी दिए । उनका अनुसार धरानका निमावि, माविसम्म पठनपाठन हुने विद्यालयले पनि अङ्ग्रेजी माध्यममा पठनपाठन थालिसकेका छन् । उनले धरानका नाम चलेका सामुदायिक विद्यालय धरान–२ को शिक्षा निकेतन, धरान–१५ को सदन स्कुल, धरान–५ को हिमाली मावि, धरान–६ को सरस्वती मावि पानमारा, धरान–१६ को शारदा बालिका स्कुल, धरान–११ को ज्ञानोदय मावि, धरान–८ को सहिद स्मृति मावि, धरान–१७ को पञ्चकन्या मावि रेल्वेलगायतका विद्यालयले पनि अङ्ग्रेजी माध्यममा पठनपाठन थालेको मात्रै बताए । ‘यीलगायत केही साना विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन थालेका छन्’, उनले थपे, ‘भर्खर थालेको हुनाले उनीहरुको नतिजा देखिसकेको छैन ।’
उनले धेरै सरकारी स्कुलले यस्तो ट्रेण्ड ल्याएको बताए । उनले निजी विद्यालयले गरेका राम्रा अभ्यासलाई ‘फलो’ गर्दै जाने हो भने निजी र सरकारीबीचको दुई किसिमको शिक्षाको खाडल सजिलै पुरिने पनि बताए । ‘देशभरी नै धेरै विद्यालयले अङ्ग्रेजी माध्यम भनेर ‘ट्रेण्ड’ ल्याएका छन्’, उनले भने, ‘तर यो मात्रै सबैथोक होइन, यसका लागि अझै सरकारी स्कुलले केही सिक्नुपर्छ ।’
उनले भाषासँगै विद्यार्थी, अभिभावकसँग नजिकको सम्बन्ध बढाउनुपर्ने, विद्यार्थीको कमजोरी पत्ता लगाएर अभिभावकलाई जानकारी दिने, होमवर्कमा विशेष ध्यान दिने, वार्षिकोत्सव गरेर अभिभावक उपस्थिति गराइनुपर्ने साथै अभिभावकबाट समेत विशेष चासो भए सामुदायिक विद्यालय सुध्रिने बताए ।
धरान उपमहानगरपालिकाको तथ्याङ्कअनुसार धरानमा ९७ वटा निजी विद्यालय रहेका छन् भने ५० वटा सामुदायिक विद्यालय छन् ।
(यो धरान उपमहानगरपालिका-नेपाल पत्रकार महासङ्घ सुनसरीको लेखनवृत्ति कार्यक्रमअन्तर्गत तयार गरिएको फिचर हो ।)

हेरौं थप तस्वीरः

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप